coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सम्मानजनक स्थानका लागि भिडन्त

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबारबाट १२औं चरणका खेल हुँदै छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा हुने दुई खेलमध्ये पहिलो खेलमा  तालिकाको पुछारमा रहेको न्युरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना गर्दै छ भने दोस्रो खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइज (बिबिसी) को सामना गर्दै छ। यस्तै हलचोकमा हुने अर्को खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ। 

लिगमा दुई खेल बाँकी रहँदा शीर्ष स्थानको मनाङ मर्स्याङ्दीले अंकका आधारमा उपाधि जितिसकेको छ भने अन्य क्लबले सम्मानजनक स्थानका लागि प्रतिस्पिर्धा गर्दै छन्। लिगमा संकटा क्लब २५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने थ्री स्टार दुई अंकले पछि पर्दै तेस्रो स्थानमा छ। यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लब तालिकाको चौथो स्थानमा छ। शुक्रबार सरस्वतीविरुद्ध भएको खेलमा आर्मीले ४–० को फराकिलो जित निकाल्दै स्थान सुधार गरेको थियो। यद्यपि सोमबार जावलाखेलविरुद्ध हुने खेलमा पनि जित निकाल्दै शीर्ष तीनभित्र अटाउने उद्देश्यमा हुनेछ। 

पहिलो खेलमा मच्छिन्द्रसँग प्रतिस्पर्धा गर्न लागेको एनआरटीले अंक घटुवाको स्थान सुधार गर्नका लागि जित्नै पर्ने दबाबका साथ मैदान उत्रिँदै छ। गोलअन्तरका आधारमा अंक घट्ने स्थानभन्दा एक स्थान माथि मात्र रहेको मच्छिन्द्र पनि जितको खोजीमा मैदान उत्रनेछ। 

यस्तै अर्को खेलमा बिबिसी पनि अंक खोसिने डरलाई दूर गर्न जित्नै पर्ने दबाबका साथ मैदान उत्रिनेछ। ११ खेलबाट मात्र ६ अंक जोडेको बिबिसी तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। पुछारका दुई टोलीको अंक घट्ने प्रावधानसहित आयोजना गरिएको लिगमा बच्न पनि उसका लागि जित आवश्यक छ। 

यस्तै समान ११ खेलबाट ११ अंक बनाएको जावलाखेल पनि दुई खेल बाँकी रहँदा सुखद नतिजा निकाल्न तल्लीन हुनेछ। विभागीय टोली आर्मी प्रतिद्वन्द्वी भए पनि सुखद नतिजा निकाल्ने रणनीति जावलाखेलले अपनाउने निश्चित छ। तर आर्मी पनि सुखद नतिजा निकाल्दै शीर्ष तीनभित्र अटाउने उद्देश्यमा हुनेछ।

प्रकाशित: १६ पुस २०७५ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App