coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

अभिलाई अक्षरको उज्यालो देखाउने आमा

‘बिहान ताराहरू ओइलाउन थालेका हुन्थे, आमाले ओछ्यानबाटै रामायणका श्लोक हाल्नुहुन्थ्यो । अहिले पनि बिहानै ब्युँझे भने ओइलाउँदै गरेका ताराहरूले ध्वनिपूर्ण कविता छरेझैं लाग्छ,’ अभि बाल्यकालको स्मृतिमय क्यानभासमा ढल्कँदो उमेरको सार र सौन्दर्य देख्छन् ।
केटाकेटी छँदा अभि आमाले हालेका रामायणका श्लोकसँगै बेलुका निदाउँथे र बिहान ब्युँझन्थे । त्यसैले आमा, तारा ओइलाउँदै गरेको बिहान र कवितामा अभिले अद्भुत आत्मिक उज्यालो पाउँछन् ।

प्राध्यापक, कवि, निबन्धकार, नाटककार, भाषाविद्— अभि सुवेदीका धेरै परिचय छन् । यति धेरै परिचय भएका अभिकी आमा कस्ती होलिन् ? अभिको अन्तस्करण र आदर्शमा आमाको कस्तो आकृति होला ? अत्यन्तै व्यस्त समयका बीच अभिले आमा सम्झिए । अभिका लागि मात्रै होइन, हरसन्तानका लागि आमा नै पहिलो पुस्तक र गुरु हुन्, अपवादमा कतिले यो सौभाग्य नपाउलान् । अझ अभिलाई पुस्तकप्रति प्रेम जगाउने आमा नै रहिछन् ।

‘१० वर्षकी बालिकाको ४६ वर्षेसँग विवाह’

‘हामीकहाँ त कन्या छैनन्, ऊ त्यही एउटी छे— घरमूलीले एउटी १०–११ वर्षकी बालिका देखाए । ती सानी अबोध बालिका नै मेरी आमा थिइन्— रमा सुवेदी,’ आफ्नो बाबुको बिहेबारे आमा र दाइहरूले सुनाएका प्रसंग अभि सम्झन्छन् ।

अभिका बुवा भाष्कर सुवेदी सुबेदार थिए । धनकुटाका बडाहाकिम डम्बरशमशेर थापाले उनलाई सुबेदार बनाएर तेह्रथुम याङरुप पठाएका थिए, भारतीय सीमा क्षेत्र हेर्न । यो १९८४ सालतिरको कुरा हो, जतिबेला भाष्कर ४६ का थिए ।

राणाकालमा सुबेदार भएका उनलाई आफ्नो जिम्मेवारी पूरा गर्न केही सहज वातावरण चाहिन्थ्यो । यसैले उनले त्यस गाउँसँग नाता गाँस्न सोचें । त्यहाँको उप्रेती गाउँमा गएर भने, ‘मेरी पत्नी उतै घरतिर छन् । यताका लागि एउटी कन्या चाहियो, कुनै कन्या छन् कि भनेर आएको !’
ऊ जमाना मात्रै होइन, अहिले पनि सत्तासँग जोडिएका व्यक्तिलाई छोरी दिन समाज अघि सर्छ । सुबेदारले कन्या चाहियो भनेपछि त्यहाँ हार्न सकेनछन् । विवाहपछि भाष्करले पत्नीलाई लिएर सीमाक्षेत्र गए, दार्जिलिङनजिकै ।

‘विवाह त गरिहाल्नुभयो, त्यो एउटा परिस्थितिजन्य राजनीतिक विवाह थियो । विवाहपछि भने बुवाले आमालाई पढाउन चाहनुभयो । दार्जिलिङतिरका एकजना पण्डित राखेर आमालाई पढाउनुभयो,’ अभि भन्छन्, ‘आमाले आफ्नो गुरुलाई तिवारी गुरु भनेर सम्झनुहुन्थ्यो । ती गुरुले आमालाई बंगाली, संस्कृति पनि पढाउनुभयो ।’

अभिले सानैदेखि आमाले सधैंजसो पुस्तक पढिरहेको देखे । उनकी आमाले संस्कृतका पुस्तक पनि पढ्थिन् ।  अभि  भन्छन्, ‘कति बुझ्नुहुन्थ्यो त्यो त मलाई थाहा भएन, तर पढिरहेको देख्थें । सुखसागर, कृष्णचरित्र, महाभारत, स्वप्न विचार, भानुभक्तले लेखेको रामायण, मोतिरामको प्रह्लाद भक्तिकथालगायत पुस्तक उहाँसँग थिए ।’

