coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

को मित्रु, को शत्रु!

सन् १९९८ को चलचित्र 'सेक्सपियर इन लभ' को एउटा दृश्यमा विलियम सेक्सपियर क्रिस्टोफर मारलोसँग कुरा गरिरहेका हुन्छन्। सेक्सपियर त्यतिबेला 'रोमियो एन्ड एथेल, द पाइरेट्स डटर' नामक उपन्यास लेख्दै हुन्छन्। मारलोले एथेलको साटो जुलियट नाम प्रस्ताव गर्दै कथाको मुटु मानिने वियोगान्त घटनाक्रमबारे सल्लाह दिन्छन्। दुवै लेखक एकअर्कालाई आत्मीयताका साथ 'किट' र 'विल' भनेर सम्बोधन गर्छन्।

साहित्यका विद्वान् तथा विशेषज्ञहरू यी दुई लेखकले वास्तविक जीवनमा कहिल्यै एकआपमा नभेटेको विश्वास गर्छन् भने केही 'कन्स्पिरेसी थ्योरी' अनुसार सेक्सपियरका कृतिका वास्तविक लेखक मारलो भएको विश्वास गर्छन्। मूलतः दृश्यले दुई लेखक आफ्नो कला र कृतिबारे एकापसमा कुराकानी गरिरहेको र उक्त विचार'विमर्शबाट दुवैले लाभ उठाइरहेको देखाउँछ। यस्ता 'साहित्यिक' मित्रता वास्तविक जीवनमा पनि अस्तित्वमा रहेका छन् तीतो दुश्मनीजस्तै।

टेगोर र यिट्स

सन् १९१३ मा रविन्द्रनाथ टेगोर साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो गैरयुरोपियन लेखक बन्न सफल भए। टेगोरले अनेकौँ कृतिको सिर्जना गरेको भए पनि पुरस्कारको मुख्य आधार उनको उपन्यास 'गीताञ्जली' नै थियो। उनको यो कृति विश्वसामु उजागर गराउने मुख्य श्रेय आयरिस कवि विलियम बट्लर यिट्सलाई जान्छ, जसले उक्त संग्रहको परिचय लेख्नुका साथै त्यसलाई लन्डन सांस्कृतिक मञ्चसम्म पुर्‍याउने कार्य गरे, जहाँ उनी आफै एक प्रमुख व्यक्तित्व थिए। वास्तवमा उनले लन्डनमा टेगोरसँग भएको भेटलाई 'आफ्नो कलाकारिता जीवनको एक महŒवपुर्ण घटना' भनी व्याख्या गरेका छन्।

गीताञ्जलीको परिचय र उक्त कृतिले उनलाई पारेको प्रभावबारे बताउने क्रममा उनले भनेका थिए, 'मैले कैयौँ दिनसम्म ती अनुवादका पाण्डुलिपि आफूसँग बोकेर हिँडे। कहिले रेलगाडीमा, कहिले सार्वजनिक बसहरूमा त कहिले रेस्टुराँमा बसेर पढेँ, धेरैजसो समय मैले बीचमै पढ्न रोकिनुपर्थ्यो ताकि कुनै अपरिचित व्यक्तिले यो नदेखुन कि मलाई यो कृतिले कति प्रभावित पारेको रहेछ भनेर।'

पछिका वर्षमा यिट्सको टेगोरप्रतिको अनुराग विभिन्न कारणले सेलाउँदै गयो, किनकि उनलाई टेगोरका पछिल्ला कृतिहरू केही बढी नै भावुक लाग्न थाल्यो। तर, त्यतिञ्जेल टेगोर विश्वप्रशिद्ध व्यक्तित्वका रूपमा गनिन थालिसकेका थिए र उनका धेरै प्रशंसक थिए। यिट्सको मित्रताले टेगोरका लागि पश्चिमी साहित्यजगत्को ढोका खोल्न मद्दत गर्‍यो। त्यसपछिका समयमा यी भारतीय लेखकले आफ्नो छुट्टै बाटो बनाउँदै गए।

नारायण र ग्रिन

आरके नारायण र ग्राहम ग्रिनबीचको मित्रता पनि विश्वजगत्मा एक उत्तम मित्रताको बिम्बका रूपमा स्थापित छ, जसमा एक लेखकका लागि अर्काे लेखकले परामर्शदाताका रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

