coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अलपत्रमा मधेसको ‘लाइफलाइन’

सिरहा - विकास निर्माणका ठूला–ठूला काम समयमै सम्पन्न नहुँदा मधेसको विकासमा धक्का पुगेको छ। मधेशको रुपमा चिनिने प्रदेश दुईका अधिकांस जिल्लामा ठुल–ठुला विकासे याेजनाका काम काम अलपत्र परेका छन्।

मधेशको विकासका लागि ठुला याेजनाका रुपमा हेरिएको सिरहा र धनुषालाई जोड्ने कमला नदीको पुल निर्माणधीन  पुल पनि हाे। पुल निर्माणको विषयलाई लिएर यी दुई जिल्लाका जनताहरु चिन्तित बनेका छन्। यो पुल निर्माण मधेसकै जीवनपद्धती सँग जोडिएको जानकारहरु बताउँछन्।

यो पुल निर्माणका लागि २०६८ साल जेठ ३१ गते ठेक्का लिएर निर्माण कार्य सुरु भएपछि यस भेगका बासिन्दा पुल बन्नेमा ढुक्क भएका थिए। तर, आज आठ वर्ष सात महिना बितिसक्दा पनि पुल नबन्दा उनीहरुको आशा निराशामा परिणत भएको छ। सम्झौता अनुसार २०७१ मंसिर ३१ गते निर्माण सकिनुपर्ने पुलको निर्माण कार्य पछि धकेलिँदै गएको छ। दुईपटक म्याद थपिए पनि पुलको अझै पनि निर्माण कार्य सम्पन्न भएको छैन।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका इन्जिनियर मनोजकुमार मण्डलका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। उनले भने,‘०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मंसिर ३१ गते निर्माण पूरा गर्ने उल्लेख गरिएको छ। तर, दुईपटक म्याद थपेर ०७५ मंसिर ३१ गतेसम्म समय लम्ब्याइयो।’ तर ठेकेदारको लापरवाहीका कारण पुल पूरा हुन अझै ४६ प्रतिशत काम बाँकी छ।’

यस्तै सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको द्रुत सम्पर्क स्थापित गर्ने बलान नदीको पुल निर्माण पनि अलपत्र छ। हुलाकी सडकखण्डको सिरहा र सप्तरी जोड्ने ४ सय ७० मिटर लम्बाइको बलान पुल ०६८ चैत १५ गते शर्मा पप्पु जेभीले ०७२ भदौ १४ सम्म बनाइ सक्ने गरी सम्झौता गरेको थियो।

निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार उक्त कम्पनीले पनि समयमा निमार्ण कार्य सम्पन्न गरेको छैन्। इन्जिनियर मण्डलका अनुसार ४२ महिनामा पुल निर्माण सक्न २४ करोड १२ लाख रुपैयाँमा ठेक्का लिएको थियो। यो पुल निर्माणमा पनि दुईपटक म्याद थप भइसकेको इन्जिनियर मण्डलले बताए। उनले भने,‘थप गरिएको म्याद सकिँदा पनि ५० प्रतिशत काम बाँकी रहेको छ।’

दश वर्ष अघिको डिजाइनमा निर्माण सुरु भएको पुल समयमै नसकिँदा कमला र बलान नदीले धार परिवर्तन गरेर अझ फराकिला बनेका छन्। मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माण हुनुपर्ने पुलहरु वर्षौंसम्म ‘होल्ड’ हुँदा यसको प्रत्यक्ष मार यहाँको विकासमा परेको हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले बताए।

उनले भने,‘हुुलाकी राजमार्गअन्तर्गतका बलान र कमला नदी पुुलको निर्माण कार्य सम्पन्न भइदिए यस भेगका जनताको जीवनमा ठूलो राहत पुग्ने छ।’ मुख्यमन्त्री माफर्त प्रधानमन्त्री केपी ओलीलाई हुलाकी सडकअन्तर्गका अलपत्र पुलको निर्माण कार्य सुचारु गराउन ज्ञापन पत्र बुझाउँदा समेत कुनै सुनवाइ नभएको समितिका संयोजक यादवले बताए।

उनले भने,‘ ज्ञापन पत्र मार्फत गरिएको आग्रह समेत बेवास्ता भएपछि अनिश्चितकालीन रिले अनशन बसी रहेका छौँ।’ संयोजक यादवसहितका पदाधिकारीहरु हुलाकी सडक अन्तर्गतको सिरहा बजारको महाबिर चोकमा तीन दिनदेखि रिले अनशन बसेर सरकार र ठेक्केदारसंग ६ महिनाभित्र कमला र बलान पुल निर्माण सम्पन्न गर्ने, गराउने लिखित प्रतिबद्धताको माग गरेका छन्। ‘जबसम्म सरकार र ठेक्केदार पक्षको लिखित प्रतिवद्धता आउँदैन तबसम्म अनसन जारी रहन्छ। अब मधेसको जीवनरेखासँग खेलबाड सह्य हुँदैन।’

प्रकाशित: १९ पुस २०७५ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App