८ वैशाख २०८१ शनिबार
अर्थ

चरिकोट–खाडीचौर सडकमा ‘बेस’ बिछ्याउने काम रोकियो

विस्तार भइरहेको खाडीचउर–चरिकोट सडकखण्डअन्तर्गत खाडीचउरभन्दा माथिल्लो सात किलो क्षेत्र। तस्बिर : रमेश/नागरिक

दोलखा - दोलखालाई राजधानीसँग जोड्ने प्रमुख मार्ग चरिकोट–खाडीचौर सडक विस्तार कार्यको पहिलो खण्डमा ‘बेस’ बिछ्याउने काम रोकिएको छ। दुईवटा खण्डमा तीन वर्षदेखि चलिरहेको ५५ किलोमिटर सडक क्षेत्र विस्तार कार्यअन्तर्गत पहिलो प्याकेजको खाडीचउरदेखि मुडेसम्मको क्षेत्रमा दुई सातादेखि बेस बिछ्याउने काम रोकिएको हो। यो खण्डमा काम गरेको यसअघिको पुरानो ठेकेदारले आफ्नो बाँकी बक्यौता नदिएको भन्दै स्थानीयले बेस उत्पादन गरिरहेको क्रसरमा अवरोध पुर्‍याएपछि यो प्याकेजमा बेस बिछ्याउने काम १५ दिनदेखि रोकिएको हो।

ठेकेदारको ढिलासुस्ती र लापरबाहीले तीन वर्षदेखि अलपत्र यो सडकमा तीन महिनाअघि ठेकेदार कम्पनी काममा फर्किएका थिए।    पहिलो प्याकेजको काम गर्ने जिम्मा पाएको सुनौला खिम्ती निर्माण सेवा कर छलीसम्बन्धी मुद्दामा तानिएपछि काम छाडेर बेपत्ता भएका कारण सरकारको चेतावनीपछि ठेक्का हाल्दा ऊसँगै साझेदारी बसेको गौरी पार्वती निर्माण सेवा करिब तीन महिनाअघिदेखि बाध्य भएर काम गर्न निर्माण स्थलमा खटिएको थियो। खाडीचौर बजारदेखि सिन्धुपाल्चोककै मुडे बजारभन्दा तल्लो मोडसम्मको २५ किलोमिटर खण्डमा काम गर्ने जिम्मेवारी लिएर खटिएको यो कम्पनीले करिब २५ वटा मेसिन र उपकरणसहित मजदुर खटाएर सडकको सबग्रेड गर्ने र सबबेस बिछ्याउने काम सुरु गरेको थियो।

आयोजनाका अधिकारीका अनुसार खाडीचउर बजारदेखि ६ किलोमिटर खण्डसम्म सबबेस बिछ्याउने काम सकिसकेको छ भने करिब १० किलोमिटर खण्डसम्म सडकको पुरानो पिच भत्काउन थालिएको छ। यो सडक खण्डमा बिच्छ्याइने बेस र सबबेस तयार गर्न सुनकोसी नदीमा रहेको क्रसर प्लान्टमा स्थानीयले अवरोध पुर्‍याएपछि १५ दिनदेखि सबबेसको काम गर्न नसकिएको गौरीपार्वती निर्माण कम्पनीका इन्जिनियर डोरमणि पौडेलले जानकारी दिए।

‘बेसको कामले रफ्तार लिइरहेको थियो,’ उनले भने, ‘तर दुई साताअघि हाम्रो पुरानो ठेकेदारसँगको बक्यौता देऊ भन्दै केही स्थानीयले क्रसरमा अवरोध पुर्‍याउनुका साथै क्रसर पुग्ने बाटोमा गाडी तेर्साइदिएका कारण उत्पादन ठप्प छ।’ पौडेलले क्रसरभित्र आफ्नो स्काभेटर, जेसिबी, चारवटा ट्रिपर र पानी ट्याङ्की थुनिएका कारण काममा अफ्ठेरो परेको सुनाए।

उनले यसअघि कार्यरत ठेकेदार कम्पनी सुनौला खिम्ती आफूहरुको साझेदारी भए पनि उसले काम गर्दा बाँकी राखेको स्थानीयको उधारो आफूहरुले तिर्नसक्ने अवस्था नरहेको सुनाए। ‘पुरानो ठेकेदार कम्पनी सुनौला खिम्तीले यहाँको काम छाडेर सम्पर्कबिहीन भएपछि ठेक्का हाल्दा फर्ममा जेभी (साझेदारी) हालेका कारण हामी काम गर्न आएका हौं,’ उनले भने, ‘त्यतिखेर हामीबीचको समझदारीमा पनि उहाँहरुले काम गर्ने र हामीले सहयोग गर्ने भन्ने थियो, तर उहाँहरु केही हरहिसाब नै नदेखाई सम्पर्कबिहीन हुनुभयो।’ उनले स्थानीयसँगको कामका बेलाको उधारो नतिर्दा आफूहरुलाई कठिनाइ भएको सुनाए। सुनौला खिम्तीका सञ्चालक भीमसेन भण्डारी करछली सम्बन्धी मुद्दामा तानिनुका साथै सिन्धुपाल्चोक प्रशासनद्वारा पक्राउसमेत परेका थिए।

गौरीपार्वतीका इन्जिनियर पौडेलले क्रसर बन्द भएका कारण सबबेसको काम रोकिएको बताए। ‘हामीले १० वटा ट्रिपर तयारी हालतमा राखेको थियौं,’ उनले भने, ‘१५ दिन काम नरोकिएको भए यतिखेरसम्म १२ देखि १४ किलोमिटरसम्म सबबेस बिछ्याइसक्थ्यौं।’ आयोजनाको परामर्शदाता कम्पनीका इन्जिनियर अभिषेक प्रधानले बेस बिछ्याउने काम रोकिँदा पहिलो प्याकेजको काममा फेरि सुस्तता आएको बताए।  

यसैबीच दोस्रो प्याकेजअन्तर्गत मुडेदेखि चरिकोट खण्डको जिम्मा पाएको शंकर माली निर्माण कम्पनीका सञ्चालक दिपक सापकोटाले १० दिनभित्र तीन स्थानबाट काम थाल्ने र सडक विस्तारको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासनमा गत केही दिनअघि भएको छलफलमा उनले १० दिनभित्र काममा तीव्रता दिने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: १९ पुस २०७५ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App