coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रहरी कारबाहीमा ४० जना आतंकवादी मारिए

गिजा – पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतंककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन्। शुक्रबार एउटा पर्यटक बसमा भएको आतंकवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो।

आतंकवादी आक्रमणका कारण सो पर्यटक बसमा यात्रारत अन्य ११ जना भियतनामी पर्यटक र बसका चालक घाइते भएको प्रहरीले जनाएको छ। शुक्रबारको आक्रमणमा संलग्नको खोजीका लागि इजिप्ट प्रहरीले विभिन्न शंकास्पद स्थानहरुमा छापा मारेको थियो। पिरामिडहरु रहेको गिजा पर्यटकहरुका लागि आकर्षक भ्रमण स्थल हो। इजिप्टको गृह मन्त्रालयले गिजामा भएको प्रहरी कारबाहीमा ३० जना र उत्तरी सिनाईमा १० जना आतंककारी मारिएको जनाएको छ।

शुक्रबारको आक्रमणमा संलग्नको खोजीका लागि इजिप्ट प्रहरीले विभिन्न शंकास्पद स्थानहरुमा छापा मारेको थियो।

मन्त्रालयको विज्ञप्तिमा आतंककारीहरुले सरकारी निकाय, पर्यटकीय संस्था र चर्चमा आक्रमण गर्ने योजना बनाएको उल्लेख छ। ‘राष्ट्रिय सुरक्षा निकायहरुले आतंकवादी हमला हुने सूचना पाएका थिए। आतंकवादीको मुख्य निशाना पर्यटन, सशस्त्र बल, प्रहरी र इसाई समुदायका प्रार्थना स्थलहरु रहेका थिए,’ मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। एउटा सुरक्षा स्रोतका अनुसार आतंकवादीहरुको खोजी गर्नका लागि प्रहरीले शनिबार बिहानै छापा मारेको थियो। इजिप्टमा शुक्रबार भएको पर्यटकीय बसमाथिको आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन। पर्यटकमाथि लक्षित शुक्रबारको आक्रमण इजिप्टमा सन् २०१७ पछिको पहिलो आक्रमण हो।

पर्यटन व्यवसायी साइगोन टुरिस्टका अनुसार भियतनामी पर्यटकहरु साँझको खानाका लागि होटलतर्फ फर्कदै गर्दा आतंकवादी आक्रमणमा परेका थिए।  जुलाई २०१७ मा शंकास्पद जिहादीहरुले हुर्घादा भन्ने स्थानमा दुई जना जर्मन पर्यटकलाई छुरा प्रहार गरी हत्या गरेका थिए। त्यस्तै अक्टोबर २०१५ मा इस्लामिक स्टेट समूहसँग आबद्ध स्थानीय लडाकुको आक्रमणबाट सिनाई प्रायःद्वीपमा दुई सय २४ जना यात्रुको ज्यान गएको थियो।

इजिप्टको अर्थतन्त्रको मुख्य मेरुदण्ड पर्यटन हो। सन् २०१० मा इजिप्टमा एक करोड ४० लाखभन्दा धेरै पर्यटन भित्रिएपछि इजिप्ट पर्यटनका लागि विश्वकै एक प्रख्यात देश रहेको पुष्टि भएको थियो। यद्यपि सन् २००९ बाट सुरु भएको अरब स्प्रिङ आन्दोलन इजिप्टमा पनि पसेपछि इजिप्टको पर्यटन व्यवसाय धरासायी बन्दै गयो। त्यसैगरी सन् २०१५ मा लडाकुहरुले रुसी यात्रु रहेको जेटलाई बमले उडाइदिएपछि त इजिप्टको पर्यटन असुरक्षित रहेको भन्ने सन्देश विश्वभर फैलियो र पर्यटन व्यवसाय थप धरासायी बन्दै गयो। सोही हमलाका कारण दुई सय २४ जनाको मृत्यु भएको थियो। त्यसको अर्को वर्ष इजिप्टमा मात्र ५३ लाख पर्यटकले भ्रमण गरेको विश्व बैंकले जारी गरेको एक प्रतिवेदनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। तर, सन् २०१७ बाट इजिप्टको पर्यटनले सुधार गरेको छ। सो वर्ष करिब ८३ लाख पर्यटकले इजिप्टको भ्रमण गरेको ‘द फाइनान्सियल टाइम्स’को रिपोर्ट उल्लेख गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: १५ पुस २०७५ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App