coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सिए रोकेर ऋषिरामको ‘किताब यात्रा’

काठमाडौं- विद्यालय तह होस् या प्लस टु तहको शिक्षा। उनी कहिल्यै दोस्रो भएनन्। माध्यमिक तहमा प्रथम र प्लस टुमा ‘कलेज टपर’ बनेका उनले सन् २०१२ देखि २०१६ सम्म भारतको नयाँदिल्लीमा चार्टड एकाउन्टेन्ट(सिए) पढे। सिएको पढाईलाई बिट मार्ने अन्तिम तयारी अर्थात फाइनल परीक्षा हुन लाग्दा त्यो परीक्षा नलेखी उनी एक्कासी नेपाल फर्किए। नेपाल फर्किने निर्णयले उनी खुशी भए पनि अभिभावक तथा आफन्तलाई भने चिन्तित र चकित बनाइदियो। राम्रै पैसा खर्च गरेर सिए पढाउन भारत पठाएको छोरा पढाई नटुंग्याई खुशी हुँदै फर्किएपछि आमाबाबुलाई बढी चिन्ता हुनु स्वाभाविकै थियो। तर उनमा पढाई रोकिँदाको न त पीडा थियो न चिन्ता नै। उनलाई खुशी बनाउने सारथी थियो–किताब यात्रा।

अस्पतालमा बिरामी र कुरुवालाई बस्न निकै सकस पर्छ। नशाका बिरामीहरूलाई दिनभरी सुतिरहनु पर्ने भएकाले उनीहरूलाई त्यो समयमा पुस्तक पढाउन सकियो भने आत्मबल बढ्छ। बिरामी कुरूवालाई पनि समय काट्न सजिलो हुन्छ।

उनी अर्थात् ऋषिराम अधिकारी। सर्लाहीको लालबन्दीमा जन्मिएका ऋषिरामको ध्यान ‘सिए’ भन्दा पनि नेपालमा पठन संस्कृतिलाई कसरी द्रुत गतिमा थप विकास गर्न सकिन्छ भन्नेमै छ। नेपालमा रहँदा यहाँको पठन संस्कृतिलाई नजिकबाट नियालेका अधिकारीलाई नयाँदिल्ली बसाईले ‘किताब यात्रा’को ढोका खोलिदियो। ‘नयाँदिल्लीमा बिहानदेखि बेलुकासम्मै पढाईमा व्यस्त भइन्थ्यो। कलेजको पुस्तक पढाईले दिक्क हुन्थें। लामो फुसर्दको समय पनि हुँदैन थियो’, हालैको भेटमा उनले दिल्ली सम्झिए, ‘फुसर्दको बेला अनलाइनमार्फत आफू बसेकै स्थानमा पुस्तक मगाएर पढ्न पाइने सुविधाबारे थाहा पाएँ। एकपटक प्रयास गरौं भनेर अनलाइनमार्फत पुस्तक मगाएको केही समयमा हातमै पुस्तक प¥यो। यो सुविधा देखेपछि नेपालमै गएर मैले किन यो काम नगर्ने भन्ने सोच आयो। अनि फाइनल परीक्षा रोकेर नेपाल फकिएँ।’ ऋषिराम नेपाल पत्रकार महासंघ भारत शाखाको संस्थापक सचिव पनि हुन्।

नयाँदिल्ली बसाइमा अमेजन डटकमजस्ता प्रकाशन गृहमार्फत छापिएका पुस्तक मगाएको केही समयभित्रै हातमा आएको देखेपछि ऋषिराम लोभिए। ‘काठमाडौंमा पढ्दा यहाँ राम्रा प्रकाशकको वृद्धिसँगै गुणस्तरीय पुस्तक प्रकाशनबारे जानकार थिएँ। यो जानकारीले पनि मलाई नेपाल फर्काउन प्रेरित ग¥यो’, ऋषिरामले भने, ‘नेपाल फर्किन लाग्दा मैले फेसबुकमा रहेको ‘बुकाहोलिक्स’ नामक साहित्यप्रेमी पाठकको समूहमा ‘म नयाँदिल्लीबाट नेपाल फर्किदैछु। यहाँहरूलाई कुन–कुन पुस्तक आवश्यक छ’ भनेर सन्देश लेखेको मात्र थिएँ। झण्डै सय बढी प्रतिक्रियाहरू आए। मगाएको पुस्तक दिल्लीबाट ल्याएर पाठकलाई दिएपछि उहाँहरूले खोजेकै समयमा सही मूल्यमा पुस्तक उपलब्ध गराउने सुविधा चाहिएको कुरा राख्नुभयो। त्यही चाहनालाई पुरा गर्न किताब यात्रा शुरु गरें।’

ऋषिरामले चाटर्ड एकाउन्ट पढ्दै गरेका साथी कृपेश किशोर घिमिरेलाई सहयात्री बनाएर ‘किताब यात्रा’ संस्थाको थालनी गरे। ऋषिरामलाई साथ दिनकै लागि कृपेशले पनि सिएको पढाईलाई रोके। ‘किताब यात्रा’को सोच बनाएर काठमाडौं उत्रिएका उनीहरूलाई नेपालमै बस्ने विकेश भट्टराईले पनि साथ दिए। ऋषिराम समूहको ‘किताब यात्रा’ अभियान बुझेपछि बुकहिल, फाइनप्रिन्ट, बुलबुल र कथालयलगायतका पुस्तक प्रकाशकले पुस्तक सहयोग गरे। अहिले यो समूहमा २० बढी प्रकाशकले प्रत्यक्ष सहकार्य गरिरहेका छन्।

