५ वैशाख २०८१ बुधबार
अन्य

सहरमा कामरेड

विष्णु भण्डारी

सरकारी नम्बर प्लेटको गाडी सहरको पाँचतारे होटलअगाडि रोकियो। चालकले गाडीको ढोका खोलिदियो। गाडीबाट सांस्कृतिक संस्थानको जिएम निस्कियो, जसले भर्खरै राजनीतिक नियुक्ति पाएको थियो। नियुक्तिपछिको यो पहिलो सार्वजनिक कार्यक्रम थियो उसको। गाडीबाट झर्दा चिसोले टोक्लाजस्तो गरी घोच्यो। मध्यपुस, त्यसमा पनि बदली भएको आकाश, चिसो बढेको थियो। उसले आजै लगाएको टाई–सुट मिलायो। कपाल ठीक छ/छैन भनेर दुवै हातले स्याहार्‍यो र होटलतिर हेर्‍यो। उसले हेर्दानहेर्दै आयोजक र अतिथिहरू ऊतर्फ हुर्रिए। उनीहरू झन्डै एक घन्टादेखि उसको प्रतीक्षामा फूलमाला लिएर उभिएका थिए। धेरैले झुकेर नमस्कार गरे। नवप्रवेशी कामरेडहरूले अभिवादनको सिकारु शैलीमा मुठी उठाए। पुरानाले सलाम कामरेड भने। नवप्रवेशीले लालसलाम नै टक्र्याए। उसले स्मित हाँसोसहित अभिवादन फर्कायो।

जिएम भर्खरै युद्ध लडेर आएको पार्टीको नेता। कला–साहित्यमा पनि राम्रै दख्खल थियो। लामो समय सांस्कृतिक फाँटमा काम गरेकाले होला, ऊ सांस्कृतिक विचलनप्रति अलि बढी नै सजग थियो। सांस्कृतिक रूपान्तरण र समाजमा संस्कृतिले पार्ने प्रभावबारे राम्रै प्रशिक्षण दिन्थ्यो। त्यही भएर होला, उसका कवितामा पनि यो भाव मुखर भएर आउँथ्यो।

'हामी सहरमा छौँ भन्ने कुरा बिर्सनु हुन्न कमरेड। सहरमा काम गर्नेको सबैभन्दा ठूलो चुनौती आफूलाई सांस्कृतिक विचलनबाट जोगाउनु हो,' उसले प्रायः बैठक र छलफलमा भन्ने गर्थ्यो, 'सहर स्वभावैले अराजक र नैतिकहीन हुन्छ। गाउँमा जस्तो यहाँ काम गर्न सहज छैन। कामरेडहरूले आफूलाई सहरको रमझमबाट जोगाउनु होला।'

चालकले गाडीको गति कम गरेर पछाडि हेर्‍यो। सुनसान रातमा सुकुम्बासी नेतालाई भेट्न सम्भव थिएन। तर पनि जिएमले फर्कंदा भेट्नुपर्छ भनेको थियो। चालकले उक्त विषयको जानकारी गराउन चाह्यो। तर, समयले त फन्को मारिसकेको थियो। उसले घडी हेर्‍यो। समय घुमिसकेको थियो। र, समयसँगै क्रान्तिकारी जिएम नशाले लठि्ठएर पछिल्लो सिटमा निदाइसकेको थियो।

पार्टी सरकारमा थियो, ऊ नेताको नजिकको मान्छे। पार्टीमा उसको हैसियत माथि नै थियो। ऊ दिनहुँ भेटघाट, छलफलमा हुन्थ्यो, खाने–पिउने पनि चल्थ्यो। बाध्यताले हो वा आवश्यकताले, ऊ सहरको रमझममा अभ्यस्त हुँदै गएको थियो।

ऊ सवार भएको गाडी नदीकिनारा हुँदै गुड्दै थियो। नदी भन्ने कि ढल? यसबारे पुनर्मूल्यांकन गर्नुपर्ने हुन्छ। पहिलेदेखि नदी भनिएकाले सबैले नदी नै भन्दा हुन्! तर, त्यो नदीभन्दा खुला ढलजस्तै थियो। हावासँगै नदीकिनारमा दुर्गन्ध यसरी फैलिन्थ्यो कि बाटो हिँड्नेहरू नाक थुनेर हिँड्थे। अझ चिसोमा भन्दा पनि गर्मी याममा यहाँ बस्नैनसक्ने हुन्थ्यो। तातो हावासँगै दुर्गन्धले सारा बस्तीलाई कर्‍याप्प पार्थ्यो। त्यस्तो ठाउँमा पनि सुकुम्बासी भने मजाले बसेका थिए।