‘गाउँका निरक्षर नारीहरूका प्रिय हुनुहुन्थ्यो’

तेह्रथुम साब्लामा अभिको घर, लिम्बु समुदायको माझमा । लिम्बु पुरुषहरू लाहुरे हुन्थे । लाहुरेको चिठी आउँथ्यो । गाउँमा चिठी पढ्ने साक्षर कमै हुन्थे । लाहुरेले पठाएको चिठी सुन्न लाहुरेनीहरू अभिकी आमालाई भेट्न आउँथे ।

अभिकी आमाले एउटा लाहुरेले पठाएको चिठी पढ्दै थिइन्, लाहुरेनीले चिठी सुन्दै थिइन् । उनलाई चिठीमा सुखद समाचार होला भन्ने लागेको रहेछ । तर, चिठी दुःखद थियो । जसमा लाहुरेले युद्धमा ज्यान गुमाएको कुरा थियो । चिठी सुन्दासुन्दै लाहुरेनी ढलिन् ।

तर, त्यो दर्दनाक दृश्यलाई अभिकी आमाले आफ्नो अँगालोमा सम्हालिन् । अभि सानै थिए । तर, त्यो घटना उनको स्मृतिमा अझै आलै छ । उनी भन्छन्, ‘आमाले ती लाहुरेनी भाउज्यूलाई काखमा लिनुभयो र पानी छम्कनुभयो । सम्झाइबुझाई गरेर घरमा पठाउनुभयो । मेरी आमामा अद्भुत आत्मिक शक्ति थियो, त्यो शक्ति उहाँ स्वयंले भोगेर र पुस्तक पढेर प्राप्त गर्नुभएको हो । धेरै महिला मेरी आमासँग सल्लाह लिन आउँथे ।’

अभिकी आमा असाध्यै चतुर ठट्टालु पनि थिइन् । एकपटक उनले एउटा यस्तो लाहुरेको चिठी पढिन्, चिठीमा लाहुरेले गाउँभरिका तरुनीलाई सम्झेको थियो । श्रीमतीलाई सम्बोधनपछि चिठीको लय रमाइलो शैलीमा अघि बढ्छ । अभि सम्झन्छन्, ‘गढीगाउँकी कान्छीलाई पनि गंगाजल राखी ढोग छ जी । चिठीमा यस्तै शब्द थिए । सायद ती लाहुरेले ‘गंगाजल राखी ढोग छ जी’ भन्ने शब्द चिठीमा कसैले प्रयोग गरेको देखेका, सुनेका थिए ।’

चिठीवल्लो गाउँ, पल्लोगाउँका तरुनीलाई सम्झेर सकिन्छ । अनि लाहुरेनीले भन्छिन्, ‘होइनौ हौ, मोराले त उसकी तरुनीलाई मात्रै पो लेख्यो हौ, मलाई त केही पनि लेखेन त ।’

अभिकी आमाले भनिन्, ‘तिमीलाई चिठी लेख्यो नि । चिठी त तिम्रो नाममा तिमीलाई नै आको हो त ।’
अभिकी आमाका ठट्टालु कुराले लाहुरेनीले चित्त बुझाइन्, ‘त्यो त हो हौ, चिठी त मलाई नै लेखेको हो नि ।’
‘मेरी आमा शिक्षित हुनुको महत्व समाजका नारीका लागि थियो,’ अभि भन्छन्, ‘मेरी आमा गाउँका निरक्षर नारीहरूका प्रिय हुनुहुन्थ्यो ।’  

अभि २१औं सन्तान

अभि २१औं र सबैभन्दा कान्छो सन्तान हुन् । उनका बाबुले पाँच विवाह गरेका थिए । सबैबाट नौ छोरा र १२ छोरी भए । ‘तर, सबै दाइदिदीहरूलाई मैले देखिनँ । कति त मेरी आमाभन्दा धेरै नै जेठा थिए,’ अभि भन्छन्, ‘मैले अन्य आमाहरूलाई पनि देख्न पाइनँ । कोही खसिसक्नुभएको थियो । कोही माइती वा कतै हिँड्नुभयो होला ।’

