coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सौराहामा सबै आन्तरिक पर्यटक

सौराहामा हात्ती सफारी गर्दै पर्यटक।  तस्बिर : सविता/नागरिक

चितवन - नयाँ वर्षका लागि चितवनको पर्यटकीय नगरी सौराहाका सबै होटल, रिसोर्ट बुकिङ भएका छन्। यहाँका अधिकांश होटल स्वदेशी पर्यटकले बुकिङ गरेका छन्। सौराहामा एक सय १० वटा पर्यटकीय होटल तथा रिसोर्ट छन्। सबै होटलमा गरी ५५ सय बेड छन्।  विगतको तुलनामा यस वर्ष सौराहा आउने पर्यटकको संख्या सुरुदेखि नै बढेको होटल मोनालिसा चितवन प्रालिका सञ्चालक केशव खनाल बताउँछन्। ४७ कोठा भएको मोनालिसाका सबै कोठा दुई दिनका बुकिङ भएको उनले बताए। ‘नयाँ वर्षको अघिल्लो दिन आउने र दुई रात बसेर फर्किने गरी बुकिङ भइसकेको छ,’ उनी भन्छन्, ‘एक साताअघि नै बुकिङ भइसकेको थियो।’

यस बेला होटलमा आएका पर्यटकमध्ये करिब ८० प्रतिशत नेपाली रहेको उनले बताए। केही संख्यामा भारतीय र चिनियाँ पर्यटक रहेको उनले बताए। ‘न्यू इयर इभ’मा रातिसम्म रमाइलो गर्ने, भोलिपल्ट विश्राम गर्ने र जंगल सफारी गरेर फर्किने गरी बुकिङ गरिएको उनले जानकारी दिए। क्रिसमसदेखि अंग्रेजी नयाँ वर्षसम्म सौराहामा आयोजना गरिएको हात्ती महोत्सवका कारण पनि यो बेला पर्यटकको संख्या उल्लेख्य रहेको उनी बताउँछन्।

नयाँ वर्षमा बस्ने पर्यटकका लागि होटलमा थारु सांस्कृतिक कार्यक्रम देखाउन र स्थानीय जातिले खाने खाना खुवाउन प्राथमिकता दिइएको उनले बताए। यस वर्ष आन्तरिक तथा विदेशी दुवैथरी पर्यटकको संख्या बढ्दै गएको क्षेत्रीय होटल संघ, सौराहा नेपाल, चितवनका अध्यक्ष घिमिरे बताउँछन्। अंग्रेजी नयाँ वर्षको बेला सबै होटल बुकिङ भइरहेको उनले जानकारी दिए। हात्ती महोत्सव सकिएकै पर्सिपल्ट नयाँ वर्ष परेको छ। त्यसैले पनि यो बेला सौराहा होटलमा शतप्रतिशत पर्यटक हुने उनले बताए । 

अंग्रेजी नयाँ वर्षको बेला पनि आन्तरिक पर्यटकले होटल भरिभराउ हुने नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मी बताउँछन्। क्रिसमस, नयाँ वर्ष विदेशीले आफ्नै देशमा मनाउने भएकाले यो बेला आउने पर्यटक ८० प्रतिशतभन्दा बढी स्वदेशी हुने उनले बताए। नेचर हेरिटेजमा पर्यटकका लागि ३८ वटा रुम उपलब्ध छन्। सबै बुकिङ भएको रेग्मीले जानकारी दिए। ‘पर्यटकले खचाखच भरिन्छ सौराहा,’ उनी भन्छन्, ‘खानपिन र बस्ने ठाउँ पाउनै मुस्किल हुन्छ।’

क्रिसमसदेखि नयाँ वर्षसम्म पनि होटलमा करिब ७० प्रतिशत कोठा पर्यटकले भरिएको उनी बताउँछन्। नयाँ वर्षमा घुम्न, रमाइलो गनए। बीन सौराहा बाहिरका होटल र रिसोर्टमा समेत पर्यटक पुग्ने गरेको उनले बताए। यो बेला सांस्कृतिक कार्यक्रम, संगीत र रेस्टुरेन्टका परिकारको स्वाद लिएर पर्यटकले रमाइलो गर्छन्। नयाँ वर्षको दिन र भोलिपल्ट जंगल सफारी गरेर रमाइलो गर्ने गरी पर्यटक सौराहा आउने गरेको रेग्मी बताउँछन्। 

विगतमा जुन, जुलाई र अगस्ट महिना सौराहाका लागि अफ सिजन मान्ने गरिन्थ्यो। पर्यटकहरु कम आउँथे। तर यस वर्ष अफ सिजन मानिने समयमा पनि पर्यटक सौराहा आएका छन्। नारायणगढ सडक खण्ड विस्तारको काम सकिएपछि स्वदेशी पर्यटक सौराहा आउने क्रम बढेको संघका अध्यक्ष घिमिरे बताउँछन्। बिदाको बेला भएकाले पनि देशका विभिन्न ठाउँ घुम्ने र सौराहालाई विश्राम गर्ने ठाउँका रुपमा प्रयोग गर्ने आन्तरिक पर्यटक बढेका छन्।

 

प्रकाशित: १६ पुस २०७५ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App