coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमालयकाे काखमा जलवायु छलफल

गुफाडाँडामा सुरु भएकाे जलवायु सम्मेलनका सहभागीहरु। तस्बिर : ध्रुव/नागरिक

गुफाडाँडा (सिन्धुपाल्चोक) - साढे दुई हजार मिटर उचाइको लेकाली क्षेत्र। पश्चिम र दक्षिणतिर चुचुरो टलक्क टल्केको जुगल हिमशृंखला। हिउँ भरिँदै गरेका हिमशृंखलाका दोर्जे लाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ टाकुरा झन् खुल्दा छन्। त्यसैको काखमा छ रमणीय पर्यटकीयस्थल गुफाडाँडा।

बाह्रैमास सिरिरी सिरेटो चल्ने यही डाँडामा भेला भएर बिज्ञसमूहसहित ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुख जलवायु परिवर्तनबारे छलफलमा जुटिरहेका छन्। उनीहरु जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर घनिभूत बिमर्शमा व्यस्त छन्।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाइ र जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्। उनले सम्मेलनस्थलमा बनाइएको जलवायुको असर झल्कने मानव ‘स्ट्याचु’ (प्रतिमा) को अनावरणसमेत गरिन्। मान्छेले पृथ्वी उचालेको स्ट्याचु हिमालतिर फर्केको छ। आयोजकका अनुसार स्ट्याचुको सन्देश हुन्छ, ‘मान्छेले नै मिलेर पृथ्वी बचाउने हो। अन्यथा पृथ्वीले नै मान्छेलाई थिच्छ।'
चिटिक्क सिँगारिएको सम्मेलनस्थलमा ७७ जिल्ला प्रमुख, उपप्रमुखले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे। उनीहरुका लागि जिल्लाको नेपाली बर्णानुक्रम अनुसार ७७ वटै झण्डाको व्यवस्था गरिएको थियो। ‘औद्योगिक मुलुकहरुले कार्वन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाव दिन्छौँ,’ सम्मेलन मूल आयोजक समितिका संयोजक रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले भने।

सम्मेलनमा भाग लिन विज्ञ टोलीसहित सबै जिल्लाका प्रमुख, उपप्रमुख लगायत सहभागी आइतबारै मेलम्ची आइपुगेका थिए। सम्मेलनमा भाग लिन उनीहरु मेलम्चीबाट झण्डै नाैं किलोमिटर मोटर यात्राद्वारा बिहान गुफाडाँडा आइपुगे। जलवायु परिवर्तनको प्रत्यक्ष असर देख्न सकिने भएकाले गुफाडाँडालाई सम्मेलनस्थलको रुपमा रोजेको समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दासले बताइन्। सम्मेलनस्थलबाट देखिने हिमाल हिउँले भरिन सकेका छैनन्। हिमालका चुचुरामा हिँउको चमक देखिए पनि पहाडका अधिकांश भाग काला पत्थरमा बदलिएका छन्। स्थानीयका अनुसार लेकाली गुफाडाँडामा करिब १६ वर्षपछि चार दिनअघि हल्का हिमपात भएको थियो। ‘त्यसअघि मंसिरदेखि नै हिउँ पर्न थाल्थ्यो। पुसमा त बाक्लो हिउँ जमिसक्थ्यो। तर यो बीचमा न हिमपात भयो, न हिमाल नै हिउँले ढाक्यो,’ स्थानीय सुनाउँछन्।
सम्मेलनमा विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिरहेका छन्। बिज्ञ डा. मदनलाल श्रेष्ठले सिन्धुपाल्चोक पोखरापछि दोस्रो बढी बर्षा हुने ठाउँ रहेको जानकारी दिँदै यहाँ खडेँरीको सम्भावना धेरै रहेको औँल्याए। ‘यहाँका पानीका मुहान प्रशस्त सुकिसकेका छन्,’ उनले भने। त्रिचन्द्र कलेजका उपप्राध्यापक नारायण गौतम, जल तथा मौसम विज्ञान विभागका विनोद पराजुली, त्रिभूवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका मदन सिग्देल लगायत विज्ञले सम्मेलनको पहिलो दिन ११ कार्यपत्र प्रस्तुत गरे।

विज्ञका बाँकी ११ कार्यपत्र मंगलबार समेत प्रस्तुत हुने आयोजकले जनाए। सम्मेलनको निष्कर्षको रुपमा मंगलबारै सिन्धुपाल्चोक घोषणापत्र जारी गरिने छ। ‘सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास लिएका छौँ,’ संयोजक तामाङले भने, ‘जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्नेछ।’

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नारासाथ आयोजना भइरहेको सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरमा आएकी थिइन्। सिन्धुपाल्चोकबाट संघीय र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसद, यहाँका १२ वटै स्थानीय तहका प्रमुख/अध्यक्षसमेत सम्मेलनमा सहभागि छन्।

मेलम्ची नगरपालिकाको ज्यामिरेमा पर्ने गुफाडाँडाबाट ३ सय ६० डिग्रीको कोणमा जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोट र काठमाडौँसम्मका दृश्य र वातावरण नियाल्न सकिन्छ।

प्रकाशित: १६ पुस २०७५ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App