coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग : अग्रता उल्ट्याउँदै संकटा उपविजेता

काठमाडौं – एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै थ्री स्टारविरुद्ध २–१ को जित निकालेको संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा संकटाले एक गोलले पछि परेको अवस्थालाई पेनाल्टीबाट उल्टाउँदै उपविजेतामा आफ्नो नाम लेखाएको हो। खेलमा थ्री स्टारले ३०औं मिनेटमा अग्रता लिएको थियो। चार रक्षकलाई बिट गर्दै रञ्जनले पेनाल्टी बक्स क्षेत्रबाट आकर्षक गोल गरेका थिए। यससँगै रञ्जनले जारी लिगमा पाँच गोल पुर्याएका छन्। थ्री स्टारका रञ्जित धिमालसहित मनाङका अफिज ओलावालेले  सर्वाधिक ७ गोल गरेका छन्। मनाङका अञ्जन विष्टको ५ गोल छ।

निकै प्रतिस्पर्धात्मक पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा अमित तामाङले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। थ्री स्टारका सुनील बलले संकटाका अमित तामाङलाई पेनाल्टी बक्सभित्र खराब फाउल गरेपछि संकटाले पेनाल्टीको अवसर पायो। पेनाल्टी प्रहारमा आएका अमितले अवसरलाई सदुपयोग गर्दै खेल बराबरी ल्याए।

उपविजेता बन्न संघर्ष गरिरहेका दुवै टोली स्पष्ट जितका लागि दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिए। दोस्रो स्थानको संकटाभन्दा दुई अंकले पछि रहे पनि थ्री स्टारले जितको लक्ष्यका साथ दोस्रो स्थानमा फर्कन काउन्टरको प्रयास गरेको थियो। तर दबाबमा विपक्षी खेलाडीलाई पेनाल्टी बक्सभित्र खराब फाउल गर्दा संकटाले अर्को पेनाल्टी मौका पायो।

थ्री स्टारका रक्षक विदेशी खेलाडी पिटरले संकटाका सौजन राईलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्री कविन व्यञ्जनकारले संकटालाई पुनः पेनाल्टीको अवसर दिए। अमितले दोस्रो अवसरलाई पनि सहजै गोलमा परिणत गर्दै अग्रता उल्टाए। त्यसपछि बाँकी समयमा थ्री स्टारले खेलमा फर्कने प्रयास गरे पनि सकेन। पराजयसँगै थ्री स्टारको जारी लिगमा उपविजेता बन्ने लक्ष्य समाप्त भयो। उता एक खेल बाँकी रहँदा तेस्रो स्थानको टोलीसँग ५ अंकको दूरी बनाउँदै संकटा एक खेलअगावैको समीकरणबाट उपविजेता बन्न सफल भयो।

अन्तिम चरणको खेलमा लिगको उपविजेता संकटाले विभागीय टोली एपिएफको सामना गर्नेछ भने पराजित थ्री स्टारले शीर्ष तीनभित्र अटाउन हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न बाँकी छ। यस्तै लिगअन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबले हिमालयन शेर्पाविरुद्ध २–१ को जित निकाल्दै १२औं चरणको खेलमा पनि विजयी नतिजालाई निरन्तरता दियो। अन्तिम चरणको खेलमा फ्रेन्ड्सविरुद्ध जित हात पारे मनाङले सहिद स्मारक ‘ए’ डिभिजनमा अपराजित रहने कीर्तिमान रच्नेछ।

हलचोकस्थित एपिएफको मैदानमा भएको खेलमा मनाङलाई जिताउन विदेशी खेलाडी अफिज ओलावाले र विशाल राईले समान एक–एक गोल गरे। हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले एक गोल फर्काएका थिए। अपराजित नतिजालाई निरन्तरता दिन मनाङले हिमालयन शेर्पाविरुद्ध आक्रामक सुरुआत गरेको थियो। कमल श्रेष्ठको लामो पासलाई विदेशी खेलाडी अफिजले नियन्त्रणमा लिँदै ३६औं मिनेटमा मनाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा हिमालयनका विश्वास श्रेष्ठले दोस्रो बार च्याप्दै प्रहार गरेको बलले जाली चुम्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। 

पहिलो हाफ बराबरी सकिएको खेलमा ६३औं मिनेटमा विशाल राईले गरेको गोल निर्णायक बनेपछि मनाङले विजययात्रालाई लिगको १२औं खेलसम्म कायमै राखेको हो। ६९औं मिनेटमा मनाङका रक्षक मोहम्मद आसिफ र  हिमालयन शेर्पाका विश्वास श्रेष्ठले आपसमा विवाद गरेपछि रेफ्री कविन व्यञ्जनकारले रातो कार्डको दर्शन गराउँदै मैदानबाहिर पठाएका थिए । बाँकी समयमा हिमालयनले खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन र जारी लिगमा पाँचौं हार बेहोर्न बाध्य भयो। हारका बावजुद १७ अंक जोडेको हिमालयन शेर्पा सातौं स्थानमा यथावत् छ भने निरन्तर जितलाई कायम राखेको मनाङको ३६ अंक भएको छ। अब मनाङलाई कीर्तिमान बनाउन एक खेल बाँकी छ।

प्रकाशित: १९ पुस २०७५ ००:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App