७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रजातान्त्रिक शक्तिबीच एकजुटका लागि राप्रपाको आह्वान

फाइल तस्बिर

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले दुईतिहाइको कम्युनिस्ट सरकारले कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाउँदै प्रजातान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्। नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको दाबी गर्दै अध्यक्ष राणाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राज्यको बहस हुनु सकारात्मक भएको टिप्पणी पनि गरेका छन्।

‘कांग्रेसले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र पहिचानबारे चिन्ता गरेको देखिन्छ तर मुलुकलाई हिन्दुराज्य बनाउनेमा कांग्रेस उभिन्छ या उभिँदैन, त्यो उसको कुरा हो,’ राणाको प्रस्ताव छ, ‘म त भन्छु प्रजातन्त्रवादी एक ठाउँमा उभिनुपर्छ, देशलाई जोगाउनुपर्छ, सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनुपर्छ।’

अध्यक्ष राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलासीपन र सरकारको भूमिकाले मुलुकमा नयाँ प्रश्न जन्माएकोसमेत टिप्पणी गरेका छन्। राष्ट्रपति भवनको विस्तार र सवारी साधान खरिद प्रकरणको प्रसंग आईरहेको बेला अध्यक्ष राणाले राष्ट्रपति भण्डारीको भूमिकामाथि टिप्पणी गरेका हुन्। ‘गणतन्त्रकी राष्ट्रपति किन महँगी बन्दै हुनुहुन्छ?

करोडौंका गाडी चाहिने ? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितल निवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलासी हो ?’ अध्यक्ष राणाको प्रश्न छ, ‘राजतन्त्रको बेलामा नभएका दृश्य गणतन्त्रमा देख्न पाइएका छन्, राष्ट्रपतिलाई सुविधा नै सुविधा चाहिने अनि दसैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ, अब शंका जन्मिँदैछ।’

अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी कुनै काम नगरेको आरोप लगाएका छन्। ‘२०४७ सालपछि बनेको सबैभन्दा बलियो भनिएको वर्तमान सकारले जनताको पक्षमा काम गर्न सकेको छैन, जनताको बारेमा चिन्ता गर्न सकेको छैन, यो मेरो आरोप होइन, सत्य हो, नेकपाको सचिवालय बैठकमासमेत सरकारका कामकारबाहीबारेमा नेताहरूले असन्तुष्टि पोख्नु भएको छ,’ राणाको भनाइ छ।

वर्तमान सरकार ‘होली–वाइन’ खान र नक्कली क्रिश्चियनको काखमा सुत्न गएको पनि आरोप पनि राणाले लगाएका छन्। ‘दुईतिहाइ बहुमतका प्रधानमन्त्री केपी ओली तीन दिनसम्म ‘होली–वाइन’ खाएर नक्कली क्रिश्चियनको काखमा सुत्नु भयो, यो भन्दा लाजमर्दो अर्को कुरा के हुन सक्छ ? योभन्दा धार्मिकरूपमा हामीमाथि अर्को खतरा के हुन सक्छ ?’ राणाले चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित एक अन्तक्रियामार्फत राणाले उक्त विचार व्यक्त गरेका हुन्।

प्रकाशित: १७ पुस २०७५ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App