coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

केन्द्र विवादमै अल्झिए स्थानीय सरकार

रुकुम– रुकुम (पश्चिम)मा केही स्थानीय तहले अझैसम्म पनि स्थायी केन्द्रको टुंगो लगाउन सकेका छैनन्। आन्तरिक विवाद र इच्छाशक्तिका कारण स्थानीय सरकारको केन्द्र टुंगो लाग्न समस्या भएको सर्वसाधारणको भनाई छ। ६ स्थानीय तह रहेको जिल्लामा २ नगरपालिका र एक गाउँपालिाको केन्द्रको टुंगो लगाएका छन्। एक नगरपालिका र दुई गाउँपालिकाले निर्वाचन भएको साढे एक वर्षसम्म पनि केन्द्र टुंगो लगाउन सकेका छैनन्। जिल्लाको मुसिकोट, आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले केन्द्रको टुंगो लगाई सकेका छन्।

स्थानीय केन्द्रका बारेमा विवाद उत्पन्न हुँदा कति जनप्रतिनिधिहरु अदालतमा धाउने गरेका छन् भने कति समस्या समाधाानको लागि आन्तरिक प्रयासमा रहेको बताउँछन्। जिल्लाको त्रिवेणी गाउँपालिकाको स्थानीय केन्द्र विवाद अहिले सर्वाेच्च अदालत पुगेको छ। साविक मुरु गाविस भवनमा रहेको गाउँपालिकाको अस्थायी केन्द्र तेस्रो गाउँसभाबाट बहुमत सदस्यले खारानेटामा राख्ने निर्णय गरेको थियो। उक्त निर्णयको केही जनप्रतिनिधिले बिरोध गरे।

गाउँपालिकाको कार्यालय मुरुडाँडा, सिम्रुतु वा खारानेटा कुन ठाउँमा राख्ने भन्ने यहाँ विवाद हुँदै आएको थियो। गाउँसभामा अध्यक्ष झक्कुप्रसाद घर्तीले खारानेटामा राख्ने प्रस्ताव गरेपछि बहुमत सदस्यको समर्थनमा उक्त निर्णय भएको थियो। त्यसपछि असन्तुष्ट पक्षले निर्णय खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए। यहाँको गाउँपालिकाको केन्द्र विवाद सर्वाेच्चले दिने फैसलाको पर्खाइमा रहेको गाउँपालिका अध्यक्ष घर्तीले बताए। 

‘हामीले स्थानीयस्तरमा केन्द्रको विवाद मिलाइसकेका छौं’, उनले भने, ‘तर अदालतको फैसाला हुन मात्र बाँकी रहेको छ, अब गाउँपालिका–६ खारानेटामा नै स्थानीय केन्द्र राख्ने सहमति भइसकेको छ।’ प्रभावकारी रुपमा विकास निर्माणको काम गर्न नसकेको आलोचना खेप्दै आएका जनप्रतिनिधिहरुले गाउँपालिकाको केन्द्र समेत टुंगाउन नसक्दा थप आलोचति हुँदै आएका छन्।

जिल्लाको सानीभेरी गाउँपालिकामा पनि स्थानीय केन्द्र टुंगीना सकेको छैन्। जनप्रतिनिधिहरु नै कुन ठाउँमा स्थायी केन्द्र राख्ने भन्ने विषयमा एक मत नहुँदा निर्वाचन भएको साढे एक वर्षसम्म पनि केन्द्रको टुंगो लाग्ने नसकेको हो। यहाँ गाउँपालिका वडा नं. ७ द्धारेज्यूला र वडा नं. ९ सिम्ली कुन ठाउँमा केन्द्र राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ। गाउँपालिका अध्यक्ष नरबहादुर पुनले विवाद मिलाउने प्रयास भइरहेको बताए। केहि महिला अघिको कार्यपालिकाको बैठकमा बहुमत सदस्यले केन्द्र वडा नं. ७ को द्धारेज्यूलामा राख्ने निर्णय भएको थियो। 

तर यहाँ पनि असन्तुष्ट पक्षले विरोध गरेपनि अझै टुंगिन सकेको छैन्। सिम्लीका स्थानीयले गाउँपालिकाको लागि निःशुल्क जग्गा उपलब्ध गराउने बताएका छन्। ‘यहाँ निःशुल्क जग्गा उपलब्ध गराएपछि सिम्लीमा र नभए द्धारेज्यूलामा केन्द्र राखिन्छ’, अध्यक्ष पुनले भने। यता चौरजहारी नगरपालिकाको केन्द्र विवा पनि उस्तै छ। 

यहाँ पनि चौरजहारी बजार, खोलागाउँ र नुवाकोट कुन ठाउँमा स्थानीय केन्द्र राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ। तर यहाँ निर्णय भने भएको छैन्। अब छिट्टै स्थानीय केन्द्रको टुंगो लगाउने नगरप्रमुख विशाल शर्माले जानकारी दिए। भौतिक पूर्वाधारको काम समेत पुरानै गतिमा गरिरहेका स्थानीय सरकार प्रमुखहरुले अहिलेसम्म केन्द्रको टुंगो लगाउन नसक्नुले उनीहरुको क्षमता प्रष्ट भएको बुद्धिजिवीहरुको भनाई छ। 

अहिलेका स्थानीय सरकार प्रमुखहरु महत्वकांक्षि र क्षमताको कमी भएका कारण लामो समयसम्म पनि केन्द्रको टुंगो लगाउन नसकेको मुसिकोट खलंगा बहुमुखि क्याम्पसका उपप्रध्यापक हरिविष्णु ओलीले बताए। आफ्नै कार्यालयको स्थायी केन्द्र टुंगो लगाउने नसक्ने जनप्रतिनिधिहरुले ठुला योजनाका काम समेत गर्न नसकेको उनको आरोप थियो।

जनप्रतिनिधिहरुमा राजनीतिक स्वार्थका कारण केन्द्रका बारेमा अहिले विवाद सिर्जना भएको शिक्षक गोपाल केसीको भनाई छ। निर्वाचन भएको लामो समयसम्म पनि केन्द्रको टुंगो नलाग्नु अयोज्ञताको पराकाष्ठ भएको पुष्टि हुने उनले बताए। केन्द्रको टुंगो लगाउन नसक्दा विकास निर्माणका काम समेत समस्या उत्पन्न भएको जनप्रतिनिधिको भनाई छ। गाउँपालिका र वडापालिकामा भौतिक संरचनादेखि अन्य काममा समेत समस्या उत्पन्न हुँदै आएको उनीहरुको भनाई छ। लामो सयमदेखि यहाँका तीन स्थानीय तह अहिले स्थानीय केन्द्रबाट काम गर्दै आएका छन्।

प्रकाशित: १७ पुस २०७५ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App