coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हाम्रो प्रेम चिनो छोरा पनि ठूलो भयो, तिम्रो तस्बिरलाई म्वाइँ खान्छ...

तस्बिरः रासस

काठमाडौँ– स्थानः खानेपानी तथा सरसफाई मन्त्री बीना मगरको कार्य कक्ष । 
आगन्तुकः मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला’ 
मन्त्री मगरः कति चकचक गरेको यता आउनुस्

कार्यकक्षमा बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे। 

मगरले प्रणवलाई बोक्न खोजिन् तर उनले टेरेनन्। बरु सचिवालयका एक सहयोगी महिलासँग फक्किए । केही दिन विद्यालय बिदा भएका कारण मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा कहिलेकाँहीसँगै लिएर जान्छिन्। 

मन्त्री मगर कुर्सी छाडेर सोफामा बसेर आगन्तुकसँग कुरा गर्दा ती चार वर्षीय छोरा खेल्दैखेल्दै मन्त्रीको टेबलमाथि चढ्न पुगे । मन्त्री मगरले छोराको पाइन्ट छाम्दा पिसाबले भिजाइएको देखेपछि फेरिदिइन । ‘ल हेर त कतिखेर सुुसु गर्नुभएछ...।” झोलाबाट छोराको स्वीटर निकालिन र त्यो पनि लगाइदिन्।
छोरालाई कपडा फेर्न लाग्दा मन्त्री मगरले भनिन्, ‘आज बिदामा मन्त्रालय आएको भएर मैले एकछिन छोरा हेर्न पाएँ, घरमा हेर्न पनि भ्याइन्न । बहिनीहरुले सघाउँछन्।’ 

आमाको भूमिका पूर्ण पालना गर्न नपाएको अनुभूतिसहित उनले भनिन्,‘म प्रायः बिहान चाँडै निस्कन्छु, छोरा सुतिरहेको हुन्छ । बेलुकी अबेर घरमा पुग्छु, ऊ सुतिसकेको हुन्छ ।’ छोराको अहिलेको हालखबर सुनाइहँदा मन्त्री मगरले एक वर्षअघि पति विगोग हुँदा र निर्वाचनमा होमिँदा आफूलाई पीडा र कठिनाइ भएको स्मरण गरिन् । ‘त्यसबेला मलाई कम्ता गाह्रो भएन, छोरा अझ सानो थियो...’ यति भनेर उनी रोकिइन् । प्रसङ्ग बदलिन मेलम्ची खानेपानी आयोजनातर्फ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बुहारीसमेत रहेकी मन्त्री मगर दाहाल निवास खुमलटारमा सगोलमै बस्छिन्। मगरका पति नेकपाका युवा नेता प्रकाश दाहालको गत २०७४ मङ्सिर ३ गते हृदयाघातका कारण असामयिक निधन भएको थियो। त्यसबेला बीना प्रतिनिधिसभाका लागि कञ्चनपुर–१ बाट निर्वाचनमा होमिएकी थिईन। शोकलाई शक्तिमा बदल्दै मतदातामाझ पुगेकी मगरले सांसदमा जितेपछि पहिलो पटक मन्त्री पनि भइन्। 

बीनाभन्दा अगाडिका प्रकाशका श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध पनि खुमलटारमै बस्छन् । दुवै छोरा खेल्ने र सँगै बस्ने गर्दा हजुरआमा सीता दाहाललाई मन बुझाउने मेसो मिल्ने गर्छ । समय मिलेको बेलामा हजुरबा पुष्पकमल दाहाल पनि नातिहरुसँग रमाउछन्।

दिवगङ्त प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा प्रकाशित स्मारिकामा बिनाले लेखेकि छन् ‘अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्बिर देखाउँदै ‘बाबुको बुबा’ भन्छ । अनि, तिम्रो तस्बिरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी।’ रासस/ प्रकाश सिलवाल

प्रकाशित: १९ पुस २०७५ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App