काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधवार बिहान बंगलादेश पुगेका छन्।
अष्ट्रेलियामा जारी ‘ बिग ब्यास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बंगलादेश प्रस्थान गरेका हुन्। सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बंगलादेश प्रस्थान गरेको बताएका छन्। अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै ८ विकेट लिएका थिए।
सन्दीपले स्यलहेट सिक्सर्सबाट बंगलालादेश प्रिमियर लिग खेल्ने छन्। बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ। बंगलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन्। नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृंखला खेल्नेछ।
बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका ८ विकेट मध्ये पहिलो खेलमा २, दोस्रो खेलमा ३, तेस्रो खेलमा २ र चौथो खेलमा १ विकेट लिएका थिए। जारी लिगको चारै खेलमा विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता पनि गराइसकेका छन्। उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए।
प्रकाशित: १८ पुस २०७५ ०८:३६ बुधबार