coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पुस्तक वितरण गरेर जन्मदिन मनाउँछन् विद्यार्थी

भक्तपुर - स–साना विद्यार्थीले आफ्नो जन्मदिन कसरी मनाउलान्। धेरैको सहज जवाफ हुनसक्छ– स्कुलका आफ्ना सहपाठीहरूलाई चकलेट बाँंडेर वा भोज खुवाएर। तर भक्तपुरको एउटा स्कुलका विद्यार्थीले आफ्नो जन्मदिन उदाहरणीय काम गरेर मनाउने गरेका छन्।
भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङलिस स्कुलका विद्यार्थी आ–आफ्ना जन्मदिनमा जम्मा पारेको रकमले पुस्तक किनेर दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क बाँड्छन्। यहाँका विद्यार्थी आफ्नो जन्मदिनमा साथीहरूलाई चकलेट बाँड्दैनन्। बरु सकेको सहयोग रकम एउटा कोषमा जम्मा गर्छन्। अनि वर्षभरिमा संकलित त्यही रकमबाट पुस्तक खरिद गरी देशका दुर्गम क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क बाँड्ने गरेका हुन्।

यसपटक पनि उनीहरूले २०७४ सालभरिमा जम्मा भएका जन्मदिनका रकमले दुर्गम क्षेत्रस्थित दुई विद्यालयका विद्यार्थीलाई पुस्तक प्रदान गरेका छन्। स्कुलमा कार्यक्रमको आयोजना गरी बझाङको दुर्गम केदारस्युँं–९ स्थित श्री भैरव माध्यमिक विद्यालय र गोरखाको घलाङ–३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई उनीहरूले पुस्तक सहयोग गरेका हुन्। राष्ट्रिय गानका लेखक व्याकुल माइलामार्फत पुस्तक ती विद्यालयका प्रतिनिधिलाई पुस्तक हस्तान्तरण गरिएको हो। माइलाले भैरव माविका प्रतिनिधि रेणु उपाध्याय र अशोक विष्ट तथा राष्ट्रिय माविका प्रधानाध्यापक रामबहादुर थापा र व्यवस्थापन समितिका अध्यक्ष मदन बस्नेतलाई संयुक्त पुस्तक हस्तान्तरण गरेका हुन्।

प्रतिस्कुल १ हजार ५ सय ५६ वटा पुस्तक प्रदान गरिएको हो। साथै स्टेशनरी सामानहरू पनि सहयोग गरिएको सहयोगी एभरेस्ट स्कुलका विद्यार्थीले जानकारी दिएका छन्। उनीहरूका अनुसार बझाङको भैरव माविलाई १ लाख २८ हजार ९ सय ६२ रुपैयाँ बराबरका पुस्तक र ३३ हजार ९ सय ७० रुपैयाँ बराबरका स्टेशनरी सामान तथा गोरखाको राष्ट्रिय माविलाई १ लाख २७ हजार ७ सय ६३ रुपैयाँं बराबरका पुस्तक र ७ हजार ८ सय ८५ रुैपयाँ बराबरका स्टेशनरी सामग्री प्रदान गरिएको हो।

भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङलिस स्कुलका विद्यार्थी आ–आफ्ना जन्मदिनमा जम्मा पारेको रकमले पुस्तक किनेर दुर्गम क्षेत्रका विद्यालयलाई निःशुल्क बाँड्छन्।

कार्यक्रमका प्रमुख अतिथि व्याकुल माइलाले यो काम सबैका लागि उदाहरणीय भएको बताए। यसबाट अरूले पनि सिक्नुपर्ने धारणा राखे।
जन्मदिन मनाउने नयाँ संस्कारको सुरुवात गर्ने उद्देश्यका साथ २०६६ सालमा ‘एभरेस्ट टिएन वर्ड डे फन्ड’ स्थापना गरी यस्तो अभियान सञ्चालन गरिएको एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले जानकारी दिए। यही फन्डमा स्कुलभरिका विद्यार्थीले आ–आफ्ना जन्मदिनमा सकेको रकम जम्मा गरी यसरी सहयोग गर्ने गरिएको उनले बताए। प्रत्येक वर्ष स्कुलको आवश्यकता हेरेर कुनै स्कुललाई कोर्सका त कुनैलाई रिफरेन्स बुकका रूपमा कथा, कविताजस्ता साहित्यिक पुस्तक दिने गरिएको उनले सुनाए। २०७४ सालमा संकलित रकमबाट गत फागुनमा दुई र अहिले दुई गरी यस वर्ष चार स्कुलका विद्यार्थीलाई पुस्तकलगायत शैक्षिक सामग्री सहयोग गरिएको प्रिन्सिपल राजभण्डारीले जानकारी दिए।

आफ्नो जन्मदिनमा विद्यार्थीले सकेको आर्थिक सहयोग फन्डमा जम्मा गराउने व्यवस्था स्कुलले मिलाएको छ। जन्मदिन परेका विद्यार्थीको नाम र उसले गरेको सहयोग उद्घोष गरी कोषमा रकम जम्मा गर्ने गरिन्छ। विद्यार्थीबाट संकलित रकमबाट पहिलोपटक २०६६ सालमा भक्तपुर अस्पतालका बिरामीलाई ओढ्ने लुगा वितरण गरिएको स्कुलले जनाएको छ। त्यसपछि हरेक वर्ष दुर्गम क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई पुस्तक सहयोग गर्ने गरिएको उक्त स्कुलका शिक्षकले जानकारी दिएका छन्। अहिलेसम्म यस्ता १४ विद्यालयलाई सहयोग गरिएको विद्यालयले जनाएको छ।

क्याप्सनः भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इङलिस स्कुलका विद्यार्थीका तर्फबाट बझाङको भैरव र गोरखाको राष्ट्रिय माविलाई पुस्तक हस्तान्तरण गर्दै राष्ट्रिय गानका लेखक व्याकुल माइलालगायत।

प्रकाशित: १७ पुस २०७५ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App