coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चापसँगै जोखिम थपिँदै

बनेपा- अघिल्लो वर्ष असार १८ गते बिपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास सडक) को धुलिखेलमा उद्घाटन हुँदा हालका गृहमन्त्री विमलेन्द्र निधि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। उद्घाटन भाषणक्रममा उनले पूर्वी नेपालका हिमाल, पहाड र तराई जोड्ने मेरुदण्ड बनेको बिपी राजमार्गको सौन्दर्य कायम राख्न र सडकलाई दिगो बनाउन ठूला सवारीसाधन सञ्चालन एउटै मात्र चुनौती रहेको बताएका थिए। उनले सुझाएका थिए, 'बिपी राजमार्ग सुरक्षित र टिकाउ बनाउनमा चुनौती भनेकै हेभी गाडी सञ्चालन हो। लाइट गाडी मात्रै सञ्चालन गर्न सकिए यो बाटो धेरै टिक्ने थियो।'

यही सुझावअनुसार प्राविधिक टोलीले कुन क्षमतासम्मको गाडी चलाउन दिने भनेर अध्ययन गर्‍यो। भूबनोट, बाटोको चौडाइ, भारबहन क्षमतालगायत सडक सुरक्षाका सबै पक्षको अध्ययनपश्चात समितिले यो सडकमा ठूला सवारीसाधन चलाउन दिन नहुने ठहर गर्दै मन्त्रालयमा प्रतिवेदन बुझायो।

प्रतिवेदनले बर्दिबास–सिन्धुलीमाडी खण्डबाहेक बाँकी सबै सडक खण्डमा ठूला सवारी सञ्चालन गर्न नहुने निष्कर्ष निकालेको छ। १६ देखि १८ सिटसम्मका माइक्रोबस र जिप सञ्चालन गर्न सकिने प्रतिवेदनमा उल्लेख भए पनि यातायात मन्त्रालयले दुई साफ्ट र ४२०० एमएमका बस चलाउन दिने निर्णय गरेपछि सडक सुरक्षासँग संलग्न विज्ञ चिन्तित बनेका छन्।

'यस राजमार्ग सवारीसाधन दौडाउनका लागि नभई आनन्दसाथ चलाउन बनाइएको हो। बर्दिवासदेखि सिन्धुलीसम्मको दुई लेनमा प्रतिघन्टा ४० किलोमिटरसम्मको गतिमा चलाउन सकिने भए पनि बाँकी भागमा बढीमा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्छ,' बनेपा–सिन्धुली–बर्दिबास सडक योजना प्रमुख भरतकाजी देवजूले भने।

डिजाइन र निर्माणकै क्रममा सडक खण्डअनुसार प्रतिघन्टा २० देखि ४० किलोमिटरसम्मको गतिमा सवारी कुदाउन सकिने गरी निर्माण गरिएको तथ्य नभुल्न उनले आग्रह गरे। 'पूरै राजमार्गमध्ये खण्ड एकको बर्दिबास–सिन्धुली मात्रै दुई लेन र त्यसबाहेक सबै खण्ड एक लेनभन्दा चौडा, दुई लेनभन्दा सानो भएकाले गतिमा नियन्त्रण प्रयास गरिएको हो,' उनले थपे।

यसैबीच सडकको डिजाइन र योजना प्रमुखको भनाइविपरीत यातायात मन्त्रालयले धुलिखेल–नेपालथोक–खुर्कोटसम्म प्रतिघन्टा ३० किलोमिटर गति तोकिदिएको छ। यो खण्डमा तीव्र गतिमा सवारीसाधन गुडाउनु अत्यन्तै जोखिम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक शुकदेव खनालको भनाइ छ।

'पछिल्लो समय पूर्वसम्म जाने सवारी थपिँदा बिपी राजमार्गमा चाप बढेको छ। सिंगल लेनको बाटो र धेरै मोड भएकाले तीव्र गतिमा सवारी चलाउँदा र ओभरटेक गर्ने क्रममा दुर्घटना हुनसक्ने सम्भावना अधिक छ,' खनालले थपे।

सडक आयोजनाअन्तर्गतकै मर्मत–सम्भार आयोजनाले सन् २००८ देखि २०१४ सम्म गरेको अध्ययनले खण्ड एकअन्तर्गत बर्दिबास–सिन्धुलीमाडी खण्डमा १ सय ३३ सवारी दुर्घटना भएकोमा १ सय ३४ जनाको ज्यान गएको र ३ सय ८३ जनाको अंगभंग भएको जनाएको छ। यस खण्डको दाँजोमा सिन्धुलीमाडीदेखि धुलिखेलसम्मको सडकमा भने दुर्घटना संख्या ज्यादै न्यून देखाएको छ।

'बाटो साँघुरो हुँदैमा दुर्घटना हुने होइन, झन् यस्तोमा नियन्त्रित गतिमा सवारी गुडाउँछन्, प्रत्येक २ सयदेखि ३ सय मिटर दुरीमा 'पासिङ जोन' भनेर सडक चौडा बनाइएको छ, यसले सवारीलाई पास हुन सजिलो भएको छ,' देवजूले भने।

