८ वैशाख २०८१ शनिबार
समाज

‘साततले दरबार पुनर्निर्माण फागुनपछि’

नुवाकोट - बाहिरी जिल्लाका बासिन्दा नुवाकोट प्रवेश गरेपछि साततले दरबार नपुगी के फर्किनु भन्छन् र जान्छन्। दरबारको ढोका अगाडि नै लेखिएको छ– भूकम्पबाट क्षतिग्रस्त उक्त साततले दरबारको विस्तृत अध्ययन अनुसन्धानसहित पुनर्निर्माणको क्रममा रहेको र दरबारको माथिल्लो भागबाट झिँगटी, इँटा, काठ खसेर चोटपटक लाग्ने धेरै सम्भावना हुँदा दरबार परिसरको वरिपरि हिँड्डुल गर्दा थप सतर्कता अपनाइदिनुहुन अनुरोध गरिन्छ।’

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (नुवाकोट)ले राखेको यो सूचना देखेपछि यहाँ आउनेहरूको मन अमिलो हुन्छ। भूकम्प जानुअघि दरबारको सातौं तलासम्म नै पुगेर फोटो खिँच्दै रमाउने गर्थे यहाँ आउनेहरू। तर अहिले टेकोले अड्याएको दरबार हेर्न पनि डरलाग्दो छ।

वि. सं. २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले नुवाकोटको साततले दरबारको हालत यस्तो भएको हो। जिल्लाको धरोहरका रूपमा परिचित उक्त दरबारको पुनर्निर्माण छिट्टै भएको हेर्न चाहन्छन् यहाँका नागरिक। तर काम थालनी गर्ने मिति सरेको सर्‍यै छ।

दरबार पुनर्निर्माणका लागि चीन सरकारले आन्तरिक तयारी सुरु गरिसकेको र ठेकेदार छनौट प्रक्रिया अघि बढाइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशीले ज्ञवालीले जानकारी दिए।

दरबार पुनर्निर्माणको जिम्मा चीन सरकारले लिएको छ। नेपालका लागि तत्कालीन चिनियाँ राजदूत युहोङसहितको टोली गत जेठ अन्तिम साता दरबार अवलोकन गर्न आएको थियो। त्यस बेला असोजभित्र पुनर्निर्माण थाल्ने बताइएको थियो। त्यसका लागि आवश्यक कामदार स्थानीय स्तरमै उत्पादन गर्न भन्दै पुरातŒव विभागले सात दिन कालीगढ तालिम पनि सञ्चालन गरेको थियो। त्यस क्रममा छठ पर्वलगत्तै काम सुरु हुन्छ भन्ने जानकारी गराइएको थियो। तर अहिलेसम्म अत्तोपत्तो छैन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशीले ज्ञवालीले केही दिनअघि दरबारको अवलोकन गर्दै फागुनपछि पुनर्निमाण सुरु हुने बताएका छन्। पुनर्निर्माणका लागि चीन सरकारले आन्तरिक तयारी सुरु गरिसकेको र ठेकेदार छनौट प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिए। ‘दरबार पुनर्निर्माण कसरी अगाडि बढाउने भनेर चिनियाँ पक्षले यसअघि नै आएर विस्तृत अध्ययन गरिसकेको छ। म अहिले यहाँको वस्तुस्थिति बुझ्न आएको हुँ,’ निर्देशक ज्ञवालीले भने, ‘चीन सरकारले नयाँ वर्ष मनाएपछि दरबार पुनर्निर्माण सुरु गर्ने जानकारी दिएको छ।’ पुनर्निमाण सुरु भएको दुई वर्षभित्र सम्पन्न गर्ने तयारी रहेको उनको भनाइ छ।

उनका अनुसार पहिलो चरणमा साततले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर लगायतका संरचना पुनर्निमाण गर्ने सम्झौता चीन सरकारसँग भएको छ। उनले भने, ‘हामी दरबारबो मौलिकता बिग्रन दिदैनौं। यहाँका बुद्धिजिवीहरूको भनाइलाई पनि मध्यनजर गर्दै काम गर्नेछौं।’ पुनर्निर्माण थाल्ने भनेर मिति सार्दासार्दै दरबारको संरचना नै ध्वस्त हुने हो कि भन्ने चिन्ता लाग्न थालेको विदुर नगरपालिका–२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए। उनले अब आश्वासन मात्र होइन, काम नै सुरु गर्नुपर्‍यो भनेर निर्देशक ज्ञवालीसँग आग्रह गरे।

नेपाल एकीकरणका बेला राजा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबार पहिले नौ तलाको थियो। वि. सं.२०९० को भूकम्पले क्षति पुर्‍याएपछि मर्मत गरी साततलाको बनाइएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्।

प्रकाशित: १६ पुस २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App