६ वैशाख २०८१ बिहीबार
अर्थ

मन्त्री बास्कोटाको चाहना : पुरुषोत्तमलाई एनटिएको जिम्मेवारी

फाइल तस्बिर

काठमाडौं - वरिष्ठताको आधार लत्याउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई कार्यबाहक अध्यक्ष नियुक्त गर्न प्रक्रिया अघि बढाएको छ।  वरिष्ठतामा पुरुषोत्तमभन्दा माथि रहेका आनन्दराज खनाललाई ‘विज्ञ’का रुपमा मन्त्रालय तान्दै पुरुषोत्तमलाई कार्याबाहक अध्यक्ष बनाउन प्रक्रिया अगाडि बढाइएको हो। मन्त्रालय स्रोतका अनुसार मन्त्री गोकुल बास्कोटाको चाहनाअनुसार पुरुषोत्तमलाई कार्यबाहक अध्यक्ष बनाउन सचिवस्तरीय निर्णयबाट आनन्दराजलाई मन्त्रालय तानिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरण कर्मचारी विनियमावली अनुसार अध्यक्ष पद रिक्त भएपछि अर्को व्यवस्था नहुञ्जेल वरिष्ठ निर्देशक स्वतः निमित्त अध्यक्ष हुने व्यवस्था छ। प्राधिकरणको अध्यक्ष सूचना तथा सञ्चार, प्रविधि मन्त्रालयको सिफारिस मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ। प्रचलित विनियमावली अनुसार स्वतः निमित्त अध्यक्ष भइसकेका आनन्दराजलाई मन्त्रालय तानिएको हो। आइतबार नै मन्त्रालयले उनलाई मन्त्रालय तानेको पत्र पठाइसकेको छ। 

हालको दूरसञ्चार नियमावलीमा कार्यबाहक अध्यक्षको प्रावधान छैन। पुरुषोत्तमलाई कार्यबाहक बनाउनकै लागि उक्त नियमावलीसमेत संशोधन गर्ने प्रक्रिया सुरु गरिएको छ। वरिष्ठ निर्देशकलाई स्वतः कायबाहक अध्यक्ष दिन सकिने प्रावधान राखेर संशोधन गरिएको नियमावली सोमबारको मन्त्रिपरिषद्मा लैजाने तयारी मन्त्री बास्कोटाले गरेको स्रोतले बतायो। बास्कोटाको प्रस्ताव अनुसार नियमावली संशोधन भयो भने पुरुषोत्तम स्वतः कार्यबाहक अध्यक्ष हुनेछन्।

गत बुधबार प्राधिकरणका अध्यक्ष दिगम्भर झाले पुनः नियुक्ति पाएको १०९ दिनपछि राजीनामा दिएका थिए। झाको राजीनामासँगै उक्त पद रिक्त छ। आनन्दराज खरो मिजासका व्यक्तिका रुपमा परिचित छन्। झाले पुनः नियुक्ति पाउनुअघि उनी निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। यसपालि पनि उनैको पालो थियो। तर मन्त्रालय तानिएपछि दोस्रो वरीयताका पुरुषोत्तमलाई बाटो खुलेको छ। ‘आनन्दराजलाई मन्त्रालय तानेपछि स्वतः पुरुषोत्तमको पालो आउँछ,’ प्राधिकरण स्रोतले भन्यो, ‘वरिष्ठताका आधारमा पुरुषोत्तमलाई कार्यबाहक दिन आनन्दराजलाई मन्त्रालय तानिएको हो।’

पुरुषोत्तमले भने आफूलाई यस विषयमा कुनै जानकारी नआएको बताए। आनन्दराजलाई मन्त्रालय तान्ने निर्णय ऐनविपरीत भएको जानकारको भनाइ छ। स्वायत्त निकाय प्राधिकरणबाट कुनै पनि कर्मचारीलाई मन्त्रालय तान्न पाउने अधिकार मन्त्रालयलाई नभएको जानकार बताउँछन्। यसअघि प्राधिकरणको अध्यक्ष पदका लागि दुवै खनालले आवेदन दिएका थिए। झासहित पुरुषोत्तम खनाल र पूर्वसचिव सुशील घिमिरेलाई अध्यक्षमा सिफारिस गरिएको थियो। मन्त्रिपरिषद् बैठकले भदौ २१ गते झालाई पुनः नियुक्ति दिएको थियो। 

यसअघि निमित्त अध्यक्ष हुँदा आनन्दराजले मन्त्रालयबाट मागिएको तीन अर्ब रुपैयाँ दिन अस्वीकार गरेका थिए। मन्त्रालयले सरकारी बजेटको लागि भन्दै ग्रामीण दूरसञ्चार विकास कोषबाट तीन अर्ब रुपैयाँ मागेको थियो। आनन्दराजले निमित्त अध्यक्षले निर्णय गर्न नसक्ने भन्दै रकम दिन इन्कार गरेका थिए। विवादास्पद व्यक्तिलाई पुनः नियुक्ति दिएको भन्दै सर्वत्र विरोध भएपछि झाले राजीनामा दिएका हुन्। कार्यसम्पादन राम्रो नगरेको भन्दै झालाई हटाएको सरकारले पुनः उनैलाई नियुक्ति दिने प्रक्रिया सुरु गरेपछि सरकारको कडा आलोचना भएको थियो। उक्त आलोचनाबीच मन्त्री बास्कोटाको सिफारिसमा मन्त्रिपरिषद्ले झालाई भदौ २१ गते तेस्रो कार्यकालका लागि नियुक्ति दिएको थियो।

 

प्रकाशित: १७ पुस २०७५ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App