नदीकिनारामा लहरै सुकुम्बासीका छाप्रा थिए। छाप्रापछि बाटो र बाटोसँगै अग्ला घर पनि थिए। अग्ला घरका झ्याल फोहोरको कारणले हो वा नांगाभुतुंगा सुकुम्बासीको नजर पर्छ भनेर हो, प्रायः बन्द नै हुन्थे। ती बन्द घरमा मान्छे बस्छन् कि भूत, शंका गर्ने ठाउँ प्रशस्तै थियो। त्यो बाटो हिँड्नेहरू यस्तै सोच्थे।

सुकुम्बासी बस्तीमा भने चहलपहल प्रशस्तै थियो। त्यस्तो जाडोमा पनि नानीहरू नांगैभुतुंगै यताउता दौडँदै थिए, कोही रुँदै त कोही हाँस्दै। प्रायः प्रत्येक दिन यसरी नै हाँँसो र रोदन मिसिएर एउटा छुट्टै लयको निर्माण हुन्थ्यो। लय संगीतमय हुँदै सारा बस्तीमा फैलिन्थ्यो। हुनेखानेहरू यो लयलाई मन पराउँदैनथे। उनीहरू यस्तो संगीतलाई हेपेर माग्नेहरूका चर्तिकला भन्थे।

प्रत्येकजसो छाप्राबाहिर आगो पुत्याउँदै थियोे। केटाकेटी र महिला दिनभर दाउरा र कागजका टुक्रा खोजेर ल्याउँथे। बेलुका त्यसैलाई बालेर चिसो भगाउने प्रयास गर्थे। आज पनि यही उपक्रम चल्दै थियो। 'विचरा, कस्तो बिजोग,' उसले दिक्क मान्दै सोच्यो, 'सहरको बीचमा पनि कस्तो गरिबी?'

हुन पनि त्यहाँको अवस्था दर्दनाक थियो। त्यस्तो कठ्यांग्रिँदो चिसोमा वृद्धवृद्धा र बच्चाहरू एकसरो कपडामा थिए। चिसो स्याँठबाट बच्न आगोको वरिपरि झुम्मिएका थिए। उसलाई यस्तो दुःखपूर्ण र भयावह अवस्था देख्दा खपिसक्नु भएन। उसले तुरुन्तै चालकलाई भन्यो, 'गुरुजी, गाडी रोक्नोस् त।' गाडी केही पर पुगेर रोकियोे। अपर्झट गाडी रोक्नुको कारण नबुझेर चालकले प्रश्नसूचक दृष्टिले पछाडि हेर्‍यो।

'रामबहादुर गुरुङलाई भेटूँ कि भनेर,' जिएमले ढोका खोल्दै भन्यो, 'उनको घर यहीँ होइन र?'

सायद कुरो बुझेन गुरुले। ऊ अलमलियो।

'उही क्या सुकुम्बासी संगठनका नेता। अस्ती डेलिगेसन आएका थिए नि,' उसले विषयलाई अझ प्रस्ट्याउँदै भन्यो, 'बस्तीमा निमोनियाबाट धेरै बच्चा बिरामी भएका छन्। हाम्रो अफिसबाट सुकुम्बासी बस्तीलाई सहयोग गर्नु थियो।'

'हुन त हो हजुर, तर कार्यक्रममा पुग्न ढिला भइसकेको छ,' चालकले नम्र स्वरमा भन्यो। साथै, समय एक घन्टा घर्किसकेको पनि जनाउ दियो।

'हुन त हो,' उसले अलिक गम खाँदै भन्यो, 'जाउँ त उसो भए, बरू फर्कंदा सम्झाउनुहोला। रकम मसँगै छ, दिनुपर्छ।'

'कस्तो असल मान्छे, सुकम्बासीलाई आफै रकम पुर्‍याउन चाहन्छ,' भर्खरै नियुक्त भएको आफ्नो जिएमप्रति अपार विश्वास जागृत भयो चालकमा। उसले मनमनै सोच्यो, 'साँच्चै, अब हामी गरिबका दिन पनि आएछन् क्यारे!'

०००

उसले रिबन काटेर कार्यक्रम उद्घाटन गर्‍यो। हल तालीले गुञ्जायमान भयो। पाँचतारे होटलको भव्य हल, सहरका एकसेएक सुन्दरीले खचाखच थियो। नाम चलेका लेखक, कलाकार र बुद्धिजीवीको उस्तै जमघट। यस्ता प्रबुद्ध व्यक्तिको अगाडि आफूलाई प्रमुख अतिथिको रूपमा पाउँदा अलिक असजिलो महसुस गर्‍यो उसले। पुसको जाडोमा पनि उसको शरीरमा ताप उत्सर्जित भयो र हप्प भयो।

हुन त उसले सहर पसेदेखि नै आफूलाई हिरो सम्झिएको थियो। यी सबै गुहुका कीरा हुन्। के थाहा छ यिनलाई भनेझैँ गर्थ्यो। ऊ सकभर साना र स्तरहीन कार्यक्रममा जाँदैनथ्यो। प्रमुख अतिथिभन्दा तल त ऊ मरिगए जाँदैनथ्यो। कथंकदाचित यस्तै भइहाल्यो भने पनि ऊ तुरुन्तै मेरो काम छ भन्दै लुसुक्क निस्कन्थ्यो र टाप ठोक्थ्यो। कसैले यस्तो प्रवृत्तिको प्रसंग उठायो भने सीधै भन्थ्यो, 'आफूलाई मेन्टेन गर्नुपर्छ। हामी भनेका १० वर्ष युद्ध लडेर आएका हौँ। यी सहरमा बस्नेहरूलाई के थाहा युद्धको भावभूमि?'

