८ वैशाख २०८१ शनिबार
अर्थ

वाइड बडी किन्दा चार शीर्षकमा घोटाला

फाइल तस्बिर

काठमाडौं - नेपाल वायुसेवा निगलले खरिद गरेको दुइटा वाइड बडी जहाजमा चार शीर्षकमा मोटो रकम घोटाला भएको देखिएको छ। छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चार शीर्षकमा चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको ठहर गरेको हो।

सांसद राजन केसीको  संयोजकत्वमा गठित उपसमितिले समितिलाई बुधबार बुझाएको प्रतिवेदन अनुसार जहाजको तौल, मूल्य समायोजन, छुट रकम, भ्रमण लगायतमा मोटो रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार सबैभन्दा बढी रकम विमानको मूल्यमा अनियमितता भएको छ। एयर बस निर्माता कम्पनीले तत्कालीन मूल्य र छुट रकमलाई नलिई गलत मनसायले आठ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवृद्धि समायोजन गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाइएको प्रतिवेदनमा छ। सो अनुसार नयाँ विमानको मूल्य ११ करोड ८१ लाख ६३ हजार सात सय ७३ अमेरिकी डलर निर्धारण गरेको छ। तर, बोलपत्रमा एक हजार घन्टासम्म उडेको र २०१४ पछि निर्मित पुरानो विमानका लागि सूचना जारी गरिएको प्रतिवेदनमा छ।

पुरानो विमान खरिद गर्दा छुट मूल्य बढी हुनुपर्नेमा प्रस्ताव मूल्यांकन उपसमितिले प्रस्ताव गरेको सन् २०१६ मा विमानको मूल्य आठ करोड ८० लाख ९९ हजार ३१७ अमेरिकी डलर पर्ने र उक्त मूल्यमा निगम व्यवस्थापनले निर्धारण गरेको दर २.७६९९५ प्रतिशतको मूल्यवृद्धि कायम गर्दा नयाँ विमानको मूल्य नौ करोड ३० लाख ४७ हजार चार सय ३४.८० अमेरिकी डलर पर्ने सुझावलाई बेवास्ता गरी एएआर इन्कले प्रस्ताव पेस गरेको मूल्य १०४.८ मिलियन अमेरिकी डलर स्वीकार गरिएको प्रतिवेदनमा उल्लेख छ। यसरी गर्दा एक जहाजमा ११.८ मिलियन अमेरिकी डलरका दरले दुई जहाजमा २३.६ मिलियन डलर नोक्सानी भएको प्रतिवेदनमा भनिएको छ। जुन नेपालीमा हिसाब गर्दा दुई अर्ब ६४ करोड रुपैयाँ हाराहारी हुन्छ।

त्यसैगरी, जहाजको तौलमा पनि मोटो रकम अनियमितता भएको उपसमिति प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदन अनुसार विमान खरिद प्रक्रियामा दुई सय ४२ मेट्रिक टनको जहाज ल्याउने उल्लेख गरे पनि २३० टनको विमान ल्याइएको छ। यसरी विमानको तौलमा १२ मेट्रिक टन फरक आउँदा प्रतिमेटिक टन तीन लाख ५० हजारका दरले दुइटा जहाजमा ८४ लाख अमेरिकी डलर घोटाला भएको उल्लेख छ। यो नेपाली ९४ करोड रुपैयाँ बराबर हो ।

विमान खरिदमा जहाज निर्माता कम्पनी एयरबसलाई मात्रै लागू हुने गरी मूल्य समायोजन हुने व्यवस्थाबाट ७६ करोड रुपैयाँ बढी आर्थिक हिनामिना गरेको प्रतिवदेनमा छ। प्रतिवेदन अनुसार निगम सञ्चालक समितिले पुरानो विमान खरिद प्रक्रिया अपनाउँदा ह्रासकट्टीको सट्टा नयाँ विमान खरिदका सन्दर्भमा उत्पादक कम्पनीका लागि मात्र लागू हुने वृद्धि दफाको अधिकतम सीमा व्यवस्थापनले सिफारिस गरे बमोजिम (२.७६९९५मा नबढ्ने गरी) कायम गरेको छ। तर, जहाज निर्माता कम्पनी एयर बसले सोही वर्षका लागि कायम गरी सार्वजनिक गरेको दर बमोजिम वार्ताबाट टुंगो लगाउने व्यवस्था मिलाइ सार्वजनिक खरिद ऐन २०६३ को वर्खिलाप हुने गरी प्रस्ताव छनोट भएपछि मूल्य बढाउन सक्ने प्रावधान राखी निगमलाई ६.८ मिलियन अमेरिकी डलर आर्थिक नोक्सानी गराएको प्रतिवेदनमा छ। जुन नेपाली रुपैयाँ ७६ करोड बढी हुन आउँछ।