सन् १९३४ ताका एक नयाँ लेखकका रूपमा आरके नारायण धेरै पटक बेलायती प्रकाशकहरूबाट अस्वीकृत भए। निराशाका बीच उनले आफ्ना पाण्डुलिपिहरू थेम्स नदीमा मिल्काइदिन आफ्ना साथीलाई (जसलाई उनले प्रकाशनका निम्ति आफ्ना पाण्डुलिपि पठाएका थिए) आग्रह  गरे। तर, उनका साथीले उक्त पाण्डुलिपि संयोगबस ग्रिनलाई देखाउन पुगे, जसबाट उनी अत्यधिक प्रभावित भए। उनले उक्त कृतिलाई सुधार्न र सम्पादन गर्न धेरै सहयोग गर्दै रशिपुरम कृष्णस्वामी नारायणलाई आफ्नो नाम आरके नारायण लेख्न सुझाव दिए। स्वामी एन्ड फ्रेन्ड्स' ले अन्ततः प्रकाशक पायो( हेमिस हेमिल्टन ) र नारायणले आफ्नो बाटो बनाए। यो मित्रता पनि समयको परीक्षामा सफल रह्यो र ग्रिनले सधैँ परमर्शदाताका रूपमा, कहिले सम्पादकका रूपमा, कहिले सुझावकर्ताका रूपमा अनि प्रकाशकको खोजीमा सहयोग जारी राखे।

कोलट्कर, मेहरोत्र र चित्रे

अरुण कोलट्कर र उनका साथी कविद्वय दिलीप चित्रे र अरविन्द कृष्ण मेहरोत्रबीचको मित्रता केही कम ज्ञातयुक्त मित्रतामा पर्छ। कोलट्करजस्तै चित्रे पनि मराठी र अंग्रेजी भाषाका कवि थिए भने मेहरोत्र अंग्रेजी भाषाका कविका साथै एक प्रमुख संग्रहकर्ता हुन्।

सन् २००४ मा कोलट्कर मृत्युशै्ययामा हुँदा मेहरोत्र उनका कवितासंग्रह सम्पादन गर्दै थिए, जुन पछि 'द बोटराइड एन्ड अदर पोयम्स' शीर्षकमा प्रकाशित भयो। उक्त संग्रहको चिनारीमा एक मर्मस्पर्शी कथा रहेको छ, जसमा कोलट्करको 'द बोटराइड' को सूक्ष्म व्याख्या बु‰न मेहरोत्र कसरी पुणेसम्म उनलाई भेट्न पुगेका थिए भन्ने उल्लेख छ।

पुणेमा मेहरोत्रले चित्रेलाई पनि भेट्छन्, जसले भर्खरै कोलट्करमाथि एउटा चलचित्र बनाएका हुन्छन् र उनीसँग कोलट्करका कैयौँ अप्रकाशित कविता र अन्य सामग्री रहेका हुन्छन्। यो यात्रा र भेटघाटले कोलट्करका रचनाहरूको संग्रह गर्ने पूर्वयोजनामा अझै सहयोग पुग्छ र नयाँ सामग्रीका पर्याप्तताले मेहरोत्रलाई कोलट्करका जीवनका नदेखिएका पाटाबारे अझै राम्रोसँग बु‰न पनि मद्दत पुग्छ।

हिन्दी लेखक र तिनका सम्बन्ध

आधुनिक हिन्दी साहित्यिक फाँटमा जयशंकर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी 'निराला' मार्गदर्शकका रूपमा अग्रस्थानमा पर्छन्। महादेवी वर्माका साथ यी त्रय 'छायावाद' विद्यालयका एक हिस्सा थिए, जुन समयमा उक्त विद्यालय अंगेजी साहित्यको 'प्रेमिल आन्दोलन' को प्रमुख मानक थियो। यी तीनमध्ये प्रसाद सबैभन्दा जेठा थिए भने निराला 'भयानक बच्चा' का रूपमा गनिन्थे। कलकत्ताको सोनागाछिस्थित एक वेश्यालयमा गएपछि निरालालाई गम्भीर रोग लाग्दा प्रसादले आर्थिकरूपमा कमजोर यी लेखकको उपचार गराएका थिए।