हुन त जान्नेसुन्नेहरू भन्थे, ऊ युद्ध नै लडेको हैन। छाला बचाउन युद्धमा लागेको हो। तर, पार्टीमा भने उसको रवाफ राम्रै थियो।

कार्यक्रमको बीचमा उसलाई दोसल्ला ओढाएर सम्मान गरियो। प्रायः सबै वक्ताले उसको प्रशंसा गरे। कतिले अहिलेका महान् योद्धाको उपमा दिए। कतिले अहिलेका महान् कलाकार भने, कतिले यो दशककै अग्रणी कवि। एक किसिमले उसलाई उडाए! उसले एकपटक हलमा सरर नजर दौडायो। 'अहो! कति भव्य, कति सभ्य, यस्तो पो कार्यक्रम।' ऊ रोमाञ्चित भयो। विगतमा दूरदराजमा हुने कार्यक्रमसँग दाँजेर हेर्‍यो। कति फरक, हेर्दाहेर्दै हिन्दी र अंग्रेजी नृत्य प्रस्तुत भयो। उसलाई अलि अप्ठेरो लाग्यो क्यारे, छेवैमा बसेको आयोजक संस्थाको अध्यक्षलाई हेर्‍यो। अध्यक्ष विस्तारै कानमा फुसफुसायो, 'क्यार्नु र हजुर ठाउँअनुसार चल्नैपर्‍यो।'

'हो त नि है,' उसले चित्त बुझायो।

कार्यक्रमको अन्त्यमा उसको बोल्ने पालो आयो। भर्खरै युद्धबाट आएको युवा, बोल्ने कला भरपूर थियो। सांस्कृतिक क्षेत्रमा काम गर्ने मान्छे, कला, साहित्य र संस्कृतिको ज्ञान राम्रै थियो। यस्तो महŒवपूर्ण उपस्थितिमा आफ्नो योग्यता र खुबी प्रदर्शन गर्नु पाउनु उसका लागि मौका थियो। नभन्दै कला, साहित्य र संस्कृतिबारे गहन मन्तव्य दियो उसले। अझ सांस्कृतिक रूपान्तरणबारे बोल्दा त भर्खरै पार्टी प्रवेश गरेका अर्धनग्न यौवनाको अनुहार बिग्रिएर सानो भयो। उसले संस्कृतिका विविध पाटामाथि आफ्नो ओजपूर्ण भनाइ राख्दै भन्यो, 'हामीले पुरातन र आयातीत संस्कृतिको पक्षपोषण गर्नु हुन्न।' उसको भनाइलाई गडगडाहट तालीद्वारा हलले समर्थन गर्‍यो।

कार्यक्रमको पहिलो चरण सकियो।

ऊ मञ्चबाट झर्दै गर्दा किशोरीको ठूलो हुलले अटोग्राफ माग्न थाल्यो। धेरैजसो त ऊसँगै टाँसिदै भन्न थाले, 'वाह्, तपाईंले त कमालै गर्नुभयो।' उसले जीवनमा पहिलोपल्ट यति नजिकबाट यति कामुक सुन्दरीलाई स्पर्श गर्न पाएको थियो। र, जीवनमा पहिलोपल्ट आफ्नो अटोग्राफ दिन पाएको थियो। यो चिसो ऋतुमा पनि उसको निधारमा चिट्चिट् पसिना आए। हुन त एसीको कारण पनि यस्तो भयो होला। फेरि एसीभन्दा पनि बढी त अरु नै कारणले काम गरेको थियो सायद। पहिलोपल्ट भएर हो वा कागको बीचमा बकुल्ला देखिएँ कि भन्ने लागेर हो, उसलाई त्यहाँबाट कतिखेर भागौँजस्तो लाग्योे। उसले घडी हेर्दै अध्यक्षलाई सोध्यो, 'अब जाने हैन?' अध्यक्षले मुुस्काउँदै भन्यो, 'भर्खर त कार्यक्रम सुरु भएको छ हजुर।'

'भर्खर कार्यक्रम सुरु भएको छ रे,' उसले अचम्म मान्दै हेर्‍यो।

'हो त हजुर, डिनर र गीत–संगीत त बाँकी नै छन्,' अध्यक्ष अलि झुक्दै बाँकी कार्यक्रमबारे जानकारी गरायो।

