७ वैशाख २०८१ शुक्रबार
समाज

ग्रामीण सडक : भ्रष्टाचारको अखडा

निर्माणधिन अवस्थामा रहेको विपी राजमार्गको सोलाभन्ज्याङदेखि ऐतिहासिक सिन्धुलीगढी जाने सडक । तस्बिर अनिल/नागरिक

सिन्धुली – पछिल्लो समय ग्रामीण सडक निर्माण गर्ने बाहानामा भ्रष्टाचार बढ्न थालेको छ। स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा उपभोक्ता समिति मार्फत भएको काम र ठेकेदार मार्फत हुने काममा काम भन्दा बढीको रकम भ्रष्टाचार हुन थालेको हो।

यहाँको कमलामाई नगरपालिका २ भद्रकालीदेखि घ्यालेख गाउँपालिकाको बस्तिपुर नेत्रकाली जोड्ने सडकमा ठुलो भ्रष्टचार भएको भन्दै केहि महिना अगाडि प्रदेश सांसद बिनोद खड्काले सडकको नाला फित्ता नै लगाएर नापजाँच गरे। स्थानीयले सडकमा भ्रष्टाचार भएको भन्दै चरम असन्तुष्टि जनाएपछि उनी सहित गएको टोलीले सडक अनुगमन गर्दा पनि मोटै रकम भ्रष्टाचार भएको अनुमान गर्यो।

२०७२ सालको भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा एसियाली विकास बैक (एडीबी) को झन्डै ४४ करोड अनुदानमा बन्न लागेको सडकको असोजमै म्याद सकिएको थियो। सकिएपछि हाल म्याद थप गरेर दातृ निकायले काम गर्न भनेको छ। तर, ठेकेदार र प्राविधिकको लापरबाही अझै कायमै रहेको स्थानीय बताउँछन्। वर्षेनी यो सडकमा करोडौ बजेट परेको छ, तर काम धेरै हुँदैन भ्रष्टाचार मात्रै हुन्छ, स्थानीय प्रकाश कार्कीले भने। उनका अनुसार दुई फेजमा भइरहेको काममा पहिलो फेजमा अत्याधिक भ्रष्टाचार भएको छ।

प्राविधिकको इष्टमेटनै परिवर्तन गरेर समेत भ्रष्टचार गर्न ठेकेदार लागि पर्ने गरेको उनको आरोप छ। ठेकेदारले इन्जिनियरसँगको लापरवाहीमा सडकको डिजाइन र स्टमेट अनुसारको कामनै नगरी भुक्तानी लिने गरेकाले भ्रष्टचार बढ्दै गएको हो, उनले नागरिकसँग भने। विगत वर्षमै बनाइएको सडकलाई सामान्य मर्मत सम्भार मात्रै भएको र बजेट पचाउने काम मात्र हुन लागेको देखिएपछि हामीले अनुगम गरिदिन धेरै निकायसँग आग्रह गर्यौ, उनले थपे।

लामा एण्ड अमर कन्ट्रक्सनले जिम्मा पाएको उक्त काम स्थानीय केहि युवालाई पेटी ठेकेदारको रुपमा कामको जिम्मा लगाएको थियो। विपी राजमार्गमा अत्याधिक सवारी चाप भएको भन्दै बैकल्पिक राजमार्गको रुपमा निर्माण गर्ने भनिएको उक्त सडकमा ठेकेदार तथा तत्कालिन इन्जिनियरको गम्भीर लापरवाहीका कारण समयमा सडक बन्न नसकेपछि म्याद थप भएको हो। भद्रकाली बस्तिपुर मात्रै नभएर जिल्लाका अधिकांश ग्रामीण सडक भ्रष्टचारको अखडानै बन्न थालेको छ।

