coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अझै रोकिएन नदीजन्य पदार्थ दोहन

गोदावरी नदीमा अवैध रुपमा सञ्चालन गरेको घुम्ती क्रसर उद्योग । तस्बिर:पुष्पराज÷नागरिक

कैलाली - गोदावरी नगरपालिकाका जनप्रतिनिधिको आडमा ठेकेदारहरुले गोदावरी नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नुका साथै खोलामै घुम्ती क्रसर उद्योग सञ्चालनमा ल्याएका छन्। एक महिनादेखि नदीमै घुम्ती क्रसर उद्योग सञ्चालन गरेर उत्खनन गर्न थालेपछि स्थानीयले विरोध गरे पनि जनप्रतिधि भने मौन छन्। जनप्रतिनिधिको मौनताले स्थानीय भने निराश छन्।

एक महिनादेखि गोदावरी नदीमै घुम्ती क्रसर उद्योग स्थापना गरेर नदीजन्य पदार्थ उत्खनन भइरहँदा स्थानीय बर्खायाममा नदी कटानको जोखिममा पर्ने भन्दै स्थानीयले त्यसको विरोध गरेका हुन्। जनप्रतिनिधि भने ठेकेदार पक्षकै पक्षपोषणमा छन्। ‘यसरी जथाभावी खोलामै स्काभेटर लगाएर नदीजन्य पदार्थ निकाल्दा भोलि गाउँ नै जोखिममा छ,’ तेघरीका हरि भट्टराईले भने, ‘स्काभेटरसँगै खोलामै घुम्ती क्रसर उद्योग पनि स्थापनाले झनै जोखिममा छौं हामी।’

नदीमै घुम्ती क्रसर उद्योग स्थापना गर्न नपाइने भए पनि जनप्रतिनिधिको आडमा नदीजन्य पदार्थ निकासी गर्ने ठेकेदारले खोलामै घुम्ती क्रसर उद्योग स्थापना गरेको उनी बताउँछन्। ‘क्रसर उद्योग हटाउनुपर्छ भन्दा उल्टै हामीलाई धम्क्याइन्छ,’ उनले भने, ‘जनप्रतिनिधिको आड भरोसामै ठेकेदार तथा उनका कर्मचारीले हामीलाई नै धम्क्याउँछन्।’

आफूहरुले नदीमै अवैध रुपमा क्रसर सञ्चालन नगर्न भने पनि कसैले नसुनेको बताउँदै नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘हामीले विरोध गर्दै नगरपालिका पनि घेराउ गर्‍यौं। तर, जनप्रतिनिधिले कानै सुनेनन्।’ वडा कार्यालय, गोदावरी नगरपालिका, इलाका वन कार्यालय, जिल्लास्थित वन डिभिजन कार्यालय, वन मन्त्रालय लगायतका स्थानमा गुहार्दा समेत कुनै प्रतिक्रिया नपाएको उनको गुनासो छ। खोलामै घुम्ती क्रसर सञ्चालनमा ल्याएर अवैध रुपमा नदीजन्य पदार्थ निकासी गर्दा भोलिका दिनमा बाढी तथा कटानको जोखिम बढ्ने हो कि भन्ने चिन्ता लाग्न थालेको उनी बताउँछन्।

‘हामी खोला किनारमै बस्दै आएका छौं,’ उनले भने,‘यसरी धमाधम खोलामै ढुंगा बालुवा उत्खनन गर्दा भोलि नदी बस्ती पसेर सखाप पार्ने त हैन भन्ने चिन्ता लाग्न थालेको छ।’ खोलामै स्काभेटर प्रयोग गरेर ठूलठूला खाल्डा खनेर ढुंगा, बालुवा निकालिरहेको उनले बताए। ठूला खाडलले वर्षा यामको बाढीले धार परिवर्तन गर्ने र खमौरा गाउँ जोमिमा पर्न सक्ने उनी बताउँछन्। ‘खोलामै खनिएका ठूला खाडलले वर्षायाममा नदीले धार परिवर्तन गर्दा खमौरा गाउँको माथिल्लो बस्ती पूर्ण जोखिममा छ,’ उनले भने, ‘समयमै नदीजन्य पदार्थ उत्खननमा रोक लगाउन नसके खमौरा गाउँ गोदावरी नदीको उच्च जोखिममा छ।’ आफूले सुरुदेखि नै नदीजन्य पदार्थ उत्खननमा विरोध गर्दै आए पनि कसैले नसुनेको तेघरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदनराज शर्माले बताए। उनले भने, ‘नगरपालिकामा पटक पटक कुरा राख्यौं। जनप्रतिनिधिले कुरै सुनेनन्।’ खोलामै घुम्ती क्रसर  राखेर नदीजन्य पदार्थ उत्खनन गर्दा तेघरी गाउँ उच्च जोखिममा रहेको उनी बताउँछन्।

