coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा पक्राउ परेकी क्यानेडेली शिक्षिका रिहा

राष्ट्रिय सुरक्षामा खतार पु-याएको आरोपमा चीनमा पक्राउ परेका माइकल स्पाभोर (बायाँ) र माइकल कोभरिग। तस्बिर : एजेन्सी

बेइजिङ – चीन र क्यानडाबीच जारी तनाबकै बीच पक्राउ परेकी एक क्यानेडेली शिक्षिकालाई बेइजिङले रिहा गरेको छ। चीनबाट रिहा भएलगत्तै साराह म्याकआइभर ती शिक्षिका क्यानडा पुगिसेको समेत सञ्चारमाध्यमले जनाएका छन्। क्यानडाको अल्बर्टाकी शिक्षिका साराहलाई गैरकानुनी रूपमा चीनमा काम गरेको आरोपमा यसै महिनाको सुरुमा पक्राउ गरिएको थियो।

चीनमा पक्राउ परेको एक क्यानेडेली नागरिक रिहा भएर स्वदेश फर्किएको पुष्टि गरे पनि ग्लोबल अफेयर्स क्यानडाले ती व्यक्तिको नाम भने नबताएको बिबिसीले जनाएको छ। चीनमा दुई क्यानेडेली नागरिक पक्राउ परेपछि साराह पनि पक्राउ परेकी थिइन्। यद्यपि ती दुई क्यानेडेली नागरिक भने अझै चिनियाँ नियन्त्रणमै रहेका छन्। पक्राउ परेका दुई क्यानेडेली नागरिक र साराहको मुद्दा नितान्त फरक रहेको चीन र क्यानडा दुवैले बताउँदै आएका छन्। क्यानडाका पूर्वकूटनीतिज्ञ माइकल कोभरिग र व्यापारी माइकल स्पाभोरलाई चीनको राष्ट्रिय सुरक्षामा खतरा पु¥याएको आरोपमा बेइजिङले पक्राउ गरेको छ र अझैसम्म पनि हिरासतमै राखेको छ।

चीनको विशाल दूरसंचार कम्पनी हुवावेकी प्रमुख कार्यकारी मेङ वाङझोऊलाई अमेरिकी आग्रहमा क्यानडाले पक्राउ गरेपछि चीनले पनि प्रतिक्रियास्वरुप दुई क्यानेडेली नागरिकलाई पक्राउ गरेको आरोप लाग्दै आएको छ। मेङलाई अमेरिकी आग्रहमा क्यानडाले यसै महिनाको सुरुमा पक्राउ गरेको थियो। उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारीसमेत भइरहेको बताइएको छ। यद्यपि उनी अहिले जमानतमा रिहा भएकी छन्। अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा अमेरिकाले मेङलाई पक्राउ गरी वासिङ्टन सुपुर्दगी गर्न क्यानडासँग आग्रह गरेको थियो। मेङले भने आफूले केही गल्ती नगरेको बताउँदै आएकी छन्। मेङलाई क्यानडामा पक्राउ गरिएकाले दुई क्यानेडेली नागरिकलाई चीनले पक्राउ गरेको भन्ने आरोपको बेइजिङले अस्वीकार गर्दै आएको छ। यद्यपि कतिपय विश्लेषकहरुले भने क्यानेडेली नागरिकलाई पक्राउ गर्नु भनेको चीनको जस्तालाई त्यस्तैको नीतिअन्तर्गत् भएको विश्वास गरेका छन्।

प्रवेशाज्ञाको विषय लिएर पक्राउ पर्नुअघि शिक्षिका साराह चीनको एउटा विद्यालयमा काम गरिरहेकी थिइन्। ‘यसै महिना चीनमा पक्राउ परेका एक क्यानेडेली नागरिक चीनबाट रिहा भएर देश फर्किसकेको ग्लोबल अफेयर्सले पुष्टि गर्न सक्छ,’ प्रवक्ता रिचार्ड वाल्करलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘देशको  गोपनियतासम्बन्धी ऐनका कारण ती व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन,प्रवक्ता रिचार्डले बताए।
क्याप्सन ः

 

प्रकाशित: १५ पुस २०७५ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App