coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मूल्य नपाउँदा उखु किसान मर्कामा

शिवराज नगरपालिका–७ मा रहेको गणपति गुड उद्योग। तस्बिर: नागरिक

कपिलवस्तु - सरकारले तोकेको मूल्य नपाउँदा कपिलवस्तुका उखु किसानहरु मर्कामा परेका छन्। जिल्लाको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिल दुई वर्षअघि सर्लाहीमा स्थानान्तरण गरिएपछि उखु किसान निकै सस्तोमा उखु बेच्न बाध्य भएका हुन्।

सरकारले प्रतिक्विन्टल पाँच सय १८ रुपैयाँ मूल्य तोके पनि उखु किसानहरु त्यसभन्दा निकै कम मूल्यमा बेच्ने गरेको उखु किसान बताउँछन्। चिनी मिल सारिएपछि जिल्लामा रहेका क्रसर उद्योगले मनपरी मूल्यमा उखु किन्ने गरेका छन्। जिल्ला उखु किसान संघका अनुसार जिल्लामा तीन सयभन्दा बढी सखर उद्योग सञ्चालनमा छन्। उखु बिक्री गर्न बजारको समस्या भएपछि केही किसानले सखर उद्योगमा भेली बनाउन दिएका छन् भने कतिपय आफैंले सखर उद्योग स्थापना गरी भेली बनाउन थालेका छन्।

सरकारले मूल्य तोके पनि व्यवहारमा कार्यान्वयन नहुने उखु किसान रामप्रकाश चौधरीले बताए। ‘पहिला चिनी मिल थियो र बेच्न सजिलो थियो,’ उनले भने, ‘अहिले उखु बिक्री नै हुँदैन कि भन्ने डरले जति पैसा दिए पनि सखर उद्योगलाई दिन बाध्य छौं।’ उखु नबेचे खेतमै सुक्ने र लगानीसमेत डुब्ने भएकाले अधिकांश किसान सखर उद्योगले तोकेको मूल्यमै उखु बिक्री गर्न बाध्य रहेको उनले सुनाए। जिल्लाकोे पश्चिमी दक्षिण क्षेत्रमा सुक्खा क्षेत्र रहेकाले अधिकांश किसानले उखुखेती गर्दै आएका थिए।

मिल स्थानान्तरणपछि कपिलवस्तुको शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका लगायत क्षेत्रका उखु किसानले सखर उत्पादन गर्न थालेका छन्। अन्य आम्दानी नभएका किसानले उखुखेती गरेर दुई वर्षदेखि वैकल्पिक उपाय अँगाल्न बाध्य भएका हुन्। शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन गुड उद्योगले चार सयमा प्रतिक्विन्टल खरिद गरिरहेको जनाएको छ। सुगर मिल स्थानान्तरण भएसँगै सखर (भेली) गुड उद्योगरु भने फस्टाएका छन्।

कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले उखु खेतीबाटै बर्सेनि जीविकोपार्जन गर्दै आएका किसान मिल विस्थापित भएपछि समस्यामा परेकोे बताए। गुड उद्योगले मनपरी रुपमा उखुको मूल्य तोकेर दिइरहेको अध्यक्ष चौधरीले बताए। उनले भने, ‘गुड उद्योगले मनपरि ढंगबाट उखु किनिरहेका छन्, यसले गर्दा किसानले उखुखेती गर्न छाडेका छन्।’

कपिलवस्तुको कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा झन्डै एक सय ५० गुड उद्योग रहेका छन््। कृषि ज्ञान केन्द्र अनुसार दुई वर्षअघिसम्म पाँच हजार बढी हेक्टरमा उखु खेती गरिन्थ्यो भने अहिले उखुखेती घट्दै गएको केन्द्रले जनाएको छ।

प्रशासन कार्यालय कपिलवस्तुले उखु किसानले कम मूल्यमा खरिद गरेका गुड उद्योगबारे जानकारी दिए कारबाही गर्ने जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले नेपाल सरकारले तोकेको उखुको मूल्य किसानले पाउनुपर्ने बताए। उखु किसान आफैं सजग भएर सरकारले तोकेको रकमभन्दा नघटाएर उखु बेच्नुपर्ने उनले बताए। ‘उद्योगले कम मूल्यमा खरिद गरेको भेटिए कारबाही गर्नेछौं,’ उनले भने।  

स्थानीय निकायमा दर्ता छैनन् गुड उद्योग
लाखौ करोडौंको कारोबार गर्ने गुड उद्योगहरु स्थानीय निकायमा दर्ता गरिएका छैनन्। कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका करिब डेढ सय गुड उद्योग स्थानीय निकायमा कार्यालयमा दर्ता नभएको पाइएको छ। स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र रहेका उद्योगलाई व्यवस्थापन गर्ने जिम्मा भए पनि शिवराज नगरपालिकामा रहेका गुड उद्योगको संख्यासमेत नगरपालिकालाई जानकारी छैन।
‘नगरभित्रका उद्योगलाई दर्ता गराउन हामीले सूचना जारी गरेका छौं,’ शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले भने। विजयनगर गाउँपालिकाले पनि सबै उद्योगलाई दर्ताका लागि पत्र पठाइसकेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले जानकारी दिए।

प्रकाशित: १८ पुस २०७५ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App