वडा कार्यालयलाई कुनै जानकारी नै नदिई वडा कार्यालयको सीमामा रहेको गोदावरी नदीबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको  गोदावरी नगरपालिका–२ का वडाध्यक्ष कृष्णराज जोशीले बताए। उनले भने, ‘नदीजन्य पदार्थ उत्खनन सम्बन्धी मलाई केही थाहा छैन। हामीसँग कसैले पनि सम्पर्क तथा समन्वय गरेकै छैन।’ उनले वडा कार्यालयको समन्वयबिनै नदीबाट नदीजन्य पदार्थ उत्खनन गरी घुम्ती क्रसर सञ्चालन गरेको बताए। ‘हामीले यसरी घुम्ती क्रसर किन राखेको भनेर सञ्चालकलाई प्रश्न सोध्यौं,’ अध्यक्ष जोशीले भने, ‘क्रसर सञ्चालकले मन्त्रालय र नगरपालिकाबाट पत्र ल्याएर सञ्चालन गरेको भनेपछि हामी नाजवाफ भएका हौं।’

उनले खोलामै घुम्ती क्रसर सञ्चालन गर्न पाउने र स्काभेटर प्रयोग गर्न पाउने नपाउनेबारे आफूलाई कुनै जानकारी नै नभएको बताए। गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले गोदावरी नदीमा घुम्ती क्रसर राख्न नपाउने बताए। उनले भने, ‘ढुंगा, गिट्टी तथा बालुवा संकलनका लागि ठेक्का दिए पनि खोलामै क्रसर राख्न भने अनुमति दिएका छैनौ।’

तर, नगरपालिकाबाट वार्षिक एक करोड २० लाख रुपैयाँमा गोदावरी नदीबाट नदीजन्य पदार्थ निकासी गर्न अनुमति लिएको स्वार कन्स्ट्रक्सनका प्रोप्राइटर भीम साउँदले प्रतिघनमिटर ८४ रुपैयाँ ७८ पैसाका दरले नदीजन्य पदार्थ नागार्जुन कम्पनीलाई बेचिरहेको बताए। उनले भने, ‘हामीले त सिधै नागार्जुन कम्पनीलाई नदीजन्य पदार्थ बेचिरहेको छौं। उसले कहाँ क्रसर राख्यो त्यो हाम्रो सरोकारको विषय हैन।’ नागार्जुन कम्पनीका प्रमुख ईश्वरी भट्टले भने आफूले सडक विभागबाट खोलामै घुम्ती क्रसर राख्न भनि अनुमति लिएको बताए पनि कागजात देखाउन मानेनन्।
घुम्ती क्रसर राखेको स्थल बर्खायाममा गोदावरी नदीको पानी बहाव हुने स्थल रहेको सरकारी जंगलमा रहेको छ। ‘जबकी सरकारी जंगल रहेको जमिनमा क्रसर सञ्चालन गर्न कसैले पनि अनुमति नै दिएको छैन,’ एक स्थानीयले भने, ‘जबरजस्ती सरकारी जमिनमै घुम्ती क्रसर राखिएको छ।’ यस विषयमा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदलाई टेलिफोनमार्फत् बुझ्दा उनले उल्टै नागरिक संवाददातालाई थर्काउन खोजे। ‘तपाईं आफैं त्यही गएर सोध्नुस् न,’ मेयर साउँदले नागरिक संवाददातालाई भने, ‘वाहियात कुरा नगर्नुस्। यस विषयमा म केही बोल्दैन।’ नगरपालिकाकी उप–मेयर रत्ना कठायतले नियमविपरीत काम भए तुरुन्तै सच्चाएर घुम्ती क्रसर बन्द गर्ने बताइन्। उनले भनिन्, ‘मैले यस विषयमा पटक–पटक मेयरसापलाई भनेकी छु, खै के मा अल्झिरहेको छ थाहै भएन।’

खोलामै क्रसर उद्योग राखेर नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने वन डिभिजन कार्यालय धनगढी प्रमुख अमरबहादुर बुलनले बताए। उनले भने, ‘मैले आफैं गएर नदीमै  घुम्ती क्रसर राखेको देखें, त्यसको सम्पूर्ण कागजात मागेको एक हप्ता भइसक्यो अझै ल्याइएको छैन।’ उनले पत्रकारलाई घुम्ती क्रसरको समाचार लेखेर आफूहरुलाई नियमनबारे सहजता गराइदिन समेत आग्रह गरे। ‘पत्रकारज्यूहरुले घुम्ती क्रसरबारे लेखिदिनु पर्‍यो, त्यसले गर्दा हामीलाई पनि काम गर्न सहज हुन्छ,’ उनले भने, ‘स्थानीय तहले बलमिच्याइँ गरेकै कारण हामीलाई घुम्ती क्रसर हटाउन समस्या भइरहेको छ।’

उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव मेघनाथ काफ्लेले गोदावरी नदीमा राखिएको घुम्ती क्रसर अवैध भएको बताए। उनले भने, ‘प्रदेश सरकारको कार्यविधि नबनेको समयमा संघकै नियमानुसार त्यहाँ घुम्ती क्रसर राख्न मापदण्ड नै पुग्दैन।’ उनले गोदावरी नदीमै घुम्ती क्रसर सञ्चालन गर्नेहरु कानुनी कारबाहीमा पर्ने बताए।

प्रकाशित: १८ पुस २०७५ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App