coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतबाट दुइटा रेल किन्ने तयारी

काठमाडौं - नेपालले भारतसँग दुईवटा रेल किन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले रेल खरिदका लागि सबै प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै जनवरी १० (पुस २६ गते) दुई देशबीच खरिदको सम्झौता हुने जानकारी दिए। मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी मन्त्री महासेठले खरिद गर्ने सम्झौता भएको २–३ महिनामा भारतबाट रेल नेपाल आइपुग्ने बताए। 

‘हामीले सम्झौता गरेको एक महिनाजति रेल उपलब्ध गराउन भारतको रेल विभागलाई आग्रह गर्दै आएका छौं,’ उनले भने, ‘नेपालको राष्ट्रिय झन्डा भएको रेल कुन दिन आइपुग्छ भन्ने टुंगो जनवरी १० मा लाग्नेछ। जति ढिला भए पनि नेपालमा रेल आइपुग्न अबको २–३ महिनाभन्दा पछि धकेलिने छैन।’

पहिलो रेल आएको अर्को २–३ महिनामा दोस्रो आउने महासेठको भनाइ छ। पहिलो रेल खरिदका लागि भारतले मूल्य पठाइसकेको र त्यो मूल्यमा नेपालले पनि सहमति जनाइसकेको उनले बताए। ‘रेल खरिदको अन्तिम सम्झौता हुन बाँकी रहेकाले जनवरी १० अघि मूल्य सार्वजनिक गर्न मिल्दैन,’ उनले भने, ‘तर, रेलको मूल्य बजेटमा छुट्ट्याएभन्दा बढी हुने छैन।’ सरकारले चालु आर्थिक वर्षमा रेल खरिद गर्न ५० करोड रूपैयाँ विनियोजन गरेको छ। 

मन्त्री महासेठले रेल किन्न पुस २६ गते सम्झौता गर्ने तयारी भइरहेको बताए पनि मन्त्रालयका अधिकारी भने रेल गुडाउने गरी आन्तरिक तयारी नभएको दाबी गर्छन् 

महासेठले भारतसँग खरिद गर्न लागेको रेल आधुनिक भएको समेत दाबी गरे। भारतसँग जोडिएका सीमा नाका र तराईका जिल्लामा रेलमार्गको निर्माण भारतीय सहयोगमा भइरहेकाले भारतबाहेक अन्य मुलुकबाट रेल खरिद गर्न नसकिने उनको भनाइ छ। पूर्व–पश्चिमसम्म रेल सञ्चालन गर्ने सरकारको योजना रहे पनि हाल जयनगर–जनकपुर–कुर्था (३५ किमी) खण्डमा भारतकै सहयोगमा रेल मार्ग निर्माण भइरहेको छ। महासेठले करिब २० किलोमिटर खण्ड रेल कुदाउने गरी तयार भइसकेको बताए। 

रेलमार्ग निर्माण गर्न बुटवल–गड्डाचौकी (४०९ किमी) खण्डको विस्तृत प्रतिवेदनको काम ९५ प्रतिशत सकिएको र काँकडभिट्टा–बर्दिवास–सिमरा–बुटवल खण्डको डिपिआर तयार भइरहेको मन्त्रालयले जनाएको छ। रेलमार्ग निर्माण निकै महँगो हुने भए पनि मन्त्री महासेठले अबको दुई वर्षभित्र बर्दिवास तथा चार वर्षभित्र निजगढसम्म सम्पन्न हुने दावी गरे। 

जयनगर–जनकपुर–कुर्था खण्डको रेलमार्ग निर्माण गर्न भारतले करिब १० अर्ब रुपैयाँ सहयोग गरेको बताइएको छ। मन्त्री महासेठले रेल खरिद गर्ने अन्तिम तयारी भइरहेको जानकारी गराए पनि मन्त्रालयका अधिकारीहरू भने रेल गुडाउने गरी आन्तरिक तयारी नभएको बताउँछन्। ‘मन्त्रीज्यूले रेल खरिद गर्ने सम्झौता नै गर्ने घोषणा गरेपछि कर्मचारीले धेरै बोल्न मिलेन,’ एक अधिकारीले भने, ‘निकै लामो प्रतिक्षापछि हुन थालेको रेल खरिद र सञ्चालनबारे भित्री तयारी त्यत्ति बलियो छैन।’ 

मन्त्री महासेठले यसअघि पनि डिसेम्बर महिनासम्म रेल चलाउने घोषणा गरेका थिए। यसअघिको घोषणा अनुसार डिसेम्बरसम्म चलाउन नसक्नुमा महासेठले आफ्नै झन्डा भएको रेल खरिद गर्ने सरकारको योजना बनाएका कारण ढिलाइ भएको दाबी गरे। ‘पहिला भाडामा लिएर चलाउने हो कि भन्ने सोच थियो,’ महासेठले भने, ‘अब आफ्नै खरिद गर्ने गरी निर्णय बदलेका छौं।’

 

प्रकाशित: १६ पुस २०७५ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App