१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हात्तीबाट बालीनाली जोगाउन समस्या

खैरहनी नगरपालिकामा हात्तीले नष्ट गरेको केरा खेती। तस्बिर : नागरिक

चितवन - खैरहनी नगरपालिका–११ को पिद्रहनी, गैडाहा र सुन्दरबस्तीमा मंगलबार राती जंगली हात्तीले बालीनाली नष्ट गरेको छ। गैडाहामा किसानको गहुँ नष्ट गरिदिएको छ भने सुन्दरवस्तीमा नवराज उप्रेतीको बंगुर खोर र अस्थायी बसोबास गर्ने घर हात्तीले भत्काइदिएको छ। मध्यरातमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर पूर्ण रुपमा र बंगुरको खोरमा क्षति पुर्‍याएको छ।

मंगलबार राती नै संजयमाया लामाको घरको पिढीमा राखिएको करिब सात क्विन्टल धान नष्ट गरिदियो। एक बजेतिर आएको हात्तीले पिढीमा राखेको धान सबै नष्ट गरिदिएको उनले बताइन्। हात्ती आएजस्तो लागेपछि ढोका थोरै खोलेर हेर्दा पिडीको धान खाइरहेको देखिन्। ‘पिडीको धान खाइरहेको थियो,’ उनले भनिन्, ‘घरभित्रबाट लुकेर टुलुटुलु हेरेर मात्र बस्यौं।’

पछिल्लो १० दिनदेखि हात्ती दिनहुँ गाउँ पसेर किसानले लगाएको खेतीबाली र घरमा राखिएको खाद्यान्नसमेत नष्ट गर्ने गरेको खैरहनी नगरपालिका–११ का वडाध्यक्ष हाकिमसिंह उप्रेतीले बताए। हात्तीका कारण पछिल्लो तीन दिनमा २० परिवारको गहुँ खेतीमा क्षति पुगेको उनले जानकारी दिए। गहुँ बाली खान पल्किएको हात्तीले बारम्बार आएर किसानलाई दुःख दिइरहेको उनले बताए। गहुँ खाएर नष्ट गरेको बारीमा हात्ती फेरि पलाइसकेको गहुँ खान आएकोे उनी बताउँछन्।

खाएर मात्र नभई बाली मडारेर समेत नष्ट गरेको छ। जंगली हात्तीले खैरहनीको वडा नम्बर ११ सँगै १२ का स्थानीयलाई दुःख दिँदै आएको छ। केरा खेतीमा पनि क्षति गरेको छ। पछिल्लो तीन दिनदेखि लगातार आइरहेको हात्तीले केरा खेती समेत नष्ट गरेको वडा नम्बर १२ का कृषक वुद्धिराज चौधरीले बताए। गएको वर्षदेखि केरा खेती सुरु गरेका चौधरीसहित अरु किसानको समेत गरी एक हजारभन्दा बढी बोट ढालेर नष्ट गरेको उनको भनाइ छ।
‘तीन दिनमै यत्रो क्षति गरेको छ,’ उनी भन्छन्, ‘अझै कति क्षति पुर्‍याउँछ, हेरेर बस्नुबाहेक केही गर्न सकिन्न।’ उनीसहित तीन किसानले करिब ७० बिघामा केरा खेती गरेका छन्। डेढ साताअघि पनि खैरहनी–१२ मै करिब दुई सय केराका बोट हात्तीले नष्ट गरेको थियो। राती आउने हात्तीले स्थानीयको खेतीबालीमा क्षती पुर्‍याउँदै आएको छ। जग्गाा भाडामा लिएर खेती गर्दै आइरहेकी किसान मनिता घिमिरे खेतीको लगानी उठाउन समेत समस्या भएको बताउँछिन्।

दुःख गरेर लगाएको बाली स्याहार्न नपाउँदा किसानको दुःख बढेको बताउँदै उनले भनिन्, ‘हात्तीलाई केही गर्न सकिँदैन, हेरेर बस्नु पर्ने बाध्यता छ।’ जंगली जनावरलाई बस्तीसम्म आउन नदिन वनको सीमा क्षेत्रमा विद्युतीय तारबार गरिएको छ। तर पनि हात्ती स्थानीयको खेतबारीमा आएर बालीनाली नष्ट गरिदिने उनको भनाइ छ। विद्युतको झड्का नलाग्ने भएकाले तारबार भत्काएर हात्ती बस्तीमा पस्ने गरेको स्थानीयको भनाइ छ। निकुञ्जसँग सीमा जोडिएको मानववस्तीमा दिनहुँ हात्ती आउन थालेपछि स्थानीय त्रसित भएको वडा अध्यक्ष उप्रेतीले बताए।

वन्यजन्तु बस्तीमा पसेर गर्ने नोक्सानी रोक्न राप्ती र खैरहनी नगरपालिका लागि प्रदेश ३ सरकारले १५ करोड रुपैयाँ समेत विनियोजन गरेको छ। राप्ती नगरपालिका–६ र खैरहनी नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का लागि बजेट विनियोजन गरिएको हो। जंगलबाट बस्ती पसेर वन्यजन्तुले गर्ने क्षति रोक्न विनियोजन गरिएको बजेटबाट वनको सीमा क्षेत्रमा कंक्रिटको पर्खाल बनाउने भनिए पनि काम अघि नबढेको वडाध्यक्ष उप्रेती बताउँछन्। वाल बनाउन प्रारम्भिक सर्भे मात्र गरिएको छ। प्रदेशबाट हुनुपर्ने काम चाँडो सुरु गरेर वन्यजन्तुले मानव बस्तीमा गर्दै आइरहेको क्षति रोक्नुपर्ने उनी बताउँछन्।

प्रकाशित: १९ पुस २०७५ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App