७ वैशाख २०८१ शुक्रबार
समाज

यसकारण रोकिएको थियो सुमार्गीको रकम

काठमाडौं- पुस १४– उद्योगपति अजेयराज सुमार्गीले सन् २०१० देखि ‘ट्याक्स हेवन’ मुलुकबाट ल्याइरहेको रकम एकाएक नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडा (हाल अर्थमन्त्री) को पालमा रोकिएको थियो।

उनले मुलुकमा भित्र्याएको १८ अर्ब रुपैयाँको स्रोत अन्तर्राष्ट्रिय समुदायले समेत खोज्न थालेपछि मात्र राष्ट्र बैंकले रकम रोक्का गरेको थियो। फ्रान्सको पेरिसस्थित फाइनान्सियल एक्सन टास्क फोर्सले यसमा चासो राखेपछि मात्र यसको स्रोतबारे खोजी भएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको इजलासले अहिले ७५ लाख अमेरिकी डलर (करिब ८५ लाख) फुकुवा गर्ने आदेश दिएको हो। गत वर्ष माघमा सर्वोच्चकै न्यायाधीश तेजबहादुर केसीले सुमार्गीको दुई अर्ब २५ करोड रुपैयाँ निकासाका लागि बाटो खोलिदिएका थिए।

खासमा त्यतिबेला सुमार्गीले ल्याउन लागेको रकम प्रत्यक्ष वैदेशिक लगानीभन्दा पनि ऋणका रूपमा आउन लागेका कारण रोकेको थियो। यसरी ऋणका रूपमा आउने रकम मुलुकका निम्ति भार हुन्छ भन्ने मान्यता राष्ट्र बैंकको तत्कालीन नेतृत्वले राखेको थियो।

सुमार्गीले सर्वोच्चको आदेशबाट क्रमशः ८५ करोड र २ अर्ब २५ करोड फुकुवा पाउनुअघि ठूलो परिमाणमा रकम भित्र्याइसकेका थिए। १० जनवरी २०१० मा एअर बेल साइप्रसका नाममा आठ करोड ५० लाख, त्यसको एक महिनापछि फेब्रुअरी २०१० मा ३० लाख अमेरिकी डलर (करिब ३० करोड रुपैयाँ), जुलाई २०१० मा ब्रिटिस भर्जिन आइल्यान्डस्थित जाधर इन्भेस्टमेन्ट प्रालिबाट नौ लाख ५० हजार अमेरिकी डलर (करिब नौ करोड ५० लाख रुपैयाँ), २० मे २०११ मा नेपाल स्याटेलाइट कम्पनीका नाममा एक करोड पाँच लाख अमेरिकी डलर, सेप्टेम्बर २०१३ मा एअरबेलबाटै ६ करोड ५० हजार अमेरिकी डलर ल्याएका थिए।

सन् २०१० यता १७ अर्ब रुपैयाँ बराबरको अमेरिकी डलर नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकमा रहेका सुमार्गीका खातामा आएको थियो। सुमार्गीले भने सन् २००६ देखि नै रकम ल्याउँदै आएकोमा माओवादी नेतृत्वको सरकार परिवर्तन भएपछि मात्र रकम ल्याउन नपाएको गुनासो गर्दै आएका थिए।

सुमार्गीले बैंकलाई दिएको कारणमा राष्ट्र बैंकले चित्त बुझाउन सकेको थिएन। त्यति मात्र होइन, आफ्नो रकम ‘राजनीतिक कारणले रोकिएको’ उनले बताउने गरेका थिए।

प्रकाशित: १५ पुस २०७५ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App