८ वैशाख २०८१ शनिबार
राजनीति

विवादित वर्णविन्यासको नेपाली शब्दकोष

काठमाडौं- नेपाली भाषा विवादमा तानिएका बेला चूडामणि गौतमले 'विवादित वर्णविन्यासको नेपाली शब्दकोष' पाठकसामु ल्याएका छन्। उनको उक्त शब्दकोष शुक्रबार राजधानीमा सार्वजनिक गरियो। शब्दकोषमा 'विवादित वर्णविन्यास' देखाउने र बुझाउने प्रयत्न गरिएको छ। २०६७ सालयता नेपाली भाषामा देखिएको विवादलाई शब्दकोषले प्रस्ट्याएको छ।

लेखक गौतमले नेपाली भाषा दुख्दाको पीडा शब्दकोषमा उतारेको बताए। उनले भने, 'नेपाली भाषा बिगार्न थालेको देखेर हामी आन्दोलनमा छौं। भाषामा जबर्जस्ती लाद्न खोजिएका कुरालाई शब्दकोषमार्फत निराकण गर्न खोजेको छु।' उनले नेपाली भाषा शुद्ध र मर्यादित रुपमा प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए। विवादमा ल्याइएका शब्दलाई उनले शब्दकोषमार्फत स्पष्ट पारेका छन्।

शरच्चन्द्र वस्तीले वर्षौंंदेखि चलिसकेका नेपाली भाषाका शब्दलाई नियतवश अंगभंग गर्न नपाइने जिकिर गरे। उनले भने, 'प्रचलनमा आइसकेका, कवि, लेखकबाट मान्यता पाइसकेका शब्दलाई अंगभंग गर्न पाइँदैन।' उनले 'व' लाई 'ब' बनाउने र दीर्घ उकारलाई ह्रस्व बनाउने काम भइरहेकाले हिज्जे बिगारेर भाषा सरल नहुने स्पष्ट पारे। भने, 'हिज्जेमा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन। अनधिकृत हस्तक्षेप फिर्ता लिनुपर्छ।'

कार्यक्रममा रमेश खकुरेल र मुकुन्दचरण उपाध्यायले नेपाली भाषा बिगार्दा समग्र राष्ट्रियभाषा, धर्म संस्कृतिमा समेत असर पर्ने भएकाले शब्द बिगार्न नहुनेमा जोड दिए।

'नेपाली भाषा बचाऊँ' अभियन्ता बलदेव अधिकारीले राष्ट्रभाषामाथि ख्यालठट्टा गर्न नपाइने बताए। बुनु लामिछानेले भाषा बिगार्नेप्रति व्यंग्यात्मक कविता सुनाइन्।

प्रकाशित: १५ आश्विन २०७३ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App