५ वैशाख २०८१ बुधबार
अर्थ

निगम कार्यकारी निर्देशकका लागि पाँचजना छनोट

काठमाडौं – रिक्त रहेको नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि लिइएको आवेदनबाट पाँच जनालाई सर्ट लिस्टिङ गरिएको छ। कार्यकारी निर्देशक छनोट गर्न उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वमा गठित समितिले १७ आवेदकबाट पाँच जनालाई पहिलो चरणमा छनोट गरेको हो।

उम्मेदवारको शैक्षिक योग्यता, कार्यअनुभव, व्यावसयिक कार्ययोजनालगायत विषयलाई आधार मानेर गरिएको छनोटमा अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, लोकबहादुर खड्का, सुरेन्द्रप्रसाद पौडेल परेका छन्। पाँच जनालाई पुस १९ गते अन्तर्वार्ताका लागि बोलाइएको छनोट समितिका संयोजक ढकालले बताए। तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरेपछि ती मध्येबाट एक जनालाई मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने व्यवस्था छ।

पहिलो चरणको छनोटमा परेका झा डोलिडारका पूर्वमहानिर्देशक हुन्। धिताल वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक, लोकबहादुर खड्का युवा स्वरोजगार कोष र सुरेन्द्र उदयपुर सिमेन्टका महाप्रबन्धक हुन्। निगम कार्यकारी निर्देशकका लागि अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ विषयमा कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको थियो। व्यवस्थापनमा स्नातक गरेर चार्टर्ड एकाउन्टेन्ट गरेको वा सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तीमा पनि पाँच वर्ष कार्यानुभव भएकाले पनि प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था थियो।

आवेदकले पाँच हजार शब्द नबढ्ने गरी निगमका लागि आफ्नो व्यावसायिक योजना र कम्तीमा दुईवटा ‘केस स्टडी’ पनि दरखास्तसँगै सामेल गर्नुपर्ने नियम राखिएको थियो। निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईले सम्हाल्दै आएका छन्। आयल निगमको जग्गा खरिद अनियमिततामा मुछिएपछि निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका थिए।
 

प्रकाशित: १५ पुस २०७५ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App