८ वैशाख २०८१ शनिबार
समाज

मुस्ताङमा पर्यटक बढे

फाइल फाेटाे

मुस्ताङ – सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको संख्या १२ प्रतिशतले वृद्धि भएको छ। सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ।

विसं २०१८ मा विदेशी पर्यटक आगमन १२.३० प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए। सबैभन्दा धेरै भारतीय पर्यटकको संख्या ३३ हजार १५९ जना छ। जर्मनीका ३ हजार २१० र फ्रान्सका ३ हजार ८९ जना छन्। सन् २०१७ मा २४ हजार ८०८ भारतीय, ३ हजार १२३ फ्रान्सेली र २ हजार ६३९ जर्मन पर्यटक थिए।

२०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसमलगायतका कारणले पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख दाहालले बताए। एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ।

माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षणका केन्द्र छन्। मुस्ताङ एक्यापअन्तर्गतको प्रमुख पर्यटकीय गन्तव्य हो।    (रासस)

प्रकाशित: १८ पुस २०७५ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App