७ वैशाख २०८१ शुक्रबार
कला

खलपात्रको खास अनुहार

'नायकले मलाई पिट्दा पनि, मैले नायकलाई पिट्दा पनि ५ वर्षीया छोरीले अँध्यारो मुख लगाउँछे,' खलनायकको भूमिका निभाउँदै आएका राजकुमार थापाले भने,  'सायद उसले जीवन र नाटकबारे बुझ्न धेरै बाँकी छ।' 'सिनेमा हलमा दर्शकबाट आउने गालीले खलनायकको भूमिका जीवन्त भएको महसुस हुन्छ,' उनले भने, 'त्यति बेला गाली पनि प्यारो लाग्छ।'

खाइलाग्दो जिउ डाल, सुन्दर अनुहार। काठमाडौं कागेश्वरी मनोहराका थापा चलनचल्तीका हिरोभन्दा कम्ता देखिन्नन्।  तर, सिनेमामा 'भिलेन' भूमिका रोजे र यसमै रमाउँदै आए। तीन दर्जनभन्दा बढी सिनेमामा उनले खलनायकको भूमिका निभाएका छन्।

०५८ सालतिर चलचित्र 'दुई पल' मा खलनायक भूमिका निभाउन गएका थापालाई निर्देशक प्रदीप श्रेष्ठले, 'पर्ख म तिमीलाई अर्को सिनेमामा हिरो  खेलाउँछु।'

तर, आफूले नमानेको थापा सुनाउँछन्। 'मलाई सानैदेखि भिलेन खेल्ने रहर थियो,' उनले भने, 'त्यो रहर पूरा हुदै गएको महसुस भएको छ।'

चलचित्रमा उनले निभाएको खलनायकी भूमिका हेरेपछि दर्शकले सिनेमा हलमै गाली गरेको उनले पाएका छन्। यस्ता गालीले आफूलाई  खुसी बनाउने उनी सुनाउँछन्। 'सिनेमा चल्दाखेरी दर्शकबाट आउने गालीले आफूले निभाएको खलनायक भूमिका जीवन्त भएको अनुभव हुन्छ,' उनी भन्छन्, 'आफ्नो अभिनय सार्थक भएजस्तो लाग्छ।'

खलनायक भूमिका निभाउँदा सुरुका दिनमा परिवारबाटै केही अप्ठेरो माने पनि आफूले उहाँहरुलाई बुझाएको उनी सुनाउँछन्। 'यो अभिनय हो, यसले मेरो व्यवहारमा केही प्रभाव पार्दैन भनेर परिवारकालाई सम्झाए,' उनी भन्छन्, 'पछि कुरा बुझ्नुभयो।' तर, उनलाई पाँच वर्षीया छोरीलाई सम्झाउन भने मुस्किल काम भएको छ।

'छोरीले सिनेमा हेर्दा आफ्नो अभिनय हेर्न सक्दिनँ,' उनले भने, 'त्यति बेला भने म मौन रहन्छु। छोरी सानै भएकाले  सिनेमा र अभिनय सम्झाउन सकेको छैन।'

दुई पलबाट अभियनयात्रा सुरु गरेका थापाले दोबाटो, आफ्नो मान्छे आफ्नै हुन्छ, हाम्रो माया जुनीजुनीलाई, दीपशिखा, डर, दागदेखि पछिल्लो चरणमा शकुन्तला, जय परशुराम लगायत  चलचित्रमा खलनायकको भूमिका निभाएका छन्। उनी अभिनीत किस्मत–२ असोज २१  गते रिलिज हुदै छ भने उनले खलपात्रमो भूमिका निभाएको 'किङ' चलचित्र प्रदर्शन हुन बाँकी छ।

'सिनेमामा डरलाग्दा देखिने थापा यथार्थमा त्यस्तो हुनुहुन्न। सबैको प्यारो हुनुहुन्छ,' स्थानीय जमाल मिया भन्छन्।

सुटिङको समय आफ्ना लागि निकै प्यारो लाग्ने बताउने राजकुमार आफूले पिटेका कलाकार आफ्नो नजिक आएर बसेको क्षण निक्कै रमाइलो लाग्ने सुनाउँछन्। 'सुटिङको समयमा तरबार प्रहार गरेर घाइते भएको केटा सुटिङ सकिनेबित्तिकै हाँस्दै मैछेउ आइपुग्छ,' उनले भने, 'एकछिनु अगाडिको  डरलाग्दो दृश्य एकैछिन्मा रमाइलो बन्छ।'

प्रकाशित: १५ आश्विन २०७३ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App