७ वैशाख २०८१ शुक्रबार
अर्थ

डेढ करोड लगानीमा खुल्यो कालिज फार्म

काठमडौं - कालिजको मासुका पारखीलाई लक्षित गर्दै मुलुकमै पहिलो व्यावसायिक कालिज फार्म खुलेको छ। करिब ढेड करोड रुपैयाँ लगानीमा काठमाडौं दक्षिणकालीमा चार हजारभन्दा बढी कालिजसहित नयाँ फार्मले व्यवसाय सुरु गरेको छ।

एभरेस्ट वाइल्ड लाइभ एग्रो एन्ड रिसर्च सेन्टरले उक्त फार्म खोलेको हो। वैशाख महिनादेखि नै कालिज फार्म सुरु भएको भए पनि यसको व्यावसायिक सुरुवात मंसिरदेखि भएको सेन्टरका अध्यक्ष सुशिल भट्टराईले बताए। बाबुराम श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत रहेको उक्त कम्पनीमा अन्य ६ जना मिलेर फर्मसहित काठमाडौं बागबजारमा कालिज रेस्टुरेन्ट समेत खोलेका छन्। नेपालमा कालिज मासुको व्यवसाय नभकाले फर्म खोलेको भट्टराईले बताए। ‘सबै नेपालीका लागि कालिज नयाँ होइन। सबैलाई यसको चाँसो पनि छ,’ भट्टराई भन्छन्, ‘कालिजको मासु धेरै मन पराउने भएकाले राम्रो बजार देखेर फर्म खोलेका हौं।’

२०६८ मै कालिज फर्म खोल्ने योजना उनीहरुको भए पनि नेपालमा रहेको कानुनी बन्देजका कारण अहिलेसम्म आइपुगेको हो। हाल नेपाल सरकारले निश्चित जातको कालिजको व्यवसाय गर्न छुट दिइसकेको छ। उनीहरुले जिउँदो कलिज बेच्न भने पाउँदैनन्।

इटालीबाट १० हजार दुई सय अण्डा ल्याइएको कालिजका अण्डा ल्याएर यहाँ ह्याचिङ गरिएको हो। ह्याचिङका क्रममा नौ हजार दुई सय चल्ला देखिए पनि झन्डै चार हजार तीन सयवटा मात्र सग्ला निस्किए। अहिले दैनिक करिब १० देखि १५ वटा कालिज बिक्री भइरहेका छन्। अहिलेसम्मको छोटो अवधिमा झन्डै पाँच सयवटा कालिज बिक्री भइसकेको उनले बताए। प्रतिकेजी फार्मबाट तीन हजार पर्छ भने बागबजारको होटलबाट तीन हजार पाँच सय बिक्री गरिरहेका छन्।

हाल ११ रोपनी जग्गामा फार्म सञ्चालन गरेका छन्। अहिले उक्त फार्ममा चार जनाले काम गर्छन्। जेठ महिनासम्म त्यसलाई विस्तार गरेर ४० हजार रोपनी पुर्‍याउने तयारी उनीहरुको छ। साथै,  आगामी असारपछि वार्षिक ४० हजार कालिज उत्पादन गर्नेगरी काम भइरहेको सञ्चालक सदस्य नरेश शाहीले बताए। हाल कालिजको माग उच्च रहेको उनीहरु बताउँछन्। फर्मबाट दैनिक बिक्रीसँगै विभिन्न होटलबाट पनि माग भइरहेको छ। पाँचतारे होटलले समेत माग गरेको अवस्थामा उनीहरुको मागलाई हाल पूरा गर्नसक्ने अवस्था नरहेको शाहीले बताए।

विदेशबाट अण्डा ल्याएर ह्याचिङ गर्ने प्रक्रिया महंगा हुने भएकाले उनीहरुले भारतबाट ह्याचरी मेसिन पनि ल्याउन लागेका छन्। ४० लाख रुपैयाँ पर्ने उक्त मेनिस भारटबाट ल्याउन अर्डर भइसकेको छ। यस मेसिनले एक पटकमा ३० हजार अण्डा ह्याचिङ गर्छ। यो मेसिन आएसँगै यसको मासु पनि सस्तो पर्नेछ। त्यसैगरी, जेठ महिनासम्म कालिजको लागि दाना फ्याक्ट्रीसमेत स्थापना गर्ने तयारी उनीहरुको छ। उनीहरुले आफ्नो फार्मलाई मुलुकका अन्य ठाउँमा पनि विस्तार गर्ने योजना बनाएका छन्। इलाम, भेडेटार, पोखरा, अर्घाखाँचीमा पनि फर्म खोल्ने तयारी भइरहेको छ। शाखा खोल्दा स्थानीय लगानीकर्तालाई ५० प्रतिशत सेयर दिने उनीहरुको योजना छ। ती ठाउँमा कालिज रेस्टुरेन्ट पनि खोल्दैछन्। काठमाडौंमा पनि थप कालिज रेस्टुरेन्ट खोल्ने योजना रहेको उनीहरुले बताए।