पाँच भाइमध्ये अभिका बाबु काहिँला हुन् । तेह्रथुममा प्रशस्त जग्गा थियो । त्यसमाथि अभिका बाबु सुबेदार थिए । त्यतिबेला दार्जिलिङतिर भर्खर–भर्खर मोटरबाटो बन्दै थियो । पछि अभिका बाबुले मोटरबाटो बनाउने ठेक्कापट्टाको काम पनि गरे ।
उनकी आमापट्टी मात्रै सात सन्तान भए, चार छोरी र तीन छोरा । बिहे गरेपछि अभिका बाबु केही समय सुबेदार भएरै सीमा क्षेत्रमा बसे, तर अभि भने साब्लाको मूलघरमै जन्मेका हुन् । विडम्बना, अभि जन्मिएको चार महिनामै उनका बाबुको देहान्त भयो ।

नदेखेको बाबुको आकृति

अभिले बाबुको भौतिक शरीर मात्रै होइन, तस्बिर पनि देख्न पाएका थिएनन् । आजजस्तो तस्बिरको जमाना थिएन त्यो । तर, बडाहाकिमहरूसँग हिँड्दा–डुल्दाको बाबुको तस्बिर छ कि भन्ने अभिलाई परिरहन्थ्यो । आफ्नो सन्तानलाई बाबुको स्पष्ट अनुहार–चित्र देखाउन नपाउनुको पीडा कुन आमालाई नहोला ? सायद अभिकी आमालाई चित्र कोर्न आउँदो हो त उनी छोरालाई बाबुको चित्र कोरेर देखाउँथिन् ।

फेरि पनि उनले अभिको मस्तिष्कमा बाबुको एउटा आकृति कोरिदिन हरसम्भव प्रयास गरिन् । अभिका बाबु सुवेदार हुँदा बडाहाकिम डम्बरशमशेर थापाले एउटा खुम्च्याउन मिल्ने कुर्सी, एउटा ठूलो काँसको थाललगायत सामान दिएका थिए । अभि भन्छन्, ‘आमाले ती सामान देखाएर बाबुबारे सुनाउनुहुन्थ्यो ।’

आमाले बाबुबारे सुनाएका घटना र दृश्यलाई लिएर अभिको मस्तिष्कमा बाबुको काल्पनिक आकृति झुल्कँदै, बिलाउँदै गथ्र्यो ।
अभिकी आमा ८६ वर्ष लाग्दै थिइन्, अभि आमालाई भेट्न तेह्रथुमको घर गएका थिए । त्यहीबेला आमाले उनलाई बाबुको केही सम्झना देखाउँछु भनिन् । अभि भन्छन्, ‘आमा मेरोछेउ आएर ठूलै सुखद रहस्य खोल्न लागेजस्तो, महŒवपूर्ण सत्य उजागर गर्न लागेजस्तो, अझ भनौं बाबुको तस्बिरै देखाउन लागेजस्तो गर्नुभयो ।’

अभि अति उत्सुक थिए । तर, आमाले अभिलाई एउटा पुरानो कागत दिइन् । ऐतिहासिक रहस्य बोकेको जस्तो लाग्ने त्यो कागजलाई अभिले अभिरुचिपूर्ण पढे । जसमा ‘तहाँ उप्रान्त...’ जस्ता तीन–चार हरफ अक्षर मात्र थिए ।
आमाले भनिन्, ‘यी तेरा बाले लेखेका अक्षर हुन् ।’

अंग्रेजी शिक्षा

अभि हुर्कंदै गए, आमा दुविधामा परिन्, अभिलाई अंग्रेजी शिक्षा दिने कि पूर्वीय ? गाउँमा पण्डित कृष्णलाल अधिकारीले पूर्वीय शिक्षा पढाउँथे । सुरुमा अभिलाई त्यहीं पठाइन् । पछि खै के ठानिन् कुन्नि ? अंग्रेजी पढाइने स्कुल पठाइन् । अभि सम्झन्छन्, ‘आमा भन्नुहुन्थ्यो— अंग्रेजी पढेपछि भारतमा अंग्रेजहरू छन्, उनीहरूको प्यारो हुन्छ, काम गर्छ ।’

गाउँमा सिंह वाहिनी भन्ने सरकारी स्कुल थियो । त्यतिबेला लिम्बुवानमा क्रिस्चियन धर्म प्रचार गर्न भारतबाट मानिस आउँथे । उनीहरूले त्यो स्कुलमा अंग्रेजी पढाउँथे । अभि अंग्रेजी पढाउने शिक्षकका प्रिय शिष्य हुन पुगे । ८–९ कक्षासम्म पढ्दा त उनी अंग्रेजी भाषामा पोख्त भएर निस्के । अंग्रेजी उपन्यास नै पढ्ने भए ।