'त्यहाँ सुकुम्बासी बस्तीमा पस्नु छ, छिटो गरौँ है,' उसले सहमति जनाउँदै भन्यो।

केहीछिन्मै ऊ षोडसी सुन्दरी र बुज्रुकहरूद्वारा घेरियो। ह्विस्की, बियर र वाइनले भरिएका किस्ती समाएर उसको अगाडि उभिए, वेटरहरू। सबैले रूचिअनुसारका प्याला उठाए। उसको सहयोगीले पनि उसलाई प्याला उठाउन आग्रह गर्‍यो।

'हैन, यो लिने हो र?' ऊ अन्कनायो।

हुन त सहरमा आएपछि लुकिछिपी खान थालेको थियो उसले। युद्धकालको त कुरै बेग्लै। युद्धकालमा रक्सी बनाउने र खाने दुवैलाई भाँटे कारबाही हुन्थ्यो। कतिलाई भाँटेमात्रै होइन, आर्थिक कारबाही पनि हुन्थ्यो। ऊ लड्न–भिड्नभन्दा पनि यस्ता कारबाही गर्न मन पराउने मान्छे। युद्धको बेला सबैभन्दा बढी भाँटे कारबाही गर्नेमध्ये ऊ पनि पर्थ्यो। तर, सानैदेखि लागेको बानी, त्यति सजिलै कहाँ सुधि्रन्थ्यो र? सहर आएपछि उसले फेरि मदिरा लिन थालेको थियो।

'हजुर पनि, पाँचतारे होटलमा नलिएर कहाँ लिने त?' सहयोगीले कर गर्‍यो। सहयोगी आयोजक संस्थाको अध्यक्ष पनि भएकाले उसलाई सल्लाह लिन सजिलो थियो। भर्खर प्रवेश गरेको कामरेड थियो ऊ, व्यवहारमा जस्तो भए पनि बोली–मिजासमा अब्बल, चाकडी चाप्लुसीमा पनि होनहार, सांस्कृतिक क्षेत्रमा जस्तो भए पनि आर्थिक क्षेत्रमा बलियो। सहरमा उसलाई धेरैले चिन्थे। ऊ जहाँ पुग्थ्यो, तर उसैले मार्थ्यो। यहाँ पनि उसको छिट्टै तरक्की हुनेवाला थियो। यहाँ पनि नयाँ नेतृत्वलाई खुसी पार्ने ध्येयले उसले जिएमलाई प्रमुख अतिथि बनाएको थियो।

अझै पनि जिएमसाब अनकनाउँदै थियो। तर, एकजना अर्धनग्न सुन्दरीले उसको हातमा ह्विस्कीको प्याला थमाइहाली। उसले पहिल्यैदेखि उसलाई पछ्याउँदै थिई। सबैले हर्षोल्लासपूर्वक 'चियर्स' गरे।

रात ढल्कँदै थियो। रातसँगै कामुक नृत्य र गीत–संगीतको धुनमा सुन्दरीहरू पनि मस्किँदै थिए। उसलाई असैह्य हुन थाल्यो। एकातिर ह्विस्कीको रमरम, अर्कोतिर सुन्दरीको कटाक्ष। ऊ विह्वल भयो।

उसको अगाडि एकपछि अर्को गर्दै विगतका घटनाहरू नाच्न थाले। कसरी भोकभोकै बाँदरजस्तै कुदेको थियो ऊ? दुई कोस टाढा बन्दुक पड्कँदा पनि कसरी भागेको थियो? भाग्दाभाग्दै कसरी सुरक्षाकर्मीको घेरामा परेको थियो? कसरी उसको साथीले आफू मरेरै भए पनि उसलाई बचाएको थियो? दुश्मनसँगको झडपमा आफ्नै अगाडि सहयोद्धा ढल्दा कसरी रोष र घृणाले उद्वेलित भएको थियो? जेलका चिसा छिँडी र भूमिगतकालको सम्झनाले मात्र पनि उसको मुटु हल्लियो।

सोच्दासोच्दै फेरि विगतको रंगीन दुनियाँमा पुग्यो। कसरी भर्खरकी किशोरीसँग प्रेमप्रस्ताव राखेको थियो उसले? प्रेम झाँगिन नपाउँदै कसरी एकपछि अर्को गर्दै सबै प्रेमिका मारिएका थिए? प्रेमिकाहरू मारिने क्रम नरोकिएपछि ऊ आजित भएको थियो। बाध्यता वा आवश्यकता जेहोस्, उसले गाउँकी अलि उमेर ढल्किएकी युवतीसँग माया गाँसेको थियो। त्यो सम्झँदा आज उसलाई उदेक लागेर आयो। कसरी लहसिएँ होला म बिनास्वादकी ग्रामीण युवतीको प्रेममा? ऊ फेरि फर्किएर वर्तमानमा आयो। आज आफू कुन दुनियाँमा छु भन्ने छुट्याउन सकेन उसले। कहाँ त्यो भोको र विदीर्ण छाप्रोको कथा, कहाँ यो पाँचतारे होटलको रंगीन लीला!

