४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

वार्ता र सहकार्य अघि बढाउन उत्तर कोरिया इच्छुक

सोल – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धि निर्माण गर्ने प्रयत्नलाई सन् २०१९ मा समेत निरन्तरता दिने बताएका छन्। किमले नयाँ वर्षका अवसरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई पठाएको शुभकामना सन्देशमा यस्तो प्रतिबद्धता व्यक्त गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेता किमले लामो समयदेखि जारी विवादलाई साम्य बनाउन दुवै कोरियाका नेताले व्यावहारिक कदम अबलम्बन गरेको पनि सो शुभकामना सन्देशमा बताएका छन्। ‘अध्यक्ष किमले राष्ट्रपति मुनलाई आइतबार लेख्नु भएको चिठी प्राप्त भएको छ,’ दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्ता किम इ–काइयोमले संवाददाताहरुलाई बताए। 

‘कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धिका निम्ति मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ किमको पत्र  उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले उल्लेख गरेको छ। ‘एक वर्षमा दुई देशका नेताबीच तीन पटक भेटघाट भएको र त्यस क्रममा सम्बन्ध सुधारका लागि व्यावहारिक कदम चालिएका छन्। सैनिक तनाव र युद्धको त्रासबाट दुवै देशका जनतालाई मुक्त गर्न हामी सक्षम भएका छौं,’ उत्तर कोरियाली नेता किमको शुभकामना सन्देशमा भनिएको छ। 

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्ताले अध्यक्ष किमले यस वर्षको अन्त्यभित्रै सोलको भ्रमण गर्ने आफ्नो प्रतिज्ञा पूरा गर्न नपाएकोमा दुःख लागेको पनि सो शुभकामना पत्रमा बताएको जानकारी दिएका छन्। ‘अध्यक्ष किमले सन् २०१९ मा राष्ट्रपति मुनलाई समयसमयमा भेट गर्न इच्छुक रहेको बताउनु भएको छ। साथै, शान्ति र समृद्धिका विषयमा छलफललाई अगाडि बढाउन इच्छुक रहनुका साथै मिलेर नै कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणको अभियान सफल बनाउने उहाँले बताउनुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ताले बताए। 

यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले उत्तर कोरियाली नेता किम जोङ–उनबाट व्यक्त आणविक निःशस्त्रीकरण प्रतिको प्रतिबद्धतालाई स्वागत गरेका छन्। उनले संयुक्त राज्य अमेरिकासँग रोकिएको आणविक निःशस्त्रीकरण वार्ता पुनः सुरु गर्न नेता किमको प्रतिबद्धताले थप बल पुग्ने बताएका छन्। 

 

प्रकाशित: १६ पुस २०७५ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App