७ वैशाख २०८१ शुक्रबार
राजनीति

अधिकार मिच्ने अभ्यासमा जनप्रतिनिधि

नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमाल कानुनले दिएको अधिकारको पूर्ण प्रत्याभूति गर्न पाएका छैनन्। वडाले पाएका कतिपय अधिकारमाथि उपमहानगरपालिकाले हस्तक्षेप गरेको उनको बुझाइ छ। ‘कानुनले वडा कार्यालयलाई दिएको सबै अधिकारको उपयोग गर्न पाएका छैनौं, यस विषयमा हाम्रो लडाइँ जारी छ,’ उनले नागरिकसँग भने, ‘कानुनले वडालाई दिएको अधिकारलाई उपमहानगरपालिकाले खोस्न खोजेको जस्तो अनुभूति हामीलाई हुन्छ।’

वडामा सञ्चालित योजनाको अनुगमन, कर्मचारी व्यवस्थापन जस्ता विविध विषयमा उपमहानगरपालिकाले अधिकार मिच्ने काम गरेको वडाध्यक्ष हमालको गुनासो छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकमा पनि पठक–पटक वडाको काम, कर्तव्य र अधिकारका विषयमा चर्काचर्की नै हुन्छ। कुल २३ वटा वडा रहेको उपमहानगरपालिकाका अधिकांश वडाध्यक्षले आफूहरूको अधिकारमाथि उपमहानगरपालिकाले हस्तक्षेप गरेको गुनासो गर्छन्।

स्थानीय सरकार कार्य सञ्चालन ऐन २०७४ मा नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यका काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ। तर ऐनअनुसार जनप्रतिनिधिले अधिकार उपयोग गर्न र जिम्मेवारी पाउन सकेका छैनन्। एकले अर्काको काम, कर्तब्य र अधिकारमाथी हस्तक्षेप गर्ने प्रवृत्ति बढिरहेको छ। वडाध्यक्षले वडासदस्यमाथि, उपमहानगरपालिकाले वडा कार्यालयमाथि र स्थानीय तहका प्रमुखले उपप्रमुखका अधिकारमाथि हस्तक्षेप गर्ने प्रवृत्ति देखा परेको छ। एकले अर्काको अधिकार र काममाथि हस्तक्षेप गर्ने प्रवृत्ति बढ्दा जनप्रतिनिधिबीच द्वन्द्व बढ्ने गरेको छ। जनप्रतिनिधिले जानेर वा नजानेर एकअर्काको अधिकार र काममाथि हस्तक्षेप गरिरहेका छन्, भने कतिपय जनप्रतिनिधिले भूमिका पाउन सकेका छैनन्। विशेषगरी वडासदस्यले अधिकार अनुसारको जिम्मेवारी र भूमिका नपाएको गुनासो गर्छन्।

नेपालगन्ज–२ का महिला वडा सदस्य आशा बिष्टले सोचेअनुरूप अधिकार र जिम्मेवारी पाउन सकेकी छैनन्। निर्वाचित भएपछि घरबाट पूरै सहयोग पाए पनि वडामा बसेर जनताको काम गर्दा अधिकार र जिम्मेवारीको अनुभूति गर्न नपाएको उनी बताउँछिन्। ‘मलाई काम गर्नकै लागि जनताले जिताएर पठाए, म दैनिकरूपमा वडा कार्यालयमा पुगेको हुन्छु, तर जनताको काम गर्ने अवसर मिल्दैन, जिम्मेवारी नपाउँदा नरमाइलो लाग्छ,’ उनले भनिन्। निर्वाचित भएको डेढ वर्ष पुग्दा पनि भूमिका नपाउँदा आफू अलमलमै रहेको महिला वडा सदस्य बिष्टले सुनाइन्। कानुनले तोकेबमोजिम जिम्मेवारी नपाएको उनको गुनासो छ। तर, वडाअध्यक्ष हमाल वडासदस्यलाई कानुनले तोकेअनुसारको अधिकार र भूमिका दिएको दाबी गर्छन्। ‘मेरो वडाका सबै वडा सदस्यलाई कानुनले दिएको अधिकारअनुसार समानरूपले जिम्मेवारी दिएको छु,’ उनले भने, ‘कसैलाई अनुभूति नभएको हुन सक्छ।’