उही सुन्दरी आएर उसलाई च्याप्प समाइ। उसको स्पर्शले एकपल्ट उसको सर्वांग रोमाञ्चित भयो। 'हजुर त कस्तो हेनसम? मलाई त हजुरजस्तै हिरो मन पर्छ।' भएन फसाद! हेर्दाहेर्दै ऊ त हिरोमा पो दरियो! उसले एकपल्ट आँखा मिच्यो र टाउको हल्लायो।

हैन म विपनामा त छु के? अनि फेरि के भनेकी यो केटीले? तीनछक परेर सुन्दरीलाई एकनास हेरिरह्यो। हेर्दाहेर्दै आँखा चार भए। युवतीले लजाएको नखरा पार्दै नजर झुकाइ।

त्यसपछि त्यो नवयौवनाले उसलाई हातमा समाएर नाच्न आग्रह गरी। किंकर्तव्यविमुढ भयो ऊ। कहिल्यै ननाचेको मान्छे, कसरी नाच्ने होला आज? सुन्दरीले छोडेकी होइन। उसका मुलायम शरीको न्यानो स्पर्शले ऊ आजित भयो। 'म त कहिल्यै नाचेको छैन,' उसले भन्यो। तर, सुन्दरी त ज्याद्री पो निस्किइ, कर गरी, 'के भयो त पहिले ननाचेर? आज नाचे भइहाल्यो नि।' उसले सुन्दरीको आग्रह लत्याउन सकेन।

राति अबेरसम्म पार्टी चल्यो।

उसले हुन्न–हुन्न भन्दाभन्दै पनि निकै पियो। पियोभन्दा पनि पिलाइयो। सम्मानका लागि, इज्जतका लागि अथवा मायाले भरिएका नयनका लागि उसले पियो। पिउँदापिउँदै बोली नै लरबरिएको थियो उसको। पार्टी सकियो, उसको सहयोगी, बाँकी भद्रजन र सुन्दरीहरूले उसलाई गाडीमा चढाए।

अब ऊ सुनसान सडक हुँदै निवास फर्कंदै थियो। सबैतिर शून्यता व्याप्त थियो। फाट्टफुट्ट गाडीहरू हुर्रिएर भाग्दै थिए। बाटोमा उही सुकुम्बासी बस्ती देखियो। निस्पट्ट, चिसो रात, सबैतिर सन्नाटा छाएको थियो। चिसो हावासँगै फाट्टफुट्ट पानीका थोपा पनि छिटाउन थलिसकेका थिए।

चालकले गाडीको गति कम गरेर पछाडि हेर्‍यो। हुन त यो सुनसान रातमा सुकुम्बासी नेतालाई भेट्न सम्भव थिएन। तर पनि जिएमले फर्कंदा भेट्नुपर्छ भनेको थियो। चालकले उक्त विषयको जानकारी गराउन चाह्यो। तर, समयले त फन्को मारिसकेको थियो। विचरा, चालकलाई के थाहा समय कुन रफ्तारमा अगाडि बढ्छ? उसलाई त केवल गाडीको गति थाहा थियो। उसलाई लाग्दो हो समयको चक्र भनेको २४ घन्टा हो। उसले घडी हेर्‍यो। आज पनि समय घुमिसकेको थियो। र, समयसँगै क्रान्तिकारी जिएम नशाले लठि्ठएर पछिल्लो सिटमा निदाइसकेको थियो।

निबन्ध

जीवन भोगाइको अर्थमा म कतिपटक आफैभित्र कैद भएको छु। सोच्न थाल्छु पीडा बढ्छ। भो अब त सोच्दिनँ भन्यो झन् पीडा थपिन्छ। जे गरे'नि सुख छैन। त्यसैत्यसै बग्छ जिन्दगी र बगिदिन्छु स्वयं बग्ने अनेकौँ तालसँगै। आफूलाई मनुवाको खोल ओढाउन थालेदेखि एउटा डरलाग्दो विस्मयबोधी चिह्नले बेलाबेला परीक्षण गरिरहेको छु आफैलाई। यही परीक्षणभित्र खोजिरहेछु– जीवनको परिभाषा।