श्रेष्ठले इटालीमा गएर केही महिना कालिजको बारेमा तालिमसमेत लिएका थिए। बाहिर गएर अध्ययन पनि गरिरहेकाले कालिज उत्पादन र मासुको सम्बन्धमा विभिन्न अध्ययन गर्ने पनि उनीहरुको योजना छ। कालिजको मासु चिल्लोपन कम हुने हुँदा स्वास्थ्यका लागि राम्रो मानिन्छ। यसको मासुमा खसी वा अन्य कुखुरामा जस्तो कोलेस्ट्रोल नहुने उनले बताए। यसको मासु चिसोबाट बच्न, सुत्केरी, युरिक एसिड भएका बिरामीका लागि राम्रो हुने उनले जानकारी गराए।

फार्म खुलेसँगै वरपर हिँड्ने मान्छेले रुची मानेर हेर्ने गरेको फार्मका इन्चार्ज धिरेन्द्र शाहीले बताए। यी कालिजका लागि दिनमा तीन पटक दाना दिनुपर्छ भने दुई पटक पानी दिनुपर्छ। सानो चल्ला हुँदा हुर्काउन गाह्रो भए पनि अहिले सजिलो हुँदै गएको धिरेन्द्रले बताए। कालिज चिसो ठाउँमा हुर्कने चरो जात हो। यसले ३० डिग्रीभन्दा माथिको तापक्रम धान्न सक्दैन।  

२०६८ तिर फार्म सञ्चालक शाही इटाली गएका थिए। ओलिभ आयलसमेत व्यवसाय गर्ने शाहीले यसको अध्ययनका लागि इटाली गएका बेला रेइती भन्ने ठाउँमा कालिज फर्म घुम्ने अवसर पाएका थिए। त्यही फर्मको अवलोकनपछि नेपालमा पनि यसको व्यवसाय गर्नुपर्छ भनेर फर्केका थिए। त्यसबेला नेपालमा कालिजको व्यावसायिक उत्पादन गर्न नपाउने कानुन रहेछ। केही समयअघि मात्र निश्चित जातको कालिजको व्यावसायिक उत्पादन र बेचबिखन गर्न पाउने नियम बनाएपछि उनीहरुले फार्म खोलेका युवासंघका महासचिवसमेत रहेका शाहीले बताए। वन मन्त्रालयबाट यसको व्यवसाय गर्न सकिने ऐन बनाएपछि उनीहरुले यसको व्यवसाय सुरु गरेका थिए।

कालिजको व्यवसायको राम्रो बजार रहे पनि यसका केही चुनौती पनि रहेको उनीहरु बताउँछन्। कालिजको बिमा गर्न पनि समस्या छ। हाल कालिजको इन्सुरेन्स बिमा नीति नै नभएकाले यसमा थप समस्या भएको हो। यसैबीच बिमा समितिले कृषि मन्त्रालयलाई इन्सुरेन्सको विषयमा पत्राचार गरेको उनले बताए।   

उनीहरुले बागबजारमा दुई हप्ताअघि कालिज रेस्टुरेन्ट पनि खोलेका छन्। जहाँ आफ्नै फार्ममा उत्पादन भएका कालिजका परिकारसहितको खाना उपलब्ध छ। त्यहाँ कालिज खाना, कालिज सुप, कालिज तास, कालिज भुटन लगायतको परिकार उपलब्ध भएको भट्टराईले बताए। त्यसैगरी, लगानीका लागि ऋण लिन समेत गाह्रो भइरहेको उनीहरुले बताए। विभिन्न बैंकमा महिना धाउँदा पनि ऋण नपाएको गुनासो उनीहरुको छ। सरकारी तहबाट लगानीकर्ता सहज वातावरण बनाउनु पर्नेमा यसको ठिक उल्टो काम भइरहेको शाही बताउँछन्।

प्रकाशित: १५ पुस २०७५ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App