स्थानीय सरकार प्रदेश सरकार तथा केन्द्रिय सरकारबाट वर्षेनी ग्रामीण सडकलाई भन्दै विनियोजन हुने बजेटमा स्थानीय जनप्रतिनिधिसँगको मिलेमतोमा करोडौं भ्रष्टाचार हुन थालेको हो। विपी राजमार्गबाट ऐतिहासिक सिन्धुलीगढीसम्म जाने मोटरबाटो कालोपत्रे गर्ने तथा ढलान गर्नै काम धमाधम हुँदै छ।  यो सडकमा भएको काममा समेत लापरवाही भएको देखिएको छ। सडक निर्माण गर्दा लगाइएको वालमा कमजोर काम भएको स्थानीय बताउँछन्।

सडकको वाल निर्माण गर्दा माटो मिसिएको बालुवा राख्ने तथा एक बोरा सिमेन्ट बराबर चारदेखि पाँच बोरासम्म बालुवा राख्न पाउने नियम भएपनि ठेकेदारले नाफा कमाउँनका लागि नियमसंगत बालुवा सिमेन्टको मसला नबनाई कमजोर काम गरेको स्थानीयको आरोप छ। नमुना शहर आयोजना खुर्कोटको झन्डै ३ करोड बजेटबाट उक्त सडक निर्माण गर्नका लागि महादेव खिम्ती निर्माण सेवाले निर्माणको जिम्मा लिएको आयोजनाका प्रमुख तथा इन्जिनियर दुर्गा घिमिरेले जानकारी दिए। उनका अनुसार विपी राजमार्गको सोलाभन्ज्याङ देखि सिन्धुलीगढी जाने बाटोको काम ७० प्रतिशत सम्पन्न भइसकेको जनाए। भुक्तानीमा केहि अलमल देखिएको छ, उनले भने, ‘तर काम भइरहेको छ।’

सडकको काममा गुणस्तरता देखिएको छैन, स्थानीय पूर्व शिक्षक समेत रहेका ओमबहादुर कार्कीले भने, ‘ऐतिहासिकस्थल जाने बाटो कमजोर बन्नु दुःखद कुरा हो।’ उनले पछिल्लो समय निर्माण भएको अधिकांश सडकमा भ्रष्टाचार बढेको बताए। विकास निर्माण भन्दा पनि कमाउ धन्दा बढेको छ, उनले भने, ‘निर्वाचित जनप्रतिनिधिलाई मिलाएपछि अरुले बोल्ने र प्रश्न उठाउने गर्दैनन्, स्थानीयको सोझोपनको फाइदा ठेकेदार तथा उपभोक्ता समितिले उठाउने गरेको उनको भनाई छ।

जनप्रतिनिधि निर्वाचित भएपछि पहिला भन्दा बढी ग्रामीण सडकमा भ्रष्टाचार हुन थालेको पाइएको छ। विगत पाँच वर्ष अगाडि नै निर्माण भएका ग्रामीण सडकलाई समेत फराकिलो पार्ने भन्दै हाल ६ देखि १० मिटर सडकको चौडाई बनाउन स्थानीय तहका जनप्रतिनिधि लागेका छन्। सडक फराकिलो पार्ने बाहानामा जनप्रतिनिधिकै आफ्ना आफन्तको डोजर चलाई मोटो रकम डोजर र उपभोक्ता समितिले सक्ने गरेका छन्। उपभोक्ता समिति निर्माण गर्दा पनि जनप्रतिनिधिले आफ्ना नै राख्ने गरी मिलाउने र आफ्नै डोजर चलाउने गर्दा ग्रामीण सडकमा भ्रष्टाचार मौलाउँदै गएको छ।

स्थानीय तहले विनियोजन गरेका बजेटमध्ये अधिकांश वडाअध्यक्ष तथा गाउँपालिका नगरपालिका प्रमुखको रोजाई सडकमा परेको छ। सडक निर्माणलाई भन्दै मोटो रकम विनियोजन गरी ठेक्का लगाउदा पनि आफ्नै मातहतकालाई पार्ने र उपभोक्ता समिति पनि आफन्तनै सहभागी हुनेगरी बनाई बेतिथिपूर्ण काम गर्दा पछिल्लो समय भ्रष्टाचार बढेको हो।

प्रकाशित: १५ पुस २०७५ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App