४ वैशाख २०८१ मंगलबार
समाज

रामबहादुरको परिवारलाई साढे २५ लाख सहयोग

रुकुम – रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–९ का रामबहादुर बस्नेतको परिवारलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। वैदेशिक रोजगारीको शिलशिलामा कतार गएका रामबहादुरको गत कात्तिक ५ गते निधन भएको थियो।

घरमा आर्थिक अवस्था कमजोर भएका कारण वैदेशिक रोजगारीमा गएको १८ महिनामै उनको निधन भएपछि परिवारमा बिचल्ली आएको थियो। परिवारको बिचल्ली भएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन–प्रसारण भएपछि कतारमा रहेका अखिल नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष रुद्र खतिवडाको पहलमा रकम जम्मा गरिएको थियो। रामबहादुर कार्यरत कम्पनी र मजदुरबाट प्राप्त रकमलाई मृतककी पत्नी रमिता बस्नेतलाई हस्तान्तरण गरिएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट १४ लाख, वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको सचिवालयबाट ७ लाख, मृतक बस्नेत कार्यरत कतारको दोहास्थित अल्जावर कम्पनीबाट १ लाख ३६ हजार र उक्त कम्पनीमा कार्यरत मजदुरहरूले संकलन गरेर पठाएको ३ लाख १० हजार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कर्णाली प्रदेशबाट १० हजार रुपैयाँ गरेर जम्मा २५ लाख ५६ हजार रुपैयाँ जिफन्टका कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसी र वडाध्यक्ष बीरबहादुर डाँगीले संयुक्त हस्तान्तरण गरेका छन्। मृतक रामबहादुरका एक–एक छोराछोरी र पत्नी रहेका छन्।

सहयोग प्राप्त भएको रकम मध्ये पाँच वर्षीय छोरा मोहन र छोरी डीभीशिखाको मुद्दती खातामा ५ लाख १८ हजारका दरले जम्मा गरिदिएका छन् भने पत्नी रमिताको मुद्दती खातामा ६ लाख १७ हजार रुपैयाँ जम्मा गरिएको वडाध्यक्ष डाँगीले जानकारी दिए। अब बाँकी रकम निकासा गरी लागेको ऋण तिर्ने र घरखर्च चलाउने रमिताले बताइन्। मुद्दती खातामा जम्मा भएको रकमको व्याजबाट पठनपाठन खर्च व्यवस्थापन गर्ने र उनीहरू १६ वर्ष पुगेपछि आफैंले मात्र झिक्न पाउने व्यवस्था गरिएको उनले बताइन्। सहयोग रकम पाएपछि रमिताले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस रकमबाट आफ्ना छोराछोरीको पालनपोषण, पढाईलेखाई र आफ्नो आयआर्जको काममा लगानी गर्ने बताइन्।

प्रकाशित: १८ पुस २०७५ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App