निराला र पन्तको भने छुट्टै कथा थियो। हरिवंशराय बच्चनको आत्मकथा (हिन्दी भाषामा चार खण्डमा प्रकाशित र अंग्रेजीमा 'इन द आफ्टरनुन अफ टाइम' का नाममा रुपर्ट स्नेलद्वारा संक्षेपमा अनुदित) मा एउटा विचित्र घटना उल्लेख छ, जसले यी दुईबीचको तनावपूर्ण सम्बन्ध उजागर गर्छ। वास्तवमा सन् १९४८ को एक गर्मी मध्याह्नमा बच्चन, पन्त र एक अर्का हिन्दी लेखक अमृतलाल नागर चिया पिउँदै गर्दा निराला आवेशयुक्त चालमा उनीहरू भएतर्फ लम्कन्छन्। ती दिनमा उनी सधँैजसो पहलमानको भेषभुषामा रहन्थे। निरालाले त्यसपछि पन्तलाई आफूसँग कुस्ती खेल्न चुनौती दिन्छन्, बच्चन र नागर हेरेको हेर्‍यै हुन्छन्। यी दुई कविबीचको उग्र वैमनश्य जनाउने उक्त आलेख एउटा प्रतिनिधि घटनामात्रै हो। हिन्दी साहित्यको विचार–विमर्शमा यी दुई कविको नामसँगै आए पनि वास्तविकतामा उनीहरू एक अर्कालाई घृणा गर्थे।

अन्ततः अमेरिकातिर

ट्रुम्यान कापोट र हार्पर लीबीचमा पनि एउटा अनौठो साहित्यिक मित्रता थियो। ली सन्यासी किसिमका लेखक थिए, जसको प्रसिद्धि केवल उनको एकल सिर्जना, 'टु किल अ मोकिङबर्ड' र त्यसको उत्तरकृति 'गो सेट अ वाचम्यान' मा आधारित थियो। कापोट भने रसिक किसिमका व्यक्ति थिए र न्युयोर्कमा विलाशी जीवनयापन गर्थे। लीभन्दा भिन्न कापोटले सन् १९४८ मा प्रकाशित आफ्ना उपन्यासहरू 'अदर भ्वाइसेस र 'अदर रुम' को ख्यातिबाट आफूलाई एक सफल लेखकका रूपमा स्थापित गराइसकेका थिए। त्यसबाहेक सन् १९५८ मा प्रकाशित 'ब्रेकफास्ट एट् टिफानी' तथा अन्य किताब, आलेख र नाटकहरूले उनको प्रसिद्धिलाई अझै उचाइमा पुर्‍याउन प्रमुख भूमिका खेले। 'मोकिङबर्ड' का पात्र दिल आफूसँग आधारित रहेको कापोट आफैले बताएका थिए। गम्भीर किसिमका लीले भने यो तथ्य न स्वीकार गरे न त त्यसको खण्डन नै! कापोटको किताब, 'इन कोल्ड ब्लड (१९६५) का लागि पनि लीले उल्लेखनीय सहयोग गरे। जहाँसम्म साहित्यिक मित्रताको सवाल छ, उनीहरूको भिन्न व्यक्तित्वका करण यो मित्रता अनौठो नै लाग्छ।

साहित्यिक क्षेत्रमा सायद दस्ताबेजकै रूपमा रहेको झगडाचाहिँ गोर भिडाल र कापोटबीचको दुश्मनी थियो। अमेरिकी लेखक भिडाल जो 'मायरा ब्रेकिनरिज' र 'माइरन'जस्ता किताबका लेखक थिए, उनले कापोटलाई एकदम घृणा गर्थे। उनले एकपटक भनेका थिए– 'कापोटलाई म एकदमै घृणा गर्छु। जसरी कुनै एक जनावरलाई घृणा गरिन्छ। त्यो फोहोरी जनावर जसले घरको बाटो पहिलाएको छ।' उनले पछि टिप्पणी गरे कि कापोटले झूटलाई एउटा कलाको रूपमा ढालेका छन्, एक महŒवहीन कला। कापोटको कटु जवाफ हो, म गोरको विषयमा एकदम दुःखी रहन्छु। मलाई दुःख लाग्छ कि उसले हरेक दिन सास फेर्नुपर्छ।

उनीहरू एकअर्कालाई किन घृणा गर्थे भन्नेबारे कुनै स्पष्टता छैन। वास्तवमा उनीहरूका बीच धेरै समानता थिए। दुवैले आफ्नो पहिलो उपन्यास एउटै वर्ष, सन् १९४८ मा प्रकाशित गरेका थिए। समलैंगिकता अपराध ठहरिने समयमा पनि उनीहरू खुलारूपमा समलैंगिक थिए। दुवैजना न्युयोर्कमा बस्थे र एकअर्का समलैंगिक लेखक, टेनेसे विलियम्सका शिष्य थिए।

तर, उनीहरू नियमितरूपमा प्रेसमार्फत् एकअर्कालाई प्रहार गर्न चुक्दैनथिए। बेलाबखत एकअर्काका लेखन शैलीप्रति पनि कटाक्ष गर्थे। एकपटक त उनीहरू एकअर्काविरुद्ध अदालतसम्म पुगे, तर सन् १९८४ मा कापोटको मृत्युसँगै यो दुश्मनी समाप्त भयो। भिडालको एक अर्का लेखक नरमान मेलरसँग पनि गज्जबको दुश्मनी थियो। मेलरले कुनै बेला भिडाललाई आफ्नो टाउकोले हिर्काएका थिए र एक टीभी कार्यक्रममा उनप्रति उग्ररूपमा प्रस्तुत भएका थिए, तर भिडाल चुपचाप थिए।

