१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अमेरिकी पुलिसिक चेल्सीमा

लन्डन – अमेरिकी अन्तर्राष्ट्रिय खेलाडी क्रिस्टियन पुलिसिकलाई इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले बुधबार अनुबन्धित गरेको छ।

चेल्सीले जर्मन क्लब डर्टमन्डबाट पुलिसिकलाई ६ करोड ४० लाख युरोमा अनुबन्धित गरेको हो। २० वर्षे मिडफिल्डर पुलिसिकलाई डर्टमन्डबाट च्याम्पियन्स लिगमा अवसर दिए पनि प्रशिक्षक लुसियन फाब्रेले बुन्डेसलिगामा भने इङ्ल्यान्डका जाडोन सान्चोलाई खेलाउँदै आएका छन्। तर, यस सिजनको अन्त्यसम्म पुलिसिक लोनमै जर्मन क्लब डर्टमन्डमै फर्कनेछन्।

‘अब नयाँ लिग खेल्न प्रिमियर लिग क्लब चेल्सी आउँदै छु। जुन मेरा लागि पूर्ण रूपमा नयाँ हुनेछ,’ चेल्सीद्वारा जारी विज्ञप्तिमा पुलिसिकले भने, ‘निकै उत्कृष्ट क्लबसँग अनुबन्धित हुन पाएकोमा क्लबप्रति निकै आभारी छु। विश्वस्तरीय खेलाडीसँग खेल्न निकै मिहिनेत पनि गर्नेछु।’ चेल्सीका निर्देशक मारिना ग्रानोभस्काइएले क्लबले पुलिसिकबाट धेरै आशा गरेको विज्ञप्तिमा उल्लेख छ।

‘उत्कृष्ट युवा फुटबलरलाई अनुबन्धि गर्न पाउँदा निकै खुसी छौं,’ मारिनाले भनिन्, ‘उनले जर्मनीमा निकै राम्रो गरिरहेका छन्।  अहिले २० वर्ष मात्र भएका उनलाई चेल्सीमा धेरै  अवसर छ।’ डर्टमन्डबाट खेलिरहँदा प्रिमियर लिगकै क्लब लिभरपुलले पनि पुलिसिकलाई अनुबन्धित गर्ने चासो देखाएको थियो। तर, चेल्सीले लिभरपुलको योजना सफल हुन दिएन।

उनी अमेरिकाको यु–१७ का पूर्वकप्तानसमेत हुन्। गत नोभेम्बरमा सिनियर टोलीको कप्तानी सम्हाल्दै उनी अमेरिकी राष्ट्रिय फुटबलको नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। अमेरिकाको कप्तानी गर्दा उननको उमेर २० वर्ष ६३ दिन थियो।

प्रकाशित: १९ पुस २०७५ ००:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App