८ वैशाख २०८१ शनिबार
विचार

गुणात्मक विकास र समय सापेक्ष विस्तार

‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’, नेपालको स्वास्थ्य एवं स्वास्थ्य शिक्षा क्षेत्रमा धुलिखेल अस्पतालको अवस्था अकबरी सुन साबित भएको छ। यो एकै दिनको उपलब्धि भने कदापि होइन। वर्षौंको मेहनत अनि सयौँ, हजारौँ दृढसंकल्पित अस्पतालकर्मीहरूको मेहनतको फल हो। यात्रा यहीँ रोकिनेछैन।  हाम्रो सामूहिक कार्यको नतिजास्परूप नेपाली चिकित्सा क्षेत्रमा आएका परिवर्तनका कारण विदेशी दातृ निकाय अनि स्वदेशी नीति निर्माताहरू विश्वस्त हुन थालेका छन्, आश्वस्त छन्। धुलिखेल अस्पतालमा केही हुन्छ। आपूmले गरेको लगानीको अनि सहयोगको भरपुर उपयोग हुन्छ। त्यो पनि गरिब अनि आर्थिक रूपमा मूल धारबाट तिरस्कृतहरूको भलोमा। 

दुई कोठे भवनबाट सुुरु भएको धुलिखेल अस्पतालले आजको दिनमा, आजको स्वरूप ग्रहण गर्ला भन्नेमा यस अस्पतालका रानो अनि उहाँका निकतटम सहयोगीले पनि सायदै सोच्नुभएको थियो होला। पछिल्ला दिनमा रानोको मुखारविन्दबाट सुन्ने अवसर पाइयो ‘सफलताले सफलतालाई आकर्षण गर्दो रहेछ’ धुलिखेल अस्पतालको हकमा त्यही भएको हो। 

विकास त समयक्रममा हुनसक्छ र हुँदो पनि होला तर गुणस्तरलाई सम्झौता नगरी र दिगोपनालाई हृदयगंम गरी गरिने विकास कमै होलान्। धुलिखेल अस्पतालको सफलताको कसी यही नै मान्नुपर्छ। मानिसहरू मनभरि, तनभरि आफ्नो स्वार्थ लुकाएर धुलिखेल अस्पतालको विकास हेर्न आउँछन्, सिक्न आउँछन्, जान्न चाहन्छन् तर जबसम्म सही मानेमा आफ्नो स्वार्थलाई दुत्कार्न सक्दैन भने धुलिखेल अस्पताल जस्तो अर्को धुलिखेल अस्पताल कदापि बनाउन सकिँदैन। सत्यता यही हो, यसलाई जति चाँडो बुझ्न सक्यो र यस मन्त्रलाई आत्मसात् गर्न सक्यो। धुलिखेल अस्पताल जस्तो अर्को अस्पताल बनाउन कत्ति पनि बेर लाग्दैन।

धुलिखेल अस्पतालका मास्टर माइन्डहरूले विश्वका ठूल्ठूला विश्वविद्यालयबाट विकास अनि मानव संसाधन व्यवस्थापनमा ठूल्ठूला उपाधि लिएर विकास अनि विस्तार गर्न थालेको होइन। बजार अर्थतन्त्रको साधारण नियमलाई पछ्याउँदै ट्रायल एन्ड इररको रूपमा आजको स्वरूपमा आएको हो।

धुलिखेल अस्पतालमा आउन नसकेका बिरामी अनि सेवाग्राही छन् भने ‘तिनीहरूकै दैलोदैलोमा पुग्छौँ’ भन्ने अभियानका साथ अहिलेसम्म करिब दुई दर्जन आउटरिच सेन्टरका माध्यमबाट स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा जस्ता आधारभूत मानव अधिकार पर्खेर बसेका नेपाली दाजुभाइ दिदीहरूको आँगनमा पुगेका छौँ र पुगिरहने छौँ पनि। हामी केवल स्वास्थ्य भनेर मात्र बसेनौँ। 

तपाईंलाई विश्वास नलाग्न सक्छ, पुल बनाउने, बाटो बनाउने, स्कुल शिक्षा कार्यक्रम चलाउने, स्कुल भवन बनाइदिने, आर्थिक आय आर्जनका कार्यक्रम चलाउने, रोजगारी तालिम दिने, धुवाँरहित चुल्होको प्रयोग गर्न लगाउने, किचन गार्डेन बनाउने कामले पनि स्वास्थ्य स्तर उकास्छ भनेर ? तर धुलिखेल अस्पतालका आउटरिच सेन्टरबाट यी स्वास्थ्य इतर कार्यक्रम सञ्चालन गरेर सकारात्मक परिणाम ल्याइसकेको छ। विकास पढ्न चाहने, यसमा अनुसन्धान गर्न चाहनेहरूका लागि यी प्रत्येक कार्यक्रम स–साना विश्वविद्यालय नै साबित हुन्छ। कक्षाकोठाभित्र चक डस्टर अनि मार्करको जमाना गइसक्यो अबको समय फिल्डमै उत्रैर सिक्ने समय हो। त्यसैले त ‘क्लासरुम टु कम्युनिटी प्रोगाम’को अवधारणा आएको छ।

