७ वैशाख २०८१ शुक्रबार
खेल

युभेन्ट्सद्वारा वर्षको सुखद अन्त्य

मिलान – स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्ट्सले शनिबार साम्पडोरियालाई २–१ ले पराजित गर्दै वर्ष २०१८ को सुखद अन्त्य गरेको छ।  साथै युभेन्ट्सले विन्टर ब्रेकअघि इटालियन सिरी ‘ए’ मा सर्वाधिक अंकको कीर्तिमान समेत रच्न सफल भएको छ। त्यस्तै दोस्रो स्थानको नेपोलीले पनि बोलोग्नालाई निराश पारेको छ।

साबिक विजेता युभेन्ट्सले १९ खेलमा ५३ अंक जोडेको छ। जुन सिरी ‘ए’ मा तीन साता लामो विश्रामअघि शीर्ष स्थानले बनाएको सर्वाधिक अंक हो। समान खेल खेलेको नेपोली ४४ अंकका साथ दोस्रो स्थानमा छ भने ३९ अंकका साथ इन्टर मिलान तेस्रो स्थानमा र ३२ अंक जोडेको लाजियो चौथो स्थानमा छन्।३१ अंक जोडेको एसी  मिलान पाँचौ स्थानमा छ।

खेलको दोस्रो मिनेटमानै रोनाल्डोले गरेको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । ३३औं मिनेटमा फािबयो क्वागरियल्लाले गोल गर्दै साम्पडोरियालाई खेलमा फर्काएका थिए। खेल सकिन २५ मिनेट बाँकी हुँदा रोनाल्डोले पेनाल्टीलाई सदुपयोग गर्दै युभेन्ट्सको जित पक्का गरेका थिए। 

‘खेलमा सुखद नतिजाका साथ वर्षको अन्त्य गर्नु  राम्रो हो तर यो यात्रा त्यति सहज भने थिएन,’ युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने। खेलको नतिजामा भिडियो सहायक रेफ्री (भिएआर)निर्णायक बन्यो। खेलमा दिइएका दुवै पेनाल्टीमा भिएआरको प्रयोग गरिएको थियो भने खेलको अन्तिम मिनेटमा साम्पडोरियाले गोल फर्काए पनि त्यसलाई पनि भिएआरले अफसाइट भएको भन्दै मान्यता दिएन।

साम्पडोरियाका प्रशिक्षक मार्को जियामपाओलोले युभेन्ट्सलाई दिएको पेनाल्टीलाई उपहारको संज्ञा दिनुका साथै आफ्नो टोलीले फर्काएको बराबरी गोललाई मान्यता नदिएकोमा आपत्ति जनाएका छन्। ‘मेरा लागि नैतिक रूपमा यो खेल २–२ को बराबरी हो,’ जियामपाउलोले भने। साबिक विजेता युभेन्ट्सले जारी सिजन दुई खेलमा मात्र अंक गुमाएको छ। अक्टोबरमा जिनोवासँग अंक बाँडेको युभेन्ट्स गत साता एट्लान्टासँग पनि बराबरीमा रोकिएको थियो ।
‘प्रदर्शन नसुधार्ने हो भने कीर्तिमानको कुनै अर्थ रहन्न,’ एलेग्रीले भने, ‘लिगले विश्राम मात्र लिएको हो लिग सकिएको होइन। त्यसैले अहिलेबाटै आफूलाई विजेता घोषणा गर्नु व्यर्थ हुन्छ।’

यता नेपोलीले बोलोग्नालाई ३–२ ले हराएको हो। १५औं मिनेटमा एरिक मिलिचले नेपोलीको खाता खोलेका थिए। ३७औं मिनेटमा फेड्रिको सान्टान्डरले गोल गर्दै बोलोग्नालाई खेलमा फर्काएका थिए। ५२औं मिनेटमा मिलिचले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै नेपोलीलाई पुनः अग्रता दिलाएका थिए।

खेल सकिन १० मिनेट बाँकी हुँदा डानिलोले गरेको गोलमा बोलोग्ना पुनः खेलका फर्किएको थियो। त्यसको ८ मिनेटपछि द्रिइस मार्टिन्सले बललाई जाली चुमाएसँगै नेपोलीले जित सुनिश्चित गरेको थियो। सिरी ‘ए’ अन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा इन्टरले इम्पोलीलाई १–०, मिलानले एसपिएएललाई १–०, एएस रोमाले पर्मालाई २–०, एट्लान्टाले सासौलोलाई ६–२ ले हराउँदा लाजियो र टोरिनोले भने १–१ को बराबरी खेले।

प्रकाशित: १६ पुस २०७५ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App