८ वैशाख २०८१ शनिबार
राजनीति

‘दुई तिहाइको म्याण्डेटलाई रिस गर्न कसैलाई छुट छैन’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल। तस्बिर:मोहन गुरुङ/नागरिक

स्याङ्जा– नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले वर्तमान सरकारकै पालामा देशमा समृद्धि आउने दावी गरेकी छन्। बिहीबार कालीगण्डकी गाउँपालिका ५ को वीरेन्द्र माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समृद्द नेपाल, सुखी नेपाली ओली नेतृत्व सरकारकै पालामा हुन्छ। परिवर्तन हाम्रै नेतृत्वमा मात्र सम्भव छ।’

विगतको सरकारले जनतालाई बोलेर झुक्याएको बताउदै उनले भनिन्, ‘अहिलेको  सरकार बोल्ने होइन, काम गर्ने हो। सरकारको काम कार्वाहीको लोकप्रियतालाई देखेर प्रतिपक्षीको निद्रा हरण भएको छ। सरकार निर्माणसँगै सरकारसँग जनताको माग उच्च रहेकाले सामान्य रुपमा सरकारको विरोध आउनु स्वाभाविक रहेको उनले बताइन्। ‘जनताले बनाएको सरकारसँग आशा गर्नु स्वाभाविक हो,’ उनले भनिन्, ‘संघीयता कार्यान्वयन र व्यवस्थापनका कारण ढिला भएको हो । अब फस्ट ट्रयाकमा काम हुन्छ ।’ जनताले सरकारसँग राखेको अपेक्षा स्वभाविक भएकोले जनताको निराश हुने खालको कार्य सरकारले नगर्ने उनले प्रतिबद्दता जनाइन्। देशको समृद्दि र नेपाली जनताका लागि सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर लाग्नुपर्ने उनले जोड दिइन् ।

‘देश विकासमा तिन तहको सरकारको भूमिका अहम् छ,’ उनले भनिन् ‘सहमति, सहकार्य र समन्वयले मात्र देशको विकास सम्भव छ ।’ देशको विकास र प्रगतिका लागि सत्ता पक्ष र विपक्ष सबै लाग्नपर्ने उनको भनाई थियो । हिजो परिवर्तनका निम्ति सँगे सडकमा टायर बालेका, जेल परेका र सडकमा शांखघोष गर्दै हिँडेका कुरा प्रतिपक्षीले बुझेर दुई तिहाई सरकारको भावना बुझ्न प्रतिपक्षीलाई उनले आग्रह गरिन् ।

विकास निर्माणका कार्यहरुमा ठुला केन्द्र, मझौला प्रदेश र साना स्थानीय तहले गर्ने उनले बताइन् । ‘केही समय व्यवस्थापन कार्यमा समय वित्यो,’ उनले भनिन्, ‘कामले मेसो लिइसकेको छ । केही समय लाग्छ । तर, जनताको पक्षमा मात्र हुनेछ । जनतालाई निराश बनाउने छैन ।’

‘देशको नेतृत्व गर्न जनताले स्पष्ट बहुमत दिएको छ,’ उनले भनिन्, ‘जनताले दिएको म्याण्डेटको रिस गर्न कसैलाई छुट छैन।’ अबको युग विकास र समृद्दिको युग भएकाले जनताका लागि काम गरिरहेको सरकारलाई अवरोध नगर्न चेतवानी उनले दिइन्।

सरकारले वितरण गर्न लागेको राष्ट्रिय परिचय पत्र यसै आर्थिक वर्ष देखि स्याङ्जाबाट नै सुरु गर्ने जानकारी दिइन्। हुने खाने गरिबका कारण परिचय पत्र वितरणमा ढिलाई भएको संस्मरण गर्दै उनले भनिन्, ‘सरकारले सबै काम कार्वाही सकिसकेकोछ । केही प्राविधिक कारणले ढिलाई भएको हो।’

प्रकाशित: १९ पुस २०७५ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App