ए! भाते जिन्दगी

राजिन पनेरू

जिन्दगी कसले बनायो? विज्ञानले वा ज्ञानले? खुदा वा डार्बिनले? प्रभुले वा ब्रह्माले? ब्रह्मशून्य म के भनूँ– सुरुआत कसले गर्‍यो? त्यो म जान्दिनँ। जानेको कुरा सत्य ठान्दिनँ। नजानेको कुरा सत्य मान्दिनँ। साँच्चै भनूँ दोधारमा छ मन। काँडेतारमा छ। कतै प्यारमा छ। तिरष्कारमा छ। कसैको स्वीकारमा छ। कसैको प्रतिकारमा छ। धरापमा छ। पड्कियो भने सम्भवतः कोही बाँच्दैनन्। बाँचे पनि स्थिति प्रलयको घेरामा हुन्छ। भौतारिँदै बाँच्नुुपर्छ। के अर्थ, बेतुक जिन्दगी भोगाइको? र पनि सत्य यो छ कि– बाँच्नुपर्छ। जिन्दगी खतराको खोलमा डार्बिन/नवडार्बिनवादसँग पाँैठेजोरी खेलिरहेको छ। अमौसम–असमय नियतिको पञ्जामा चल्ला बनेर हल्लाको पछाडि दौडनु नै आजको वास्तविक जिन्दगी हो र बाँचिरहेका छन् यही जिन्दगी सबै अभिशप्त मनुवाहरू। जिगिषा र जीजिविषाको मैदानमा त्रासको बारुद बोकेर आश्वासनको गोलीमा परेड खेलिरहेका छन्– लाखौँ बेतुक जिन्दगीहरू। कसले भन्ने दोधारे मनको अन्तिम सत्य केमा अडेको छ? कुनै कुरामा रस छैन। फुस्रो जिन्दगी धमिराले खाएको काठजस्तो। बिनासित्ती फोसि्रएर बस्न विवश जिन्दगीले न त वाल्मीकी बन्न दिन्छ न त गर्छ घोषणा रत्नाकार हुँ भनी। विस्मयबोधी चिह्नले आफैले आफैलाई हेरी ब्रह्माजीको प्रयोगशालाबाट भन्न मन लाग्छ– 'ए! भाते ...।' बोली खस्न नपाइ भन्छ– 'हजुर! सेवक हाजिर छ।' धन्य भोलिवादका क्षेप्यास्त्र व्यंग्य नायक श्री १००८ भैरव बाजेलाई!

असीमित प्रश्नहरूका बीचमा परिभाषामा जिन्दगी। कहिलेकाहीँ मन डुबाउन मन लाग्छ अलिकति र डुबाइदिन्छु जिन्दगीको परिभाषा खोज्न, बेतुक भोगाइहरूको संग्रह– जिन्दगीको एउटा पोको खोलेर। उतार–चढावको कुनै पर्वाह छैन। दौडनु, भौँतारिनु, थचारिनु, उठ्नु र पुनः दौडने चेष्टा गर्नु मेरो नियमितता हो। यसैमा अभ्यस्त छु, हिजोदेखि आजसम्म र 'नेछु'को सामान्यकालिक क्रियापदले मलाई सताइरहनेछ सायद यसैगरी। जीवन भोगाइको अर्थमा म कतिपटक आफैभित्र कैद भएको छु। सोच्न थाल्छु पीडा बढ्छ। भो अब त सोच्दिनँ भन्यो झन् पीडा थपिन्छ। जे गरे'नि सुख छैन। त्यसैत्यसै बग्छ जिन्दगी र बगिदिन्छु स्वयं बग्ने अनेकौँ तालसँगै। आफूलाई मनुवाको खोल ओढाउन थालेदेखि एउटा डरलाग्दो विस्मयबोधी चिह्नले बेलाबेला परीक्षण गरिरहेको छु आफैलाई। यही परीक्षणभित्र खोजिरहेछु– जीवनको परिभाषा।

हाँसो–रोदन, सुख–दुःख, धनी–गरिब जहीँतहीँ विपरीत धार मात्र। मान्छेमा किन हुँदैन समानता? परिश्रम गर्नेहरू भोकभोकै मरिरहेका छन्। जो परिश्रम नै गर्दैन उसैको बोलवाला चल्छ। दिनभरि गिट्टी कुट्यो बेलुकी नुन किन्न पुग्दैन। कोही ब्ल्याकमा सुनको कारोबार गरिरहेका छन्। कालोलाई सेतो बनाइरहेका छन्। सेतोलाई कालो बनाइरहेका छन्। भित्र कुख्यात हुनेहरू बाहिर प्रख्यात छन्। नारा तिनैको छ। सारा तिनैको छ। तिनैको घाँटीमा फूलमाला हुन्छ। ताली तिनैमा पिटिन्छ। आफू हुनुको अस्तित्व लिलामीमा थापिरहेका छन् सोझा जनता। सभ्यताका एक हुल टाउकाहरू प्रत्येक दशकमा विद्रोहको घोषणा गर्छन् र अर्को दशकमा विजयको माला पहिरिन्छन् र भन्छन् यो जित जनताको हो। अनि सुनाइन्छ अनेक मन्त्रहरू। तन्त्रहरू। विचरा जनताको पत्रपत्रैको जिन्दगी सधैँको अलपत्र।

चोकचोकमा सभाको आयोजना। यो डेमोत्रे्कटिकहरूको देन हो। यसलाई भनिन्छ प्रजातन्त्र। यसलाई भनिन्छ जनताको शासन। यो त्यति सजिलै प्राप्त हुने मनको लड्डु होइन। आफूलाई कम्युनिस्ट भन्नेहरूमा चेतना भया! एकाथरिको सन्दर्भ।