पछिल्लो समय धुलिखेल–नेपालथोक खण्डको ५० किलोमिटर सडकको प्रत्येक मोडमा खाल्डाखुल्डी हुन थालेपछि खाल्डो छल्न खोज्ने क्रममा दुर्घटना होला कि भन्ने त्रासले गाडी चलाउनुपर्ने अवस्था रहेको टाटा सुमोका एक चालकले बताए। 'तोकिएको भार मात्रै बोकेर गाडी गुडेको भए आगामी ५ वर्षसम्म सडक मर्मत गर्नुपर्ने थिएन तर जापान सरकारले ठूलो सहयोग गरेर बनाएको सडक तत्कालै मर्मत गर्नुपर्ने अवस्था आएको छ,' उनले भने। यसै अवस्थालाई ध्यानमा राखी जापान सरकारले जाइकामार्फत बिपी राजमार्ग टिकाउ बनाउनका लागि सडक मर्मत–सम्भार आयोजना सुरु गरिसकेको छ।

आगामी दुई वर्षसम्म जापानीको प्रत्यक्ष सहभागितामै मर्मत–सम्भार गर्ने योजना रहेको देवजू बताउँछन्, 'जापान सरकारले मर्मतका लागि उपकरण उपलब्ध गराएको छ। सिन्धुलीको रामटार र महोत्तरीको बर्दिबासमा मर्मत–सम्भार युनिट स्थापना गरिसकेका छौं,' उनले थपे।

सवारी दुर्घटना कम गर्न मन्त्रालयले कोटेश्वर–धुलिखेल–खुर्कोट–सिन्धुली–बर्दिवास हुँदै देशका विभिन्न स्थानमा सञ्चालन हुने सवारीसाधनका लागि टाइमकार्ड लागू गरेको छ। खाना खाने समय ४५ मिनेटबाहेक कोटेश्वरबाट बर्दिवाससम्म कम्तीमा ५ घन्टा १० मिनेट लगाउनुपर्ने नियम छ। यसअघि ४ घन्टामै पुर्‍याउने गर्थे।

'बीचबीचमा ट्राफिक प्रहरीको उपस्थिति नहुने रहेछ, एक घन्टा तोकिएको दुरी आधा घन्टाभन्दा कम समयमै पार गर्दै सवारी रोकेर समय बिताउँदा रहेछन्, टाइमकार्डको प्रभावकारी नियमन गर्न नसके तीव्र गतिका कारण दुर्घटना हुने जोखिम झनै बढेको छ,' सिन्धुलीबाट बुधबार मात्रै पनौती फर्केका पनौती उद्योग वाणिज्य संघका उपाध्यक्ष सुदर्शन सुवेदीले यथार्थ चित्रण गरे।

सबैभन्दा बढी यात्रुचाप रहेको अरनिको यातायात सेवा समितिले ठूला बससमेत पछिल्लो समय बिपी राजमार्गको खुर्कोट हुँदै रामेछाप र दोलखासम्म गुडाउन थालेको छ। साविकमा यी बसले अरनिको राजमार्ग हुँदै जिरीसम्मको बाटोमा इजाजतपत्र (रुट परमिट) पाएका हुन्। तर, पनि बिपी राजमार्गमा निर्वाध गुड्दै आएका छन्।

एक लेनको साँघुरो सडक र दिनहुँ थपिँदो सवारीसाधनले बिपी राजमार्गमा दुर्घटनाको जोखिम पनि बढ्दो रहेको ट्राफिक प्रहरी निरीक्षक खनालको भनाइ छ। 'काभ्रे ट्राफिकले अरनिको र बिपी राजमार्गका साथै ग्रामीण रुटमा चल्ने सबै खालका गरी करिब २ हजार यात्रुवाहक साधनलाई हेर्नुपर्छ। एक जना ट्राफिकका भागमा ७५ भन्दा बढी यात्रुवाहक सवारीसाधन पर्न आउँछ,' उनले थपे।

पछिल्लो समय काभ्रे ट्राफिकले निजीलाई छाडेर सार्वजनिक सवारीसाधन मात्रै हेर्दा समेत काभ्रे र काभ्रे जिल्ला हुँदै गुड्ने विभिन्न १० वटा समितिका यात्रुबस, २० भन्दा बढी कम्पनीका माइक्रोबस र जिप गरी दुई हजार हाराहारीमा पुगेको खनालको भनाइ छ। 'टिपर र मालबाहक ट्रकको संख्या हजार नाघिसकेको छ, यिनलाई पनि नहेरी हुँदैन तर २०५५ सालमा कार्यालय स्थापना हुँदाकै २१ जना ट्राफिकको दरबन्दीले भ्याउन हम्मे हुन्छ,' उनले थपे।

बर्दिवासदेखि पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग हुँदै राजधानी आइपुग्न ३ सय ६१ किलोमिटर यात्रा गर्नुपर्छ। बिपी राजमार्गको बर्दिवासदेखि काठमाडौं, कोटेश्वरसम्म १ सय ८८ किलोमिटर यात्रा गरे पुग्छ। यही हिसाबले पनि १ सय ६९ किलोमिटर दूरी र करिब ४ घन्टा समय वचत हुने गरेको छ। यसैले पनि यात्रुको रोजाइमा बिपी राजमार्ग पर्ने गरेको हो।

प्रकाशित: १५ आश्विन २०७३ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App