coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विभागीय डर्बीमा पुलिसविरुद्ध एपिएफको फराकिलाे जित

फाइल फाेटाे

काठमाडौं – विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–१ ले पराजित गर्दै एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिकामा मंगलबार दुई स्थान सुधार गरेको छ।

लिगमा छैटौं जित हात पारेको एपिएफ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। १२ खेल खेलेको एपिएफको २० अंक  छ। पराजित  पुलिसको १८ अंक छ। जारी लिगमा चौथो हार भोगेको पुलिस तालिकाको पाँचाैं स्थानमा झरेको छ।

हलचोकस्थित आफ्नै क्लबको मैदानमा भएको खेलमा पाहुना टोली पुलिसलाई हराएसँगै यसअघि आर्मीलाई पराजित गरेको एपिएफ विभागीयमध्येमा बलियो साबित भएको छ। एपिएफले यसअघि आर्मीसँग भएको खेलमा २–१ को रोमाञ्चक जित हात पारेको थियो।

एक खेल बाँकी रहँदा शीर्ष पाँचभित्र अटाउन संघर्ष गरेको एपिएफले घरेलु मैदानको फाइदा उठायोे। एपिएफले पुलिसलाई खेलको सुरुआतदेखि नै दबाबमा राखेको थियो।  एपिएफले २०औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। राजेन्द्र रावलले टोलीका लागि पहिलो गोल गरे। पेनाल्टी बक्सभन्दा बाहिरबाटर गरेको सशक्त प्रहारले जाली चुम्यो। त्यसको आठ मिनेटपछि  हरि कार्कीले गोल गर्दै अग्रता दोब्बर पारे। श्यामकुमार नेपालीले हानेको बललाई हरिले चिप गर्दै गोलको दिशा दिएका थिए।

एक खेल बाँकी रहँदा शीर्ष पाँचभित्र अटाउन संघर्ष गरेको एपिएफले घरेलु मैदानको फाइदा उठायोे।

एकपछि अर्को काउन्टरको प्रयास गरेको एपिएफका लागि ४३औं मिनेटमा युवराज खड्काले तेस्रो गोल गरे। सुदीप शिख्राकारको फ्रिकिकलाई युवराजले हेडमार्फत जाली चुमाएका थिए। ३ गोलले पछि परे पनि खेलमा फर्कन प्रयास गरेको पुलिसले पहिलो हाफको इन्जुरी समयमा अजित भण्डारीको गोलबाट अग्रता छोट्यायो। पहिलो हाफमा पाएको अग्रतापछि उच्च मनोबलका साथ दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको एपिएफले थप एक गोल गर्न सफल भयो।

८४औं मिनेटमा युवराजले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बढाए। अग्रता कम बनाउन दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि पुलिसले एपिएफको बलियो रक्षापंक्तिलाई चिर्न सकेन। उल्टै गोल गर्दै अन्तर फराकिलो पार्दा विभागीय प्रतिद्वन्द्वीसँग पुलिस स्तब्ध बन्न पुगेको हो।

यस्तै मंगलाबारै सम्पन्न अर्को खेलमा अग्रता उल्टाउँदै सरस्वती युथ क्लबले बलियो मानिएको च्यासल युथमाथि २–१ को रोमाञ्चक जित हात पार्यो। एन्फा मुख्यालयमा भएको खेलमा सरस्वतीले अन्तिम पाँच मिनेट र इन्जुरी समयमा गोल गर्दै जारी लिगमा चौथो जित दर्ता गर्यो। १४औं मिनेटमा सजिन थापामगरको गोलबाट अग्रता लिएको च्यासलले अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा अंक गुमाउन पुग्यो।

अग्रतापछि सम्मानजनक स्थानका लागि रक्षात्मक बनेको च्यासलले सरस्वतीको काउन्टरलाई रोक्न सकेन। ८६औं मिनेटमा मनीष थापाले सरस्वतीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। थपिएको पाँच मिनेटमा विदेशी खेलाडी फ्रान्सिस ओनियमाले गोल गर्दै सरस्वतीको अग्रता उल्ट्याए। बाँकी समयमा गोल फर्काउन संघर्ष गरे पनि च्यासल असफल रह्यो।

जितपछि १२ खेलबाट १३ अंकका साथ सरस्वती दुई स्थान सुधार गर्दै तालिकाको नवौं स्थानमा उक्लेको छ। समान खेलबाट १५ अंक रहेको च्यासल आठौं स्थानमा यथावत् छ।

लिगमा बुधबार दुई खेल हुनेछन्। एन्फा मुख्यालयमा हुने खेलमा संकटाले थ्री स्टारको सामना गर्नेछ। खेलमा संकटा उपविजेता बन्ने दाउमा थ्री स्टारविरुद्ध मैदान उत्रँदै छ। थ्री स्टार पनि शीर्ष तीनभित्र अटाउने उद्देश्यका साथ जितको खोजीमा मैदान उत्रिनेछ। यस्तै अर्को खेलमा दुई खेलअगावै उपाधि पक्का गरेको शीर्ष स्थानको मनाङसँग हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछ। ११औं चरणसम्म स्पष्ट जित निकालेको मनाङ १२औं चरणको खेलमा पनि जित निकाल्ने उद्देश्यका साथ मैदान उत्रिनेछ भने हिमालयन शेर्पा शीर्ष पाँचभित्र पर्न जित्नैपर्ने दबाबका साथ मैदान प्रवेश गर्नेछ।

आजका खेल
संकटाविरुद्ध थ्री स्टार – दिनको २ः३० बजे (एन्फा मुख्यालय)
हिमालयन शेर्पाविरुद्ध मनाङ मर्स्याङ्दी – दिनको २ः३० बजे (हलचोक)

प्रकाशित: १८ पुस २०७५ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App