coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेनाले एयरक्राफ्टको संख्या दोब्बर पार्दै

काठमाडौ - नेपाली सेनाले हवाइ सेवा निर्देशनालय अन्तर्गत एयरक्राफ्टको संख्यामा हालको भन्दा दोब्बर गर्ने भएको छ। दीर्घकालीन हवाई योजना अन्तर्गत वि.सं.२०८२ सम्म एयरक्राफ्टको संख्या ३१ पुर्‍याउने लक्ष्य राखिएको सेनाको हवाई सेना निर्देशनालयले जनाएको हो। सेनाले हाल रहेका १४ वटा एयरक्राफ्टबाट वृद्धि गरेर उक्त संख्या पुर्‍याउन लागेको छ।

दीर्घकालीन हवाई योजना अन्तर्गत सेनाले मध्य एयर बेसमा १३, भिभिआईपी उडान सेवामा चार, पश्चिम एयर बेसमा ८, पूर्वी एयर बेसमा चार र एभिएसन तालिम केन्द्रमा दुई गरी एयरक्राफ्को संख्या ३१ पुर्‍याइने जनाएको छ। सेनाको दीर्घकालीन हवाई योजनमा मध्य एयर बेस तथा विशिष्ट उडान सेवा काठमाडौमा राखिने जनाइएको छ। मध्य एयर बेसलाई मुख्य एयर बेसका रूपमा छिटो, सरल र भरपर्दाे तरकाले देशको सम्पूर्ण भूभागलाई समेट्ने गरी तयार पार्ने कार्ययोजना पेस गरिसकेको सेनाले जनाएको छ।

यसले प्रदेश ३, गण्डकी प्रदेश तथा प्रदेश ५ समेट्ने छ। पर्वी एयर बेस विराटनगरमा स्थापना गरिने र यसले प्रदेश नम्बर १ र २ लाई समेटने सेनाले जनाएको छ। त्यस्तै पश्चिम एयर बेस कणार्ली प्रदेशको राजधानी सुर्खेतमा राखिने छ। त्यसले कणाली र सुदूरपश्चिम प्रदेशलाई समेटने छ। सुर्खेतमा पश्चिम एयर बेससँगै हवाई तालिम केन्द्र पनि राखिने छ। हाल नेपाली सेनासँग दुईवटा हवाई जहाज तथा १२ हेलिकोप्टर सहित १४ वटा एयरक्राफ्ट रहेका छन्। त्यसमध्य सातवटा लाइट, एउटा मिडिएम तथा चारवटा हेवी हेलिकोप्टर रहेका छन्। त्यस्तै दुईवटा स्काई ट्रक रहेका छन्। सेनाले हाल आठ वटा हेलिकोप्टर खरिद प्रक्रियामा रहेको जनाएको छ। त्यसमध्ये लाइट हेलिकोप्टर बेल एउटा, मिडिएम हेलिकोप्टर अगस्ता दुईवटा र एम आई–१७ दुईवटा खरिद प्रक्रियामा रहेका छन्। मिडिएम एयरक्राफ्ट एउटा तथा तालिम एयरक्राफ्ट दुईवटासमेत खरिद प्रक्रियामा रहेको सेनाले जनाएको छ।

खरिद प्रक्रियामा रहेकामध्ये एउटा बेल हेलिकोप्टर काठमाडौं आइसकेको छ। उक्त हेलिकोप्टर सेनालाई हस्तान्तरण हुन बाँकी रहेको छ। भिभिआइपी (राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्री) को फ्लाइटका लागि खरिद गरिएको अगस्टा वेस्टल्याण्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि रहेको महालेखाको रिपोर्टमा उल्लेख छ। काठमाडौमा आइपुगेको उक्त हेलिकोप्टर खरिदका लागि सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड, ३९ लाख ८४ हजार २ सय ४३ युरो (एक अर्ब ८१ करोड नेपाली रुपैयाँ हालको मूल्यामा) खरिद सम्झौता गरी प्रतितपत्र खोलेको थियो। सेनाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ विपरीत प्रतिस्पर्धा विना नै बोलपत्र स्वीकृत गरेर विमान खरिद प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: १८ पुस २०७५ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App