ल्याटिन प्रेमीहरू

कापोट र भिडाल हात हालाहालको स्थितिमा पुगे पनि वास्तविक हात हालाहालको स्थितिचाहिँ गाब्रियल गार्सिया मार्खेज र मारियो भार्गास लोसाबीच रह्यो। कुनै समयका नजिकका मित्र यी दुवै स्पेनी साहित्यका हस्ती मानिन्छन् र दुवैले नोबेल पुरस्कार पनि प्राप्त गरेका छन्। तर, सन् १९७६ मा यो मित्रता टुंगिन पुग्यो। केही हल्लाअनुसार यो मित्रता टुंगिनुको कारण एक महिला थिइन् र ती महिला अरु कोही नभएर भार्गास लोसाकी पत्नी पात्रिसिया थिइन्। आफ्नो श्रीमान्ले स्विडिस विमानकी एक परिचारिकासँग अनैतिक सम्बन्ध राखेपछि पात्रिसियालाई मार्खेजले सान्त्वना दिएको निहुँमा उक्त दुश्मनी प्रारम्भ भएको मानिन्छ। प्रतिशोध स्वरूप सन् १९७६ को प्रणय दिवसका दिन, भार्गास लोसाले मेक्सिको सिटीको एक सिनेमाघरमा मार्खेजलाई आँखामा मुक्का प्रहार गर्छन्। मार्खेजले यसलाई सामान्यरूपमा लिन्छन र निलो भएको आँखासहित फोटो पनि खिचाउँछन्। वर्षौंसम्म पनि त्यस्तो कुनै फोटो छ भन्ने हल्ला  चलिरह्यो र सबैलाई चकित पार्दै उक्त फोटो सन् २००७ मा बाहिर आयो।

केही विज्ञ भने यो द्वन्द्वको कारण अरु नै केही भएको विश्वास गर्छन्। लोसाले  दक्षिणपन्थी राजनीतिप्रति अग्रसर हँुदै खुलाबजार रणनीतिका साथ सन् १९९० को पेरुको राष्ट्रपतीय चुनावमा भाग लिएका थिए भने मार्खेज एक घोषित वामपन्थी थिए। फिडेल क्यास्ट्रोसँगको उनको मित्रता चर्चित थियो। यी दुईको द्वन्द्व सायद राजनीतिक द्वन्द्व थियो।

आश्रय, दुश्मनी, मित्रता

आत्मदस्तावेजका रूपमा समेत प्रकाशित कुनै दुश्मनी छ भने त्यो पाउल थेरोक्स र भीएस नयपालको दुश्मनी हो। थेरोक्स कुनै बखत नयपालप्रति आश्रित मानिन्थे। तर, पछि यो मित्रतामा दरार आउन थाल्यो, जब नयपालका केही लेखको आलोचना थेरोक्सबाट हुन थाल्यो। तीबाहेक पनि अन्य केही मनमुटावले यो मित्रता अमिलिन थालेको थियो। थेरोक्सको सन् १९९८ को किताब 'सर भिडियाज स्याडो' यसै मनमुटाव र दुश्मनीकेन्द्रित छ।

यो दुश्मनी सन् २०११ मा जयपुर साहित्यिक सम्मेलनमा गएर टुंगियो। राजस्थान, जसलाई कहिल्यै नसकिने रक्तसंघर्षको भूमि मानिन्छ, उक्त माटोमा भएको यो दुश्मनीको अन्त्यलाई 'व्यंग्यात्मक' मान्न सकिन्छ।

यस्तै किसिमको अर्को सुखद् अन्त्य लोसा र मार्खेजको रहेको छ। लोसाले मार्खेजका रचनाको सार्वजनिकरूपमै तारिफ गरे। सन् २०१४ मा जब मार्खेजको देहान्त भयो, लोसाले भने– 'एक महान् लेखकको अवशान भयो। साहित्यको प्रचार र प्रतिष्ठा बढाउन उनको उल्लेख्य योगदान रहेको छ। उनी आफ्नो रचनामा सधैँ अमर रहने छन् र सधैँभरि पाठकको माया पाइरहने छन्।'

स्क्रोल डट इनबाट अनुवादः शिक्षा रिसाल

प्रकाशित: १५ आश्विन २०७३ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App