coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फुटबलको फ्रेन्चाइज लिग हुने

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदेशस्तरीय फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रादेशिक अवधारणाअनुसार एन्फाको तत्वावधानमा सात प्रदेशका फ्रेन्चाइज टोली तयार पारी नेपाल सुपर लिग फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगिता सञ्चालन गर्न एन्फा र नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्टबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भयो। सम्झौतापत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाल स्पोटर्स एन्ड इभेन्ट म्योनजमेन्टका अध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरे।

फ्रेन्चाइज अवधारणामा हुन लागेको प्रतियोगिताले देशभित्र छरिएर रहेका प्रतिभावान् खेलाडीलाई समेट्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए। ‘फ्रेन्चाइज लिगले फुटबल विकास गर्ने अपेक्षा रहेको छ। अंग्रेजी नयाँ वर्षको यो सम्झौताले फुटबलमा नयाँ आयाम थपिनेछ।

सँगै तल्लो तहबाट नै फुटबल खेलाडी उत्पादन गर्नमा यो प्रतियोगिताले सहयोग पुर्याउने अपेक्षा छ,’ अध्यक्ष शेर्पाले भने, ‘प्रादेशिक संरचनासँगै फुटबल विकासका लागि स्कुल लिगको अवधारणा पनि अगाडि आएको छ। नयाँ शैक्षिक सत्रबाट स्कुलस्तरीय लिगको सुरुआत हुनेछ। ३ सय स्कुलबाट सुरु हुने यो लिगबाट करिब ३० देखि ४० नयाँ प्रतिभावान् खेलाडी जन्मने अपेक्षा छ। जसले गर्दा उमेरसमूहका खेलाडीको उदय हुनेछ।’

नेपाली फुटबल विकासका लागि नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्ट नयाँ पार्टनरका रूपमा आएको अध्यक्ष शेर्पाले थपे। ‘प्रतियोगिता आयोजनाका लागि सैद्धान्तिक सम्झौता आज भएको छ। यद्यपि यसमा आवश्यक पर्ने आर्थिक पाटा र प्राविधिक पक्ष आउने दिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौं,’ अध्यक्ष शेर्पाले थपे। फुटबल विकासका लागि एन्फासँग हातेमालो गरेको नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्टका अध्यक्ष निर्वाण चौधरीले बताए।

‘जसरी १५ वर्षअगाडि हातेमालो गर्दै क्रिकेट विकासमा सहयोग पुर्याएका थियौं, त्यसरी नै फुटबलको पनि विकास गर्न चाहन्छौं,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका अध्यक्ष चौधरीले भने, ‘हाम्रो उद्देश्य एन्फासँग सहकार्य गरेर समाजमा लुकेका प्रतिभावान् खेलाडीलाई उजागर गर्ने हो, फुटबल विकासमा टेवा पुर्याउने हो।’

पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज प्रतियोगिताका लागि लिगमा खेलेका १४ क्लबका १ सय ४० खेलाडीलाई सात प्रदेशमा बाँडिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। ७ प्रदेशका टिमलाई सिंगल राउन्ड रोबिन लिग प्रणालीअनुसार पायक पर्ने न्यूनतम भौतिक पूर्वाधार भएको प्रदेशमा प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा २१ खेल र चार प्लेअफ गरी जम्मा २५ खेल सञ्चालन हुनेछन्।

प्रकाशित: १८ पुस २०७५ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App