८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जापानी सम्राट्को अन्तिम सम्बोधन

नयाँ वर्ष शुभकामना कार्यक्रममा उपस्थित जनसमुदायलाई हात हल्लाउँदै जापानी सम्राट् अकिहितो (दायाँ) र उनका उत्तराधिकारी युवराज नारुहितो। तस्बिर : एजेन्सी

टोकियो – जापानका सम्राट् अकिहितोले पदत्याग गर्नु अघि आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन्। सम्राट् अकिहितोले आफ्ना हजारौ शुभचिन्तकसामू सम्बोधन गरेका हुन्।

बुधबार बिहान सम्राट्को नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी शुभचिन्तक राजकीय भवनअगाडी भेला भएको राजदरबार कार्यालयले दिएको जानकारी उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। ८५ वर्षीय सम्राट् अकिहितोले अन्तिम पटक दिएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नका लागि हजारौं मानिस भेला भएका थिए।

जापानको राजतन्त्रमा स्वेच्छाले पदत्याग गर्ने सम्राट् अकिहितो करिब दुई शताब्दीयता पहिलो सम्राट् हुँदै छन्। उनले ३० वर्षको शासनपछि अगामी अप्रिल ३० मा आफ्नो राजगद्दी छोड्दै छन्।     ‘तपाईंसँग खुला आकासमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशी छु,’ जापानी झन्डा हल्लाउँदै सम्राट्को लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले बताए।

नयाँ वर्षको उपलक्ष्यमा राजधानी टोकियोमा रहेको इम्पेरियल प्यालेसमा आयोजित कार्यक्रममा सम्राट् अकिहितोको सम्बोधन सुन्न हालसम्मकै सबैभन्दा धेरै मानिसको सहभागिता भएको बताइएको छ। जापानी राजतन्त्रात्मक परम्पराअनुसार अंग्रेजी वर्षको दोस्रो दिन अर्थात् जनवरी २ का दिन सम्राट्ले सर्वसाधारणलाई सम्बोधन गर्ने गरेका छन्।

सम्राट्को सम्बोधन कार्यक्रममा उनकी पत्नी सम्राज्ञी मिचिको र युवराज तथा उनका उत्तराधिकारी नारुहितोसहित अन्य छोराछोरी पनि सँगै रहेका थिए।

जापानमा सम्राट्लाई आलंकारिक व्यक्तिका रूपमा लिइन्छ। यद्यपि जापानको संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा सम्राट्लाई अत्यन्तै सम्मानपूर्वक लिने गरिन्छ। जापानको राजतन्त्र वर्तमान विश्वको सबैभन्दा पुरानो राजतन्त्र हो, जुन १४औं शताब्दीबाट सुरु भएको मानिन्छ। सम्राट् अकिहितो आफै पनि जापानका प्रथम सम्राट् जिम्मुकै वंश भएको विश्वास गरिन्छ। जापानका प्रथम सम्राट् जिम्मुले इसा पूर्व ६६० मा जापानमा शासन गरेको विश्वास गरिन्छ।

सम्राट् अकिहितोका पिता सम्राट् हिरोहितोलाई युद्धका बेलाका सम्राट्का रूपमा चिनिन्छ। उनले २० औं शताब्दीको पहिलो आधा शताब्दीतिर जापानमा शासन गरेका थिए।

प्रकाशित: १९ पुस २०७५ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App