coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दोलखामा कांग्रेसको कडा निर्देशन

सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार दोलखाको चरिकोटमा कांग्रेसले आयोजना गरेको कार्यक्रमका सहभागी। तस्विर : रमेश/नागरिक

दोलखा – स्थानीय तहमा भ्रष्टाचार र मनपरी बढेको भन्दै दोलखामा प्रतिपक्षी दल कांग्रेसले कम्युनिस्ट नेतृत्वको स्थानीय सरकारविरुद्ध कठोर ढंगले प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएको छ। स्थानीय तह गठन भएको दुई वर्ष बित्न लाग्दासमेत दोलखामा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नो आलोचना भइरहेका बेला कांग्रेसको जिल्ला नेतृत्वले स्थानीय तहका काम कारबाही निगरानी गर्न र बेथिति पाइए कठोर ढंगले प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएको हो।

जिल्लाका दुई नगर र सात गाउँपालिका छन्। जसका ७४ वटा वडा छन्। तीमध्ये कांग्रेसले दुई गाउँपालिका र २० वटा वडामा मात्र निर्वाचन जितेको थियो। सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्काले स्थानीय सरकारका गतिविधिलाई निगरानी गर्न पार्टी मातहतका समिति र अगुवा कार्यकर्तालाई निर्देशन दिए।

‘स्थानीय सरकारमा प्रतिपक्षको भूमिका बलियो हुन सकेको छैन,’ उनले भने, ‘अब टोल, वडादेखि नै जागरुक भएर स्थानीय तहका कामलाई निगरानी र खबरदारी गर्न तयार रहनूस्।’ सभापति खड्काले पार्टीको महासमिति बैठकबाट विधान पारित भइसकेका कारण अब नयाँ विधानअनुसार तल्लो तहसम्म पार्टीका संरचना बनाउन जिल्ला कांग्रेसले अभियान बोकेर गाउँ जाने समेत बताए। ‘टोलवडा, नगरपालिका हुँदै निर्वाचन क्षेत्रसम्मका तदर्थ समितिहरू बनाउन र सबै क्षेत्रमा जिम्मेवार भूमिका निर्वाह गर्ने गरी जिल्लाभरि पार्टीलाई सशक्त बनाउँदैछौं,’ खड्काले भने।
कार्यक्रममा कांग्रेसका निवर्तमान जिल्ला सभापति ताराबहादुर कोइरालाले तत्कालीन एमाले र माओवादी केन्द्रले जितेका नगरपालिका, गाउँपालिकादेखि वडा तहसम्म संस्थागत भ्रष्टाचार र मनपरी बढेको आरोप लगाए। ‘भ्रष्टाचारसँगै स्थानीय सरकारहरूमा विकासमा पूर्वाग्रह र विभेद असाध्यै छ, हरेक क्षेत्रमा कार्यकर्ताको भर्ती केन्द्र बनाइएको छ,’ कोइरालाले भने, ‘त्यसका विरुद्ध विद्रोह गर्न तयार रहनूस्।’ कार्यक्रमका वक्ताहरूले जिल्लामा सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए।

प्रकाशित: १७ पुस २०७५ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App