coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

९० करोडको कार्गो भवन बन्ने

कार्गो भवन शिलान्यास गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी। तस्बिर:नागरिक

भैरहवा - नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको कार्गो भवन निर्माण सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले कार्गो भवनको शिलन्यास गरी निर्माण कार्य सुरुवात गरेका हुन्।

करिब ८० हजार वर्गफिटमा बन्न लागेको उक्त भवन नेपालकै नमूना कार्गो भवनको रुपमा निर्माण गरिन लागेको हो। ९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँ लागतमा दुई वर्षभित्र अर्थात २०७७ कात्तिक १४ गतेभित्र सम्पन्न गर्ने गरी शर्मा–लुम्बिनी–गजुरमुखी जेभीसँग सम्झौता भएको विमानस्थल आयोजनाले जनाएको छ। भवन निर्माणका लागि नेपालकै ‘क’ वर्गका निर्माण कम्पनीहरुले ठेक्का लिएकाले तोकिएको समयअघि नै निर्माण सम्पन्न हुने मन्त्री अधिकारीले दाबी गरे। हामीले निर्माण व्यवसायीलाई दुई वर्षको समय दिएको भए पनि म्याद अवधिभन्दा पहिले सम्पन्न हुने उनले बताए। करिब २० महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिएको बताए।

‘निर्माण कम्पनीले १८ महिनामा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘हामीले दुई महिना थप गरेर समायवधिभन्दा चार महिना पहिले निर्माण गरी हस्तान्तरण गर्न भनेका छौं।’ समयभन्दा पहिले नै निर्माण सम्पन्न गरेमा निर्माण कम्पनीहरुलाई बोनसको समेत व्यवस्था मन्त्रालयले गर्ने मन्त्री अधिकारीले घोषणा गरे।कार्गो भवन सञ्चालनमा नआउँदासम्म तत्कालका लागि पुरानै विमानस्थलमा रहेको कार्गो भवनबाट काम सञ्चालन हुने छ। हाल निर्माण हुन लागेको कार्गो भवनले  विमानस्थल सञ्चालनमा कुनै अवरोध नपुर्‍याउने उनले बताए।

नागरिक उड्डयन प्राधिकरणकै लगानीमा निर्माण हुन लागेको यस भवनले यस क्षेत्रका उद्योगको विकासका सहयोग पुग्ने उनले बताए। साथै पर्यटनमा समेत महत्वपूर्ण भूमिका खेल्ने आयोजनाको भनाइ छ। नेपालमा ६० वर्षपछि बन्न लागेको यो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अगस्त महिनासम्म तयार भए पनि सेप्टेम्बर महिनामा सञ्चालनमा ल्याउने योजना अनुसार निर्माण कार्य जारी रहेको उनले जानकारी गराए।

‘अहिले मुख्य संरचनामा बढी ध्यान दिएका छौं, विमानस्थलको सबै काम समानन्तर रुपमा अगाडि बढेको छ,’ उनले भने, ‘यही हिसाबले काम जारी रहे समयमै विमानस्थल सञ्चालनमा आउनेछ।’ आंशिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउँदा सानातिना काम मात्र बाँकी रहने र ती काम पनि केही महिनाभित्रै सम्पन्न गरी विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ। हालसम्म विमानस्थलको एपरोन (विमान पार्किङ)को काम सम्पन्न भइसकेको छ। त्यस्तै विमानस्थलको टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, विद्युत् सबस्टेसन, अग्नि नियन्त्रक कक्ष, पानी ट्यांकी, सुरक्षाकर्मीको आवास गृहको काम, ट्याक्सी वे लगायत काम समानान्तररुपमा भइरहेकाले चार महिनामा अधिकतम काम सम्पन्न हुने आयोजनाले जनाएको छ।

भौतिक कामसँगै प्राविधिक कामहरु पनि भइरहेका छन् भने केही प्रक्रियामा छन्। एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरण आयात तथा जडान प्रक्रियाका लागि बोलपत्र तथा अन्य प्रक्रियागत कामलाई तीव्रता दिइएको छ। आवश्यक उपकरण अन्तर्रााष्ट्रिय बोलपत्र आह्वान (आइसिपी) प्रक्रियाबाट खरिद गर्नुपर्ने भएकाले प्रकिया भइरहेको छ।

६१ प्रतिशतले पाए मुअब्जा
आयोजनाका अनुसार कुल दुई हजार दुई सय घर परिवारलाई मुआब्जा उपलब्ध गराउनुपर्नेमा अहिले ६१ प्रतिशत अर्थात एक हजार तीन सय ५० घरपरिवारलाई मात्र सरकारले मुआब्जा उपलब्ध गराएको छ। करिब २२ अर्ब वितरण गर्नुपर्ने मुआब्जा हालसम्म १३ अर्ब रुपैयाँ मात्र वितरण भएको छ। मुआब्जाका लागि बाँकी रकम चालुआर्थिक वर्षमा वितरण गर्ने लक्ष्य सरकारले लिए पनि आठ अर्ब रुपैयाँ निकासा हुन बाँकी छ। सरकारले एकैपटक मुआब्जा रकम उपलब्ध गराउन नसक्दा कामको प्राथमिकतालाई हेर्दै मुआब्जा वितरण भइरहेको छ । मुआब्जा वितरणका लागि डेढ महिनाभित्र पर्याप्त रकम आउने हुँदा समयमै मुआब्जा वितरण हुनेमा स्थानीयलाई मन्त्री अधिकारीले विश्वस्त पारे।

दुई अर्ब खर्च, दुई पटक म्याद थप
विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ। आयोजनाको कूल लागत मूल्य अभिवृद्धि करसहित ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा सम्झौता भई काम सुरु भएको भए पनि हालसम्म करिब ४० प्रतिशत अर्थात दुई अर्ब २६ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ।

सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानास्थलको अहिलेसम्म दुई पटक म्याद थप भइसकेको छ। सन् २०१८ को जुन १५ सम्म सम्पन्न गर्ने लक्ष्यसहित पहिलो पटक म्याद थपिएको उक्त आयोजना निर्धारित समयमा पूरा हुन नसक्दा पुनः म्याद थप गरी सन् २०१९ को जुन २८ सम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम अगाडि बढाइएको छ।

एडिबीको ५४ करोड अनुदान र चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोगमा सम्पन्न हुन लागेको विमानस्थल निर्माण भएपछि सरकारले लक्ष्य लिएको पर्यटन वर्ष २०२० लाई सघाउने छ। यसका अतिरिक्त विभानस्थल निर्माणले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक सोझै आउन सक्ने वातावरण बन्ने छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने विमानको चाप घटाएर विकल्पमा यो विमानस्थल प्रयोग गर्न सकिनेछ।

प्रकाशित: १८ पुस २०७५ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App