८ वैशाख २०८१ शनिबार
खेल

फिर्मिनोको ह्याट्रिकमा लिभरपुलको सानदार जित, उल्भरह्याम्टनसँग टोटेनह्याम स्तब्ध

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा ९ अंकको फराकिलो अग्रता बनाएको छ। घरेलु मैदान एन्फिल्डमा शनिबार राति सम्पन्न खेलमा आर्सनलमाथि ५–१ को फराकिलो जित निकाल्दै लिभरपुलले अग्रता फराकिलो बनाएको हो।

लिभरपुलको जितमा रोबर्टो फिर्मिनोले ह्याट्रिक गर्दा साडियो माने र मोहम्मद सालाहले एक–एक गोल थपे। आर्सनलले सुरुवाती अग्रता लिएपनि लिभरपुलले शानदार पुनरागमन गर्यो। ११ औं मिनेटमा एन्स्ले मेइटल्याण्ड नाइल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, १४ औं मिनेटमा फिर्मिनोले आर्सनलको डिफेन्सको गल्तीको फाइदा उठाउँदै बराबरी गोल गरेका थिए। जुन गल्ती आर्सनलका लागि निकै महंगो सावित भयो। १६ औं मिनेटमा फिर्मिनोले नै टिमका लागि दोस्रो गोल थपे। ३२ औं मिनेटमा सालाहको पासमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता ३–१ मा पुर्याए। पहिलो हाफको इन्ज्युरी समयमा ग्रानिट जाकाले सालाहलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सालाहले नै गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ४–१ को अग्रता बनाएको थियो।

६५औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो। सो पेनाल्टीलाई सदुपयोग गर्दै फिर्मिनोले गोल गरेपपछि ब्यक्तिगत ह्याट्रिक पूरा गरे। फिर्मिनोको यो प्रिमियर लिगमा पहिलो ह्याट्रिक हो। बाँकी समयमा आर्सनल खेलमा फर्कन नसक्दा लिभरपुलले फराकिलो जित निकाल्यो। जितसँगै लिभरपुलले २० खेलबाट ५४ अंक बनाएको छ।

दोस्रो स्थानको टोटेनह्याम उल्भरह्याम्टनसँग ३–१ ले पराजित भएपछि त्यसको फाइदा पनि लिभरपुललाई पुगेको छ। घरेलु मैदानमा भएको खेलको २२ औं मिनेटमा ह्यारी केनको गोलमा टोटेनह्यामले अग्रता लिएको थियो। तर, दोस्रो हाफमा टोटेनह्यामले आफ्नो कमजोर प्रदर्शनको मुल्य चुकाउनु पर्यो। उल्भरह्याम्टनले ३ नै गोल खेल सकिन ३० मिनेट बाँकी हुँदा गरेको थियो।

उल्भरह्याम्टनका लागि ७२ औं मिनेटमा मोउटिन्होको कर्नरमा विली बोलीले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यस्तै ८३ औं मिनेटमा राउल जिमिनेज र ८७औं मिनेटमा हेल्डर कोस्टाले गोल गरे। त्यसपछि दुवै टोलीबाट गोल भएन र उल्भरह्याम्टनले बाजी मार्यो।

उल्भरह्याम्टनले सन् २०१० पछि पहिलो पटक टोटेनह्याममाथि जित निकालेको हो। यो हारले टोटेनह्यामलाई भने उपाधि होडमा धक्का लागेको छ। दोस्रो स्थानमा रहेको टोटेनह्यामको ४५ अंक छ। विजयी उल्भरह्याम्टन २९ अंक सहित ७ औं स्थानमा छ। एक खेल कम खेल्दै तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ४४ अंक छ। सिटीले आज राति साउथह्यामटनको भ्रमण गर्दैछ। यो खेलमा विजयी भए सिटी दोस्रो स्थानमा उक्लिनेछ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App