‘पछि त्यहाँ दक्षिण भारतबाट एकजना साधु आए । सायद त्यहाँ क्रिस्चियन धर्मको बढी नै प्रचार भयो भनेर होला । ती साधु आएपछि क्रिस्चियन धर्मको प्रचार गर्नेहरू त्यहाँबाट हिँडे,’ अभि भन्छन्, ‘तर, ती साधु पनि अंग्रेजी नै पढाउँथे । मलाई उनी आएपछि पनि अंग्रेजी बुझ्नका लागि सहज भयो ।’ यही आधारले उनले त्रिविबाट अंग्रेजीमा एमए गरे । विद्यावारिधि गर्न बेलायत गए ।

‘अक्षरसँग बाँच्नुभयो’

आमाले पुस्तक पढेको देखेर हुर्केका हुन् अभि । आमाले पढेका पुस्तकप्रति उनले सानैदेखि अभिरुचि देखाए । अभि भन्छन्, ‘मेरो पुस्तकप्रतिको लगाब देखेर आमा भन्नुहुन्थ्यो— यो छोरो ठूलो विद्वान हुन्छ ।’

अभि भाषाशास्त्रमा विद्यावारिधि गर्न बेलायत जाने भए । जानुअघि आमालाई भेट्न तेह्रथुमको घर गएका थिए । त्यतिबेला यी आमा–छोरा खुब रोए । अभि भन्छन्, ‘म त सानैदेखि रुन्चे थिएँ । आमासँग रोइरहन्थें । ठूलो भएपछि भने बेलायत पढ्न जाने बेला खुब रोएँ । सात समुद्रपारि जाने भइस् भनेर उहाँ रुनुभयो, म पनि रोएँ ।’

पुस्तकहरूले अभिकी आमालाई धार्मिक र आध्यामिक बनायो । तर, कट्टर धार्मिक होइन । अभि आमाको बुझाइ र बोधबारे भन्छन्, ‘आमाले यो बुझ्नुभएको भान हुन्थ्यो कि अध्यात्म भनेको जीवनलाई संघर्षशील बनाउने कुरा हो । उहाँले भन्नुहुन्थ्यो— कर्मको फल यही जीवनमा भोग्ने कुरा हो । त्यसैले सत्कर्म गर्नुपर्छ । उहाँले कसैप्रति दुराग्रह राखेको मलाई थाहा भएन ।’

अभिकी आमा सन्तान र अक्षरहरूसँगै लामो जीवन बाँचिन् । अभि जन्मँदा उनी त्यस्तै २९ की थिइन् । त्यही साल उनले पति गुमाइन् । अभि भन्छन्, ‘त्यसपछि सन्तानका माया, अक्षर र पतिका सम्झनामा बाँच्नुभयो मेरी आमा । उहाँ लामो जीवन बाँचेर ८६ वर्षको उमेरमा खस्नुभयो, ०५८ मा ।’
उनकी आमा धेरैजसो तेह्रथुम साब्ला बसिन् । अभि अध्ययन, जागिरका सिलसिलामा काठमाडौं बसे, बस्छन् । आमा काठमाडौं–तेह्रथुम आउजाउ गरिरहन्थिन् । अभिकी एउटी दिदीको घरबार बिग्रियो, त्यसपछि उनी आमासँगै बस्न थालिन्, उनैले आमाको हेरविचार गर्थिन् ।  
आमा ऊ जमानामा साक्षर थिइन् ।

तर, आफ्ना दिदीहरूले पुस्तक पढेको अभिले प्रायः देखेनन् । बिरामी भएको थाहा पाएर अभि आमालाई भेट्न तेह्रथुम गएका थिए । अभिकी दिदीले आमाछेउ बसेर कुनै किताब पढिरहेकी थिइन् । अभि भन्छन्, ‘दिदीले त्रुटिपूर्ण उच्चारण गरेपछि आमाले भन्नुभयो— ‘सिंह’ भन्न ‘सिंघ’ नभन, अशुद्ध भयो । त्यसको तीन–चार मिनेटमै उहाँले बित्नुभो ।’

 

प्रकाशित: १५ आश्विन २०७३ ०५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App