१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलकाे तारबारमा ठेकेदारको बदमासी

विमानस्थल निर्माण हुने जग्गा सुरक्षित राख्न पसाह खोलाको किनारमा तारबारको काम गर्दै मजदुर। तस्बिर : नागरिक

बारा - दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने जग्गालाई सुरक्षित राख्न तारबार गर्ने ठेक्का पाएको निर्माण कम्पनीले बदमासी गरेको पाइएको छ। टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने ऐलानी र निजी जग्गा सुरक्षित राख्न पहिलो चरणमा तारबारले घेराउ गर्न लागिएको हो।

तारबार घेराउ गर्न ठेक्का लिएको कम्पनीले बढी नाफा लिन कमसल सामग्री प्रयोग गरेको र तारका लागि गाडिने पिलरको जग तोकिएभन्दा कम ढलान गरेको भेटिएपछि कारबाहीमा परेको छ। विमानस्थलले ओगट्ने जग्गाको दक्षिणतिर पर्ने पसाह खोलादेखि बालगंगा खोलासम्म १४ किलोमिटरमा एएलजे निर्माण सेवाले तारबार गर्ने जिम्मा पाएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइ कार्यालय सिमराले जनाएको छ। कम्पनीले सम्झौताअनुसार काम नगरेको कार्यालयका निर्देशक ओम शर्माले बताए।

२०७५ जेठ ६ गतेसम्म १४ किलोमिटर क्षेत्रफलमा तारबार गर्न एक करोड ६२ लाखमा उक्त कम्पनीले विमानस्थल आयोजना कार्यावन्यन एकाइ कार्यालयसँग २०७४ असार ३० गते ठेक्का सम्झौता गरी काम सुरु गरेको निर्देशक शर्माले बताए। प्रत्येक २.५ मिटर दुरीमा आठ फिट उचाइको सिमेन्ट पिलर गाड्नुपर्ने र जमिनमा गाडिने पिलरमा ढुंगाको सोलिङ र ढलान २.५ फिटसम्म गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि सो अनुसार काम नगरेको पाइएको शर्माले बताए।
‘ठेकेदारले बढी नाफा कमाउन ढुंगाको सोलिङ र ढलान नगर्दा पिलर नै कमजोर देखियो,’ निर्देशक शर्माले भने, ‘नियम अनुसार ढुंगाको सोलिङ र ढलान गराउन थालेका छौं।’ तारबार गर्न पाँच हजार ६ सय सिमेन्टका पोल गाड्नुपर्ने शर्माले बताए।

सुरुमा तोकिएको अवधिमा काम नसकिएपछि ६ महिना थप समय दिए पनि काम नसकिने अवस्था रहेको शर्माले बताए। पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि विमानस्थल निर्माण हुने जग्गा भएर दक्षिणतिर जाने विभिन्न सडकमा ६३ किलोमिटर तारबार गर्न उमा एन्ड कम्पनीलाई करिब चार करोड रुपैयाँमा ठेक्का दिएको र यसले पनि तारबार गर्ने काम सुरु गरेको निर्देशक शर्माले बताए।

प्रकाशित: १९ पुस २०७५ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App