नेपालगन्ज–१० निवासी बसन्ता जोशी महिला वडा सदस्य हुन्। उनी उपमहानगरपालिकाको कार्यपालिका सदस्यको जिम्मेवारीमा पनि छिन्। निर्वाचित भएर आएको डेढ वर्ष पुग्दासमेत आफूले उपमहानगरपालिका र वडा कार्यालयमा कानुनले दिएको अधिकार उपयोग गर्न नपाएको उनको गुनासो छ। ‘उपमहानगरपालिकाले मलाई अहिलेसम्म कार्यपालिका सदस्य भएको अनुभूति दिलाउन सकेको छैन,’ उनले भनिन्, ‘वडा कार्यालयले पनि मलाई हरेक कुराबाट वञ्चित गर्छ।’ वडाअध्यक्षले हरेक कुरामा आफूलाई बाइपास गर्ने गरेको उनको आरोप छ।

मलाई काम गर्नकै लागि जनताले जिताएर पठाए, म दैनिकरूपमा वडा कार्यालयमा पुगेको हुन्छु, तर जनताको काम गर्ने अवसर मिल्दैन, जिम्मेवारी नपाउँदा नरमाइलो लाग्छ।

‘एक हप्तासम्म वडा कार्यालयमा नहुँदा पनि मलाई वडाअध्यक्षले लिखित रूपमा कार्यबाहकको जिम्मेवारी दिनु भएन, तर पनि म वडा कार्यालयमा नियमित रूपमा पुगेर जनताको काम गरिदिए,’ उनले भनिन्, ‘यस्ता तमाम कुरामा हामी वञ्चित भइरहेका छौं, कानुनले अधिकार दिए पनि व्यवहारिक रूपमा अनुभूति छैन।’ आफू कार्यपालिका सदस्य र वडा सदस्य भए पनि वडामा हुने योजनाबारे कमै मात्रामा जानकारी पाउने गरेको उनको गुनासो छ। स्थानीय तहका जनप्रतिनिधि अधिकार मिच्ने अभ्यासमा उन्मुख भइरहेका छन्। अझै पनि जनप्रतिनिधि कानुनले दिएको अधिकारबारे अनविज्ञ जस्तै देखिन्छन्।

बसन्ताको जस्तै पीडा सुनाउँछिन्, नेपालगन्ज–४ की महिला वडासदस्य मेनका जोशी। उनी दैनिकरूपमा वडा कार्यालय र जनताकै काममा खटिन्छिन्। तर, आफूले उचित भूमिका नपाएको मेनकाको दुःखेसो छ। ‘जनताले धेरै अपेक्षा राखेर हामीलाई जिताएका हुन्, तर उचित जिम्मेवारी नपाउँदा सोचेअनुसारको काम गर्न सकेका छैनौं, उनले भनिन्, अधिकांश काम वडाअध्यक्ष आफैंले गर्न खोज्नुहुन्छ, नभ्याएको काम मात्र हामीलाई दिनुहुन्छ,’ उनले भनिन्।

उपमहानगरकै कतिपय वडामा वडअध्यक्ष र वडा सदस्यले आ–आफ्नो अधिकार र भूमिका निभाइरहेका छन्। वडा नम्बर ९ का वडा सदस्य विष्णुबहादुर लामाले सबै वडा सदस्यलाई जिम्मेवारी दिएका छन्। फरक दलको आस्था राख्ने वडाअध्यक्ष र वडासदस्यबीच अधिकार र भूमिकाको विषयमा अहिलेसम्म विवाद भएको सुनिएको छैन। वडाध्यक्षले सबै सदस्यलाई कानुनले दिएको अधिकार अनुसार जिम्मेवारी दिएको वडा सदस्य रमेश तिमिल्सिना बताउँछन्। ‘वडाध्यक्ष र वडा सदस्यले आ–आफ्ना जिम्मेवारी पूरा गरिरहेका छौं, हामीले अहिलेसम्म जिम्मेवारी पाएकै छौं,’ उनले भने। वडाध्यक्षले बुझेर वा नबुझेर वडासदस्यलाई जिम्मेवारी नदिने प्रवृत्ति रहेको तिमिल्सिना बताउँछन्।

प्रकाशित: १९ पुस २०७५ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App