६ वैशाख २०८१ बिहीबार
राजनीति

‘महेन्द्र र विपी एक जंगलका दुई शेर’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाले राजा महेन्द्र शाह र विपी कोइरालालाई एउटा जंगलका दुई शेरको संज्ञा दिएका छन्। साथै, उनले आफू र आफ्नो पार्टीले इतिहासमा देशको लागि योगदान दिएका व्यक्ति र संस्थालाई सम्मान गर्ने पनि बताए। 

सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘२००७ सापछि नेपाली धर्तीमा दुई महान व्यक्तिहरुको उपस्थिति रह्यो, राजा महेन्द्र र विपी कोइराला, उहाँहरु एक जंगलका दुईवटा शेर हुनुहुन्थ्यो, भारत निर्वासनमा बस्नुभएका विपिले राष्ट्रियतालाई शीरमा राखेर स्वदेश फर्किनुभयो, राजसंस्था बिनाको राष्ट्रियताले कमजोर बन्छ भन्ने उहाँको दृष्टिकोण थियो, व्यक्तिगत रुपमा महेन्द्र र विपीका बीचमा टकराव भएपनि उहाँहरु दुरदर्शी नेता हुनुहुन्थ्यो, राष्ट्र र राष्ट्रियताका बारेमा एक ठाउँमा हुुनुहुन्थ्यो।’

मेलमिलाप दिवसको शुभकामना दिँदै उनले कांग्रेसले विपीको सम्मानको लागि नेपाललाई हिन्दू राज्य कायम गर्ने प्रयास गर्नुपर्ने सुझाव दिए। 

‘गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महंगी’

राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन्। उनले भने, ‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ? करोडौंका गाडी चाहिने? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने? अहिलेको विशाल शीतल निवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलासी हो?’ 

राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाइएको भन्दै उनले राष्ट्रपतिलाई सुविधा नै सविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ? भनी शंका जनाए।

अध्यक्ष राणाले दुई तिहाई बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको आरोप लगाए। २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको उनको भनाई छ। 

‘नेपाललाई हिन्दू राज्य कायम गर्नुको विकल्प छैन’ 

राणाले नेपाललाई हिन्दू राज्य कायम गर्नुको विकल्प नभएको बताए। नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उनले प्रजातन्त्रवादीहरु अब एक ठाउँमा उभिनुपर्ने समय आएको बताए। 

अध्यक्ष राणाले वर्तमान सरकार ‘होली–वाइन’ खान र नक्कली क्रिश्चियनहरुको  काखमा सुत्न गएको पनि आरोप लगाए। उनले भने, ‘दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी ओली तीन दिनसम्म ‘होली–वाइन’ खाएर नक्कली क्रिश्चियनहरुको काखमा सुत्नुभयो, योभन्दा लाजमर्दो अर्को कुरा के हुन सक्छ? योभन्दा धार्मिक रुपमा हामीमाथि अर्को खतरा के हुन सक्छ?’ 

प्रकाशित: १६ पुस २०७५ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App