आजको दिन धुलिखेल अस्पतालमा रजिस्टर्ड सेवाग्रहीको संख्या सालाखाला नौ लाख पुगेको छ। म त भन्छु, उहाँहरू त हाम्रा प्रत्यक्ष एम्बेसडरहरू हुनुहुन्छ। उहाँहरूले कम्तीमा आफ्ना परिवारजन अनि हितैषीहरूलाई धुलिखेल अस्पतालको कामबारे जरुर बताउनु हुन्छ होला। हामीकहाँ आएका सबैलाई, शत प्रतिशतलाई चित्त बुझाउन सक्यौँ होला भन्ने भ्रममा रहन चाहँदैनौँ तर हामीलाई हाम्रो गल्ती एवं कमजोरी औँल्याइदिनुहोस्। हामी त्यसलाई सच्याउन अनि गल्ती नदोहोर्‍याउन कटिबद्ध छौँ। 

विगतमा हप्तौँ अस्पतालमा बस्नुपर्ने बिरामीको बाध्यतालाई हामी मिनिमल इन्भेजिभ सर्जरीका माध्यमबाट अस्पतालको बसाइँ अनि बिरामीको सामान्य अवस्थामा फर्किने समयलाई गुणात्मक रूपमा घटाएका छौँ। यसले गर्दा बिरामी एवं तिनीहरूको परिवारजनलाई आर्थिक हिसाबले कति फाइदा पुग्यो अनि बिरामीलाई कति सहज र सरल तरिकाले रोगबाट तंग्रिन मद्दत मिल्यो भनेर माइक्रो इकोनोमिक्सको नजरले विश्लेषण गर्न सकिएको छैन। 

खेती किसानी अनि पशुपालनमा आश्रित हाम्रा गाउँले सेवाग्राहीहरूले कति छिटो आफ्नो खेतबारीको माटो सुँघ्न पाइयो, तिनीहरूका गाईबस्तु कति धेरै दिन भोकै बस्न परेन। यस्तो सोसियो एन्थ्रोपोलोजीको दृष्टिले विश्लेषण गर्न के हार्वर्ड अनि अक्सफोर्ड विश्वविद्यालयबाट जानकारहरू बोलाउनुपर्ने हो ? के उनीहरूले नेपाली सुहाउँदो तवरले विश्लेषण गर्न सक्लान् ? 

दूरदराजमा रहेका नेपालीले केही समस्या आए आडैमा धुलिखेल अस्पताल अनि यसका आउटरिच सेन्टरका सेवा छँदै छ नि भनेर ढुक्कका साथ निदाउन पाउनु, सक्नु कम चानचुने उपलब्धि होइन। २०७२ को महाभूकम्प लगत्तै सबै घाइतेलाई निःशुल्क उपचार गर्न नेपाल सरकारको निर्देशन आवश्यक भएन, हामीलाई। 

अस्पतालका कर्मचारी (चिकित्सक, गैरचिकित्सक) लाई ओभरटाइम काम गर्नुपर्‍यो, ओभरटाइम भत्ता दिउँला भनेर काम गरेको होइन। सबै जनाले स्वतःस्पूmर्त रूपमा भूकम्पका पराकम्पन खपेरै, आफ्नो लडेका घर अनि चिन्ताग्रस्त परिवारजनलाई छाडेर अस्पतालको सेवा प्रवाह गुणात्मक तवरमा सेवा दिएर त धुलिखेल अस्पतालको छुुट्टै पहिचान बन्यो।

‘चुनौतीलाई अवसर’का रूपमा लिने हाम्रो रानोको भाषामा ‘अबनर्मल बानी’ कारण आज हामीले यति विकास अनि विस्तार गर्न सकेका छौँ। यसै उपलब्धिलाई मध्यनजर गरी धुलिखेल अस्पतालको वार्षिकोत्सवको अवसरमा सम्पूर्ण अस्पतालकर्मी अनि यसका शुभचिन्तकहरूलाई आ–आफ्नो काँधमा धाप दिनुहोला। 

तर के यति विकासले पुग्यो त ? के यति विस्तारले थकाइ मार्ने समय आयो त ? देश लामो द्वन्द्वमा रहेका बेला अनि अस्पताल अनि आउटरिचका लागि भनेर छुट्याइएको कुनै पनि थलो समतल अनि सुगममा नरहेका बेला त हामीले यत्ति उपलब्धि गर्‍यौँ भने हामी गला फुलाएर भन्न चाहन्छौँ– हामी सक्छौँ, हामी चुनौती स्वीकार्छाैं।  

प्रकाशित: १७ पुस २०७५ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App