त्यसैगरी, जहाज निर्माणको क्रममा पूर्वनिरीक्षणका नाममा विभिन्न संस्थाका ३८ जना कर्मचारीलाई भ्रमणमा लैजाँदासमेत एक करोडभन्दा बढी हिनामिना भएको प्रतिवदेनमा छ। प्रतिवेदन अनुसार केही प्राविधिकबाहेक धेरैजसो असम्बनिधत कर्मचारी भ्रमण गराइएको थियो। जहाज निर्माता कम्पनी रहेको फ्रान्स भ्रमणमा जाने अधिकांश कर्मचारीले निगममा भ्रमण प्रतिवेदन समेत नबुझाएको प्रतिवेदनले खुलासा गरेको छ।

को–को थिए भ्रमणमा
ऋण सम्झौता अनुसार लगानीकर्ताको अनुगमन गर्ने भन्दै कर्मचारी सञ्चय कोषका राजेन्द्र काफ्ले, भरतराज वस्ती, अर्जुनकुमार गौतम गएका  थिए। त्यसैगरी, नागरिक लगानी कोषका माहाश्रम शर्मा, सुशीलकुमार अर्याल गएका थिए। पर्यटन मन्त्रालयबाट मुकेश डंगोल, वायुसेवा निगमबाट गणेशबहादुर चन्द र उमेर पौडेल गएका थिए। यी कसैले पनि भ्रमणबाट फर्किएपछि निगमलाई प्रतिवेदन बुझाएका छैनन्।

निगम सञ्चालक समितिको निर्णय अनुसार कारखानाको पूर्वाधार अवलोकन तथा निर्माणमा रहेको निगमले प्राप्त गर्ने विमानको अवस्था बुझ्न भनेर निगम सञ्चालक सदस्यहरु सुरेश आचार्य (पर्यटन मन्त्रालय),  मुक्तिराम  पाण्डे, निमानुरु शेर्पा, अच्यूतराज पहाडी, सुगतरत्न कंशाकार गएका थिए। त्यसैगरी, निगमका  पारस पौडेल र अशोक सिग्देल पनि फ्रान्स गएका थिए। सिग्देल सञ्चालक समितिका सचिव हुन्। पहिलो विमानको प्राविधिक अनुगमन तथा हस्तान्तरण गर्न भन्दै निगमका बिक्रम केसी, कर्णबहादुर थापा, प्रभाशकुमार कर्माचार्य फ्रान्स पुगेका थिए।

विमान हस्तान्तरणको लागि निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार, रविन्द्र श्रेष्ठ, पारस पौडेल, नागरिक उड्डयन प्राधिकरणका राजकुमार क्षेत्री, राजु श्रेष्ठ, रिजेशराज पन्त र कानुनी सल्लाकार आभाश गान्धी गएका  थिए। यो समूहले पनि निगममा प्रतिवेदन नबुझाएको उल्लेख छ। दोस्रो विमानको प्राविधिक अनुगमन तथा हस्तान्तरणमा निगमका विक्रम केसी, कर्णबहादुर थापा, प्रभाशकुमार कर्माचार्य गएका थिए। दोस्रो विमान हस्तान्तरणमा निगमका महाप्रबन्धक कंशाकार, पारस पौडेल, राजकुमार खड्का, नेपाल राष्ट्र बैंकका भिष्म ढुंगाना, नागरिक लगानी कोषका नारायण घिमिरे, सुमन पौडेल, नेपाल नागरिक  उड्डयन प्राधिकरणका प्रभाकरचन्द्र मल्लिक, र कानुनी सल्लाकार आभाश गान्धी गएका थिए। फ्रान्स पुगेर आएको यो समूहले पनि भ्रमण प्रतिवेदन नुझाएको छानबिन उपसमितिको प्रतिवेदनमा उल्लेख छ।

 

प्रकाशित: १९ पुस २०७५ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App