८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

निःशस्त्रीकरणको बाटो परिवर्तन गर्ने चेतावनी

नयाँ वर्षको उपलक्ष्यमा मंगलबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन। तस्बिर: एजेन्सी

सोल – कोरियाली प्रायःद्वीपबाट परमाणु अस्त्र निःशस्त्रीकरण गर्न आफू प्रतिबद्ध रहे पनि अमेरिकाले प्योङयाङविरुद्ध नाकाबन्दी कायम राखे सो बाटो परिवर्तन गर्ने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले चेतावनी दिएका छन्।

विश्वभरबाट चासोका साथ हेरिएको किमको नयाँ वर्षको शुभकामना सन्देशमा उनले यस्तो चेतावनी दिएका हुन्। नेता किमले अघिल्लो वर्ष नयाँ वर्षकै शुभकामना सन्देशमा दिएको अभिव्यक्तिले उत्तर कोरियालाई दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँग कूटनीतिक बाटोतर्फ डोहोर्‍याएको थियो। इतिहासमै पहिलो पटक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच गत वर्षको जुन १२ का दिन एसियाली राष्ट्र सिंगापुरमा शिखर बैठक भएको थियो। सो बैठकका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नेबारे सहमति भएको थियो। यद्यपि सो सहमतिले तात्विक नतिजा भने निकाल्न सकेको छैन।

अमेरिकी भूभागसम्म पुग्ने क्षमताका उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण गरिएका घटना तथा प्योङयाङ र वासिङ्टनबीच भनाभनयुक्त वर्ष सन् २०१७ पछि सन् २०१८ को पहिलोदिन उत्तर कोरियाली नेता किमले नयाँ भनाइ सार्वजनिक गरेका थिए। कम्युनिस्ट मुलुकका उत्तर कोरियाका संस्थापक तथा उनका हजुरबुवा किम इल–सङको परम्परा कायम राख्दै किम जोङ–उनले नयाँ वर्षका दिन महत्वपूर्ण घोषणा गर्ने गरेका छन्। सोही परम्पराकै आधारमा वर्ष सन् २०१७ भर अमेरिका र उत्तर कोरियाबीच तिक्ततापूर्ण सम्बन्ध भए पनि सन् २०१८ को पहिलो दिन किमले नयाँ सम्बन्धको आधार घोषणा गरेका थिए।

सर्वोच्च नेताको सम्बोधन विशेषतः उत्तर कोरियाली नागरिकलाई लक्षित गरेर अर्थतन्त्रबारे कुराकानी गर्ने उद्देश्यसहित गरिएको हुने भए पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले उनका भनाइका हरेक लाइनमा प्योङयाङको अन्तर्राष्ट्रिय अजेन्डाको भेउ खोज्ने गरेका छन्। मंगलबार बिहानै राज्य नियन्त्रित टेलिभिजनमा प्रसारण गरिएको यस वर्षको सम्बोधनमा नेता किमले भने, ‘यदि अमेरिकाले सारा संसारसामु व्यक्त गरेको आफ्नो प्रतिबद्धता कायम राख्दैन र हामीमाथि नाकाबन्दी र दबाव जारी राख्छ भने हाम्रो सार्वभौमसत्ता र हाम्रो स्वार्थ सुरक्षार्थ नयाँ बाटो लिनुको विकल्प छैन।’

‘किमको सम्बोधनको अर्थ उत्तर कोरिया सन् २०१९ मा अमेरिकाले केही गरोस् भन्ने चाहन्छ अन्यथा अहिले रोकिएको आणविक हतियार परीक्षणको समय समाप्त हुन सक्छ,’ दक्षिण कोरियामा रहेकी बिबिसीकी संवाददाता लोरा बिकरले बताएकी छन्। प्रतिबन्धित आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण उत्तर कोरियाले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को विभिन्न प्रकारको नाकाबन्दी झेल्दै आएको छ। ‘उत्तर कोरियाले आणविक हतियार उत्पादन, प्रयोग र प्रसार नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ र त्यसो हुन नदिन ठोस कदम कार्यान्वयन पनि गरेको छ,’ सम्बोधनमा नेता किमले बताए। उनले आफू कुनै पनि समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न तयार रहेको पनि बताएका छन्। ‘नेता किमको मंगलबारको सम्बोधन धेरैले अपेक्षा गरेजस्तै लवजको थियो,’ एनके न्युजका ओलिभर होथमले बिबिसीलाई बताए। ‘देशका मुख्य मुद्दाहरूमा अडान, अमेरिकाप्रति मेलमिलापमुखी तर दृढ सन्देश र सोलप्रति परस्परको सहयोगको सम्भावनासहितको नेता किमको भाषण थियो,’ ओलिभरलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: १८ पुस २०७५ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App