२०७४ सालको पुष २७ गतेबाट काम थालनी गरेको समूहले चैत २१ गते औपचारिक रूपमा ‘किताब यात्रा’को शुभारम्भ गर्‍यो। स्थापनाको एक वर्ष नपुग्दै संस्थाले नेपालका २७ ठाउँबाट सेवा दिइरहेको छ। उसले ‘फास्ट मोभर्स लजिस्टिक कम्पनी’ मार्फत सहर तथा गाउँका पाठकको हातमा छिटोमा चार दिन र ढिलोमा हप्ता दिनमा पुस्तक पु¥याउने गरेको छ। संस्थाले विदेशको हकमा अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, मलेसियासहित करिब ५८ देशका नेपालीमाझ नेपाली पुस्तक कुरियरमार्फत पुस्तक पठाइरहेको छ।

‘अधिकांश पाठकले वीपि कोइराला, लक्ष्मीप्रसाद देवकोटा, इन्द्रबहादुर राई, भानुभक्त आचार्य, सरुभक्तका किताब खोज्छन्। हामीसँग उपलब्ध भएका पुस्तकको सूची हाम्रो वेभसाइटमा राख्छौं। पाठकले वेभसाइट हेरेर कुन पुस्तक चाहिने हो। त्यो माग गर्नुहुन्छ’, उनले भने, ‘त्यहीअनुसार पुस्तकको मूल्यको रकम लिएर निःशुल्क होम डेलिभरी गरिदिन्छौं। उपत्यका बाहिर र भित्र दुवै स्थानमा फास्ट मुभर्स लजिस्टिक कम्पनीमार्फत सेवा दिइरहेका छौं।’

संस्थाले पाठकलाई साहित्यिकसँगै आर्थिक, स्वास्थ्य, यात्रा, पर्यटन, बालबालिका, धार्मिक, आध्यात्मिक, ऐतिहासिक, गणितीय, लोकसेवालगायत विविध विधाका पुस्तक उपलब्ध गराउँदै आएको छ।

कारागार र अस्पतालमा पुस्तकालय

समूहका सदस्य विकेशका अनुसार संस्था कारागार र अस्पतालमा व्यवस्थित पुस्तकालय खोल्ने योजनामा छ। साथै संस्थाले ‘कर्पोरेट लाइब्रेरी’को अवधारणालाई पनि अघि सार्ने तयारी गरिरहेको छ। ‘कर्पोरेट संस्थामा काम गर्ने कर्मचारीहरू कामकै चापमा हुन्छन्। बिहानदेखि बेलुकासम्म कार्यालयमै बसेर काममा व्यस्त भइरहने उनीहरूलाई फुसर्दको समयमा पुस्तक पढ्न पुस्तकालय खोल्ने योजनामा छौं’, विकेशले भने, ‘कर्पोरेट संस्थासँग मिलेर कसरी काम गर्न सकिन्छ भन्ने सल्लाह हुँदैछ।’

ऋषिरामले कारागारलाई ‘कारागार’ नभई ‘सुधार गृह’को रूपमा विकास गर्न पुस्तकालय आवश्यक रहेको बताए। ‘नेपालका ७७ वटा जिल्लामा रहेका कारागारलाई नमूना कारागारको रूपमा विकास गर्न व्यवस्थित पुस्तकालय बनाउनेछौं। पुस्तकालयमा कैदीहरूलाई तनाबबाट मुक्त हुने, उत्प्रेरणा दिने, सिर्जनशिल काम गर्न प्रोत्साहित गर्ने पुस्तकसँगै दिग्गजका आत्मसंस्मरण तथा साहित्यिक कृतिहरू पनि राख्नेछौं’, ऋषिरामले योजना सुनाए, ‘अस्पतालमा पनि बिरामी र कुरुवालाई बस्न निकै सकस पर्छ। नशाका बिरामीहरूलाई दिनभरी सुतिरहनु पर्ने भएकाले उनीहरूलाई त्यो समयमा पुस्तक पढाउन सकियो भने आत्मबल बढ्छ। बिरामी कुरूवालाई पनि समय काट्न सजिलो हुन्छ।’ कारागारमा पुस्तकालय खोल्ने विषयमा नेपाल सरकार वा प्रदेश सरकारसँग छलफल गर्ने योजना रहेको ऋषिरामले खुलाए। उनको समूहले नाटकघरमा पनि ‘कमन रिडिङ’को सोचलाई अगाडि बढाउँदैछ।

हरेक जिल्लामा ‘सद्भाव दुत’

ऋषिरामको समूह ‘किताब यात्रा’लाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न तल्लिन छ। त्यसका लागि संस्थाले नेपालका ७७ वटै जिल्लामा ‘सद्भाव दुत’ तोक्ने तयारी गरिरहेको छ। संस्थाले रुकुममा मदन मगर र हेटौंडामा विवेक भट्टराईलाई ‘सद्भाव दुत’ तोकिसकेको छ। ‘सद्भाव दुतमार्फत स्थानीय आमा समूह, युवा समूहको सहयोगमा सहरदेखि गाउँतहसम्म पठन संस्कृति बढाउन चाहन्छौं’, ऋषिरामले भने, ‘हाम्रो योजना ‘चिसो भनेकै कोकाकोला’ भने जस्तै ‘किताब भनेकै किताब यात्रा’ बनाउने हो।’

 

प्रकाशित: १७ पुस २०७५ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App