विद्रोहको गति अन्ततः सत्तामा परिणत भएको छ। यो कसैको पेवा होइन। जसलाई जतिबेला मन लाग्यो उति नै बेला भोग गर्ने। मार्क्सवादले सिकाएको क्रान्तिको बलमा प्राप्त उच्च गति हो यो। यसको अन्तिम लक्ष्य वैज्ञानिक साम्यवाद। यसको सम्मान गर्नु र सम्पूर्ण सर्वहारा वर्गको उत्थान गर्नु अबको कार्यदिशा हुनेछ। तपाईंहरू विचलित नहुनुहोस्। हामी तपाईंको सपना साकार पार्नेछौँ। अब कोही पनि भोकै मर्ने छैनन्। कोही पनि बेरोजगार बस्नुपर्ने छैन। समतामूलक समाजको निर्माण हामी गर्नेछौँ। अर्काथरिको सन्दर्भ।

 यहाँ अभ्यासका नाउँमा सन्दर्भहरू धेरै आए। धेरै गए। तर, रचनाको गर्भ सधैँ अज्ञात रह्यो। योजनाका आश्वासनमा मानिसले जुग बिताए। केश पकाए। न अँगेनामा आगो बल्यो न बारीमा धान फल्यो! न पढेकाले अवसर पाए न त परेकाले सीप। न त भए बेरोजगार रोजगार न परिभाषामा जस्तो प्रजातन्त्र आयो! न भयो समतामूलक समाजको  निर्माण न पाए सर्वहाराले आहारा! आज हाम्रो जीवनको परिभाषा नै बदलिएको छ। पहिचान, अस्तित्व, चिनारी जे भन्नोस् कसैको कुनै भाउ छैन। मानिसमा न उमंग छ न कुनै रंग। एउटै त्रास छ भरे खान पाइन्छ कि पाइँदैन। कतिञ्जेल बोक्ने त्रास? कतिञ्जेल बोक्ने आस? बर्बादीको लामो शृंखला बोकेका आजको पुस्ताको न त कुनै वर्तमान देख्छु न त भविष्य! अँध्यारो खाडलमा धकेलिएको पुस्ताको भविष्य नालापानी र कालापानीसँगै सुस्तामा अडेको छ। एकपछिको अर्को पुस्तामा अडेको छ। बाँच्नुपर्ने थियो सीमाविहीन भएर, तर बाँचिरहेछन् दिनप्रतिदिन खुम्चिएर। 

 अतिशय पीडा बोकेपछि मान्छे पीडाकै ज्वालामुखी उकेल्न बाध्य हुन्छ। सास किनेर लास जोगाइरहेका विवश मान्छेको जिन्दगीको कुनै मूल्य छैन! समयको कुनै मेल छैन। बाँच्नका लागि मान्छे खाइरहेका छैनन्, खानका लागि बाँचिरहेका छन्। हिलाम्मै भएको असारे जिन्दगी कैयैँ बाढीसँग बग्दाबग्दै अन्ततः बग्नै नसक्ने गरेर बालुवाको चिहानमा परिणत भइरहेको छ। हाम्रै आँखाअगाडि बलात्कृत भएका हाम्रा सपनाले जन्माएका नाजायज सन्तानहरूसँग के आशा गर्नू? सपना हुन्छन् सबैसँग लक्ष्यमा पुग्ने। भन्न सकिँदैन सपना कहाँबाट देखाइन्छ र कहाँबाट अन्त्य गराइन्छ? को हो सपनाको हत्यारा? कसले गर्ने वकालत? स्वयं न्यायालय नै अन्यायले घेरिएको ठाउँमा न्यायको बहसमा उत्रने को?

सामान्य अभ्यासले बदलिने छैन मेरो जीवनको परिभाषा। मैले भोगेको युगको परिभाषा। परिभाषा नै संकटमा देखिरहेछु। स्वार्थको एउटा विशाल झुण्ड दलाली बनेर मेरो जीवनभित्र राज गरिरहेछ। किनबेच गरिरहेछ आफ्नै भावहरू–अभावको चाङमा बसिकन। हिजोसम्म अतिथि देवो भवः भन्दै आएका हाम्रा प्राचीन वाणीहरू अर्वाचीन सभ्यताभित्र विश्वासको संकटमा गुञ्जिरहेको छ। संसारमा स्वार्थहीन भनिएका गुरु, माता औ पिता नै चेला औ सन्ततिका लागि डरलाग्दो प्रश्नचिह्न भइरहेका छन्। चिनेको भन्दा किनेको टिकाउयोग्य ठहर्छ। ज्ञानभन्दा सत्ता बढी शक्तिशाली देखिन्छ। बुद्धिभन्दा बल उँभो लागिरहेको छ। वर्तमानको सबैभन्दा खतरनाक शक्ति पैसा, पद र प्रतिष्ठा देखिन्छ। यिनै तीन 'प' को प्राप्ति अन्तिम सत्य बनेको छ र यही 'प' पाउन प्राणीहरू पतीत भइरहेका छन्। जसरी पनि आफू हुनुको अस्तित्व रक्षार्थ संघर्षरत छन् मनुवाहरू। उसले मलाई चिन्दैन। मैले उसलाई चिन्दिनँ। हामीले हामीलाई चिन्दैनाँै। मधेसले पहाडलाई चिन्दैन। पहाडले हिमाललाई चिन्दैन। हिमालले तराईलाई चिन्दैन। बाले छोरालाई चिन्दैनन्। छोराले बालाई चिन्दैन। सर्वपरिचित, सुपरिचित एउटै सत्य तीन 'प' हो। मानौँ यिनै भारतवर्षकी सिंगो द्रौपदी हुन् र यिनैको भोगमा लागिरहेछन् वर्तमानका पाण्डवहरू। न अर्जुनको राज न दुर्योधनको ताज, न कृष्णको कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन न युधिष्ठिरको ...अश्वत्थामा हतो हतः। यहाँ कुनै कृष्णहरूको श्रीमद्भगवत् गीता सुन्ने धैर्यवान् अर्जुनहरू जन्मने छैनन् न युधिष्ठिरको सत्यवादी सन्दर्भ। सबैलाई सबैभन्दा पहिले कृष्ण बन्नु छ र सुनाउनु छ गीता दर्शन, तर दुर्भाग्य गीता श्रवण गर्ने कुनै अर्जुनको जन्म हुने छैन। सबैलाई कृष्ण बन्नु छ अर्जुन बन्ने को? सबैलाई अध्यक्ष बन्नु छ सदस्य बन्ने को? सबैलाई नेता बन्नु छ कार्यकर्ता बन्ने को?

म राम्रो बोल्छु। तिमी ठीक भन्छौ। हामी सत्य बौल्छौँ। समाज बुर्जवा ठान्छ। म नराम्रो बोल्छु। तिमी बेठीक भन्छौ। हामी झुठ बोल्छौँ। समाज असल ठान्छ। असल र खराबको कुनै मापन छैन। यसो भए राम्रो, उसो भए नराम्रो–कसैको ज्ञापन छैन। वर्षौँदेखि यसरी नै अल्भि्करहेको छ हाम्रो समाज–संस्कृति–सभ्यताको परिभाषा। कालो गोरुलाई कमेरो दलेर सेतो बनाउने पनि हामी नै हौँ। सेतो गोरु किनेँ भनी मख्ख हुने पनि हामी नै हौँ। दैलामुनिको बारी बाँझो राखेर सोयाबिनको तिउन खाने पनि हामी नै हौँ। घरअगाडि 'डम्पिङ साइट' बनाउँछौँ र छतमा बसेर नगरपालिकालाई गाली गर्छौं। पुर्खाले बिरालो बाँधेर श्राद्ध गरेको देखेका सन्तति छिमेकबाट बिरालो खोजीखोजी तिनै पुर्खाको श्राद्ध गरिरहेका छन् र आफूलाई भाग्यमानी सभ्यताको भाग्यमानी सन्ततिको उपाधिले अभिनन्दन गरिरहेका छन्।

यी र यस्तै सन्दर्भहरूको सप्रमाण खोजीमा कहिले उत्तरबाट हिँडेर दक्षिण पुग्छु त कहिले पूर्वबाट निस्केर पश्चिम। जहाँ पुगूँ एउटा ठूलो ढोका भेटिन्छ। ढोकाहरूमा आआफ्नै संकीर्णताको चाबी झुण्डाइएको छ। द्वारे छन् सँगै। मसाल बोकेका। साल बोकेका। नाल बोकेका। सोधिन्छ सातपुस्ते नालिबेली। गरिन्छ तन–मन सबैको पोस्टमार्टम। सहगोत्रीय ठहरिए मारिन्छ इन्ट्री। होइन भने उहिल्यै स्वस्थानीमा महादेवले सतीदेवीको लास बोकेझैँ आफ्नै जिउँदो लास बोकेर निस्कनुपर्छ अज्ञात भ्रमणमा। न त विष्णुले लास गलाउने माखाको उत्पत्ति गरी पठाउँछन् न पतन हुन्छ कुनै पीठ न उत्पत्ति हुन्छ कुनै महादेवको!

विश्वेश्वरप्रसाद कोइरालाले मोदीआइनमा भनिदिए– ठूलो मान्छे होइन असल मान्छे बन। असल मान्छे बन्न धेरै पटक कोसिस गरेँ। धेरैका पसल–पसल दौडिएँ, तर असलको फसल कतै भेटिएन। 

म वषौँदेखि जीवनको परिभाषा खोजिरहेको छु। यसरी नै ...!

प्रकाशित: १५ आश्विन २०७३ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App