coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमाल हेर्दै जलवायु छलफल

गुफाडाँडा (सिन्धुपाल्चोक) - साढे दुई हजार मिटर उचाइको लेकाली क्षेत्र। पश्चिम र दक्षिणतिर टलक्क टल्केको जुगल हिमशृंखला। हिउँ भरिँदै गरेका हिमशृंखलाका दोर्जे लाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ टाकुरा झन् खुल्दा छन्। त्यसैको काखमा छ रमणीय पर्यटकीय स्थल गुफाडाँडा।

बाह्रैमास सिरिरी सिरेटो चल्ने यही डाँडामा भेला भएर  ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुख दुई दिनसम्म जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफलमा जुट्दै छन्। यो अवसर जुराएको हो राष्ट्रिय जलवायु सम्मेलनले। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाइ र जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै छिन्।

सम्मेलनमा भाग लिन विज्ञ टोलीसहित सबै जिल्लाका प्रमुख, उपप्रमुख लगायत सहभागी मेलम्ची आइपुगेका छन्। सम्मेलन स्थल गुफाडाँडा चिटिक्क सिँगारिएको छ। यहाँ जलवायु परिवर्तनको असर झल्कने मानव ‘स्ट्याचु’ बनाइएको छ। मान्छेले पृथ्वी उचालेको मूर्ति हिमालतिर फर्केको छ। आयोजकका अनुसार मूर्तिको सन्देश हुन्छ, ‘मान्छेले नै मिलेर पृथ्वी बचाउने हो। अन्यथा पृथ्वीले नै मान्छेलाई थिच्छ।’ 

मूर्तिको राष्ट्रपतिले अनावरण गर्ने छिन्। मूर्तिसँगै ७७ वटा राष्ट्रिय झण्डा फहराएको छ। यी झण्डा ७७ जिल्लाका प्रमुखले एकसाथ झण्डोतोलन गरेर सम्मेलन सुभारम्भ गर्नेछन्। हरेक झण्डामा नेपाली वर्णानुक्रममा जिल्लाको नाम लेखिएको छ। ‘औद्योगिक मुलुकहरुले कार्वन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाव दिन्छौँ,’ सम्मेलन मूल आयोजक समितिका संयोजक रहेका तामाङले भने। उनले सम्मेलनको सबै तयारी पूरा भएको बताए। सोमबार बिहान गुफाडाँडा आएर जनप्रतिनिधिहरु जलवायु परिवर्तन सम्वन्धी विषयमा छफलफलमा जुट्ने छन्। त्यहाँ विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। २२ जनाभन्दा बढीको विज्ञ समूहले कार्यपत्र र छलफलउपर प्राविधिक सहजीकरण गर्नेछन्।

सम्मेलन उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरमा आउँदै छिन्। उद्घाटन र छोटो औपचारिक कार्यक्रमपछि सहभागि छलफलमै व्यस्त हुनेछन्। वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, वातावरण मन्त्रालयका उच्च अधिकारी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री, मन्त्रीसमेत सम्मेलनमा सहहभागि हुनेछन्।

छलफलको निष्कर्षको रुपमा मंगलबार सिन्धुपाल्चोक घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने छ। ‘सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास लिएका छौँ,’ संयोजक तामाङले भने, ‘जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने छ।'

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराकासाथ आयोजना हुन लागेको सम्मेलनको वातावरण अनुकुलन दर्शाउने लाेगो आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ। सम्मेलनमा झण्डै एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। मेलम्ची नगरपालिकाको ज्यामिरेमा पर्ने गुफाडाँडाबाट ३ सय ६० डिग्रीको कोणमा जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोट र काठमाडौँसम्मका दृश्य र वातावरण नियाल्न सकिन्छ। सहभागी रातिको बास भने रमणीय मेलम्ची बजारमा बस्ने छन्। 

प्रकाशित: १